×

पुस्तक समिक्षा- ग्रीनविचको साँझलाई नजिकैवाट नियाल्दा

images

चालिसको दशकको करिव उत्तराद्र्धवाट आधुनिक कविता सृजनाको क्षेत्रमा पाइला चालेका मिलनसार ,सहयोगी स्वभावका धनी ब्यक्तित्व छविरमण सिलवाल समालोचनामा पनि निरन्तर लागेकै छन् । उनको लेखन जटिल र दुरुह छैन । सरल भावशैली र शिल्पमा शसक्त कलम चल्छ उनको ।

अहिलेको नेपाली नियात्रा साहित्यका पाठकहरुको निम्ति छविरमण सिलवाल अब कुनै नौलो नाम रहेन । उनी सफल नियात्राकारको रुपमा पहिचान छोड्न सफल देखिन्छन् ग्रीनविचको साँझमार्फत । ग्रीनविचको साँझ पढ्न असाध्यै सजिलो छ । पढेपछि विचमा छोड्न मन लाग्दैन् । कतै यात्राका सहयात्रीहरुसँगको संवादात्मक मिठास, कतै दृष्यहरुको मनोरम वर्णनात्मक प्रस्तुति बेजोडलाग्दो छ । उनका नियात्रा यति मिठासपूर्ण छन् कि पाठकलाई रसबरीको स्वादिष्ट रस तप्केजस्तै लाग्न सक्छ । 

नियात्रा सूचनामूलक हुनुपर्छ । ज्ञानवद्र्धक हुनुपर्छ । यात्राको चित्रण जस्ताको तस्तै हुनुपर्छ । पाठकहरुलाई सम्मोहित बनाउने हुनुपर्छ । यात्राको रसाप्लावित बर्णन गरिएको हुनुपर्छ । यात्रालाई रोचक बनाउन घट्ना र दृष्यहरुको रोचक प्रस्तुति हुनुपर्छ । यी कुराहरु विद्यमान भयो भने नियात्रा सुनमा सुगन्ध छरेजस्तै हुन्छ । यात्राभरका पात्र, परिवेश र विविध दृष्यहरुको सजिवताले नियात्रा अझै अर्थपूर्ण हुन्छ, जुन सिलवालका नियात्रामा यथेष्ट पाइन्छन् । विदेशको यात्रामा पनि आफ्नोपन पाउँदा उनी प्रफुल्लित छन् । यात्राका निजात्मक भावनाहरुलाई ह्रदयदेखि अभिव्यक्त गरेका छन् उनले ।

ग्रीनविचको साँझमा आफुले घुमेका विभिन्न स्थानहरुको माहौल र तिनीहरुसँग वर्तमान हाम्रो आफ्नै नेपाली परिवेशको तुलना विभिन्न स्थानमा गरिएको छ । नियात्राकार घुमेडुलेका स्थानहरुको वर्णन गर्दा असाध्यै त्यहाँको गहिराइमा डुवेर गरिएको छ । सुललित भाषिक बनोटसहितको आम पाठकका निम्ति सहज बुझाईमा पहुँच हुने खालको शैलीमा लेखिएका छन् नियात्राहरु । प्रायःजसो सबै नियात्रामा प्रासंगिकतालाई असाध्यै खिपेका छन् उनले । उनलाई जहाँ गएपनि नेपाली परिवेशले छुन्छ, नेपालका बेथिति, विकृति र विसंगतिले पोल्छ र भावुकताको चरम अभिव्यक्ति दिन्छन् उनी । नेपालीको कमी कमजोरीहरु उनको मानसपटलमा कहिल्यै नमेटिने पीडाको रुपमा गढेर बस्छ । 

भाषाशैलीको दृष्टिले सरल, विविध बिम्बहरु प्रयुक्त र बोधगम्य लाग्छन् नियात्राहरु । क्लिष्ट शब्द र लम्बेतन वर्णन रत्तिभर छैन । न त यात्राको कोरा वर्णन नै छ । स्थानीय रंगहरुको सटिक र सघन चित्रण गरिएको छ । नियात्राकारले बेलायतको एक हप्ताको घुमाइको सन्दर्भमा देखे भोगेका र अनुभव गरेका सन्दर्भहरुको समष्टिगत रुप नै ग्रीनविचको साँझ हो ।

