×

समाजवादी मोर्चामा तीन लाइन संघर्ष : उपेन्द्र मध्यमार्गी, विप्लव विरोधी, प्रचण्ड–नेपाल मौन

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्भित्र र बाहिर बलियो पडक कायम गर्ने उद्देश्यले समाजवादी मोर्चा गठन गरेका छन् । उनले मन्त्रिपरिषदुमा आवद