सर्सर्ती हेर्दा, उनले बेलायत प्रवेश गर्दा ‘कवि हुँ’ भनि परिचय दिंदा अध्यागमन अधिकारीले दिएको सम्मान र नेपालमा कवि साहित्यकारहरुको हुने गरेको उपेक्षा सम्झन्छन् । त्यहाँ हुने जीवनको दैनिकीको व्यस्तता र नेपालको बहानामा जति बेलापनि समय मिलाउन सक्ने अवस्था तुलना गर्दा नेपालीले समयको सही महत्व नबुझ्दा देश पछि परेको ठहर गर्छन् उनी । (हतारको बेलायत यात्रा) ,लण्डनको ब्यवस्थित भौतिक विकास, त्यहाँको सफा र व्यवस्थित सडकसँग नेपाली यातायात व्यवस्थालाई तुलना गर्छन् र आफ्नो देशको दुरावस्थाप्रति चिन्ता व्यक्त गछ्र्रन् ।

(लण्डनको पहिलो दिनको रमाइलो घुमघाम) उनी बेलायतको मौसमलाई नेपाली नेताहरुको चरित्रसँग व्यङ्ग्यात्मक बिम्बमा तुलना गर्छन् छेपारोले रंग फेरेजस्तो । यसैगरि त्यहाँको सैयौं बर्ष पुराना भव्य महलहरुको संरक्षण र ब्यवस्थापन तथा नेपालको ऐतिहासिक र गौरव गर्न लायक भौतिक सम्पदाहरुको उचित देखभाल र संरक्षण हुन नसक्दा उनको मन घोच्छ चसक्क । उनले हाइड पार्क, बकिंघम प्यालेस र त्यहाँका विभिन्न स्मारकहरु, क्विन्स गार्डेन, ट्राफलगर स्क्वायर, नेसनल ग्यालरी लगायतका स्थानमा घुम्दा देखेका भव्य कुराहरुको बारेमा सुन्दर वर्णन छ । 

 छविरमण आश्चर्यमा परेका छन् क्रिश्चियन भूमि बेलायतमा हिन्दुहरुको भव्य र कलात्मकताले भरिपूर्ण  बल्लभनिधी मन्दिर र त्यहाँभित्र सबैजसो हिन्दुहरुका देवी देवताको स्थापना गरेको देखेर । उनी दुखी देखिन्छन् जसरी नेपाललाई भारतले हेप्छ उसैगरि त्यहाँ भएका भारतीयहरुले पनि नेपालीहरुप्रति हेपाहा प्रवृत्ति देखाउँछन् भन्ने सुनेर । त्यहाँको ट्राफिक ब्यवस्थापन र यहाँको अस्तव्यस्तता कसरी तुलना हुनु उनलाई दुःख लाग्छ । (वेम्ली स्टेडियमको एक फन्को) टेम्स नदीको किनारैकिनार हिंड्दा नियात्राकारलाई हाम्रो बागमती नदीको फोहोरले पिरोल्छ ।

वेष्टमिनिष्टर प्यालेस, एलिजावेथ टावर, टावर ब्रिज, ग्रीनविच जहाँ विश्वको जिरो डिग्री मापन गरिएको ठाँउ हो, लण्डनमा देखेको पहिलो डाँडो रोयल अब्जर्भेटरी जसलाई उनले हाम्रो स्वयम्भूसँग दाँज्छन् । ग्रीनविचको डाँडो शून्य डिग्रीमा छ । त्यहाँको प्राइम मेरिडियनमा दुबै गोलाद्र्धलाई एकएक खुट्टाले छोएर उभिंदा रोमाञ्चित हुन्छन् उनी । क्यामडेन टाउनका साँघुरा गल्ली, विभिन्न क्यूरियो सामाग्रीका दोकान र विश्वभरिका पर्यटकहरुको जमघटले उनलाई ठमेलको झल्को दिन्छ । करिव ३२ सय असी रोपनी क्षेत्रफलमा फैलिएको विशाल, अत्यन्तै सुन्दर र व्यवस्थित रेजेन्ट पार्कलाई देखेर मन रोमाञ्चित हुन्छ । त्यहाँको फुल, बगैचा, हरियाली सौन्दर्यले उनको मन खिच्छ । नेपालका असाध्यै साना पार्क पनि ब्यवस्थापन गर्न नसक्दाको दुःख चस्स विझ्छ उनलाई । 

मानिस जताजता आफु जान्छ सँगै उसले आफ्नो भाषा, कला र संस्कृतिलाई पनि लैजान्छ । बहिनीको घरमा तिज मनाउने दाइु मा उनले विदेशको यान्त्रिक जीवनवाट अलिकति समय बचाएर आफ्नो भाषा, साहित्यको निम्ति खर्च गर्नेहरु प्रति  गौरवान्वित महसुस गरेका छन् । शेक्सपियरको जन्मथलोलाई साहित्यको तीर्थस्थल मान्ने छविरमण बेलायतमा बसेर नेपाली भाषा साहित्यमा लागिपर्ने कवि वासुदेव अधिकारी, नियात्राकार कृष्ण बजगाँई, कवि तथा कथाकार विजय सापकोटासहित उक्त साहित्यको तीर्थाटन स्टार्डफोर्ड अपन एवन जान्छन् ।

शेक्सपियरको जन्मस्थानलाई बडो व्यवस्थित म्युजियम बनाएको देखेर उनलाई हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मस्थानको दुरावस्थाले पिरोल्छ । मन दुःखले द्रवित हुन्छ । बेलायतको कृषि प्रणालीको बारेमा ुबेलायतको बारीमा गणेशचौंथीको काँक्राुमा उनले स्पष्ट प्रकाश पारेका छन् । संगै नेपाली किसानको पिडा बोलेका छन् । 

यात्रामा निस्कँदाका आफन्तहरु सम्झँदाका पीडादायी अनुभूतिहरु पनि यसमा छताछुल्ल पोखिएका छन् । उनको यात्रा हतारोको छ । यात्रामा भएका साहित्यिक चिन्तन मनन र छलफलसहितका विषयको नीजि अनुभूतीहरु यसमा प्रसस्तै छन् । अत्यन्तै द्रुत गतिमा उनको मनको अन्तर्यबाट गडगडाएर सलल्ल बगेका नदीजस्ता छन् नियात्राहरु । आँखाले देखेका, शरीरले भोगेका कुराहरुलाई मनको स्वरबाट लेखिएका छन् उनका नियात्राहरु । उनी जताजता गए उतैउतै नियात्राका पाठकहरुलाई पनि डो¥याएर गएका छन् । र त पाठकहरु यात्राका सहयात्री जस्ता लाग्छन् । 

यस नियात्रामा यात्राको बडो रोमाञ्चक वर्णन छ । यथेष्ट सूचना दिन सक्छ पाठकहरुलाई । मामूली लाग्ने कुराहरु पनि कौतुहलताले भरिएका छन् । आफ्नोपन र आफ्नासँगको भेटघाट र उठबसको अनुभूतिको पनि रमाइलोसँग समावेश गरिएको छ । कल्पनाको संसारभन्दा धेरै पर यथार्थमा विचरण गरिएको छ नियात्रा । उनको निजात्मक प्रस्तुतिमा खोट लगाउन जरुरी छैन । अभिव्यक्तिमा यथार्थ, लेखनशैलीमा सरलता उनको नियात्राका सवल पक्ष हो । प्रत्येक यात्रा प्रसंगलाई स्वदेशका विविध पक्ष र स्थानसँग तुलना गरिएको तथा आफ्नो देशको दुरावस्थाप्रतिको चिन्ता गरिएको प्रसंगहरु नियात्राभर छन् ।

मौलिकता, मिठास प्रयुक्त भाषा, कुनै पनि स्थानको चाखलाग्दो वर्णन सहितको यात्रानुभुतिलाई प्रचुर रोचकताले भरिपूर्ण बनाउन नियात्राकार सफल देखिन्छन् । नियात्राहरुमा बडो इमान्दार भएर पोखिएका छन् उनी । यात्रा साहित्यमा नितान्त देखेभोगेका स्थानीयतामा चुर्लुम्म डुब्न सक्नु नै त्यो यात्राको सफलता हो । अनि देखेका कुराहरु जस्ताको तस्तै पठनीय खुराकको रुपमा पाठकहरु सामु पस्कन सक्ने खुबी नै अब्बल नियात्राकारको विशेषता हो । यी सबै कुराको क्षमता ‘ग्रीनविचको साँझ’ पढेपछि नियात्राकारमा रहेको मान्न जो कोहीलाई कर लाग्छ । प्रस्तुत कृति शाब्दिक बुक्सले प्रकाशनमा ल्याएको हो । नियात्राकारलाई हार्दिक बधाई । 
                                                                                        

शुक्रबार​ १७ चैत २०७९ ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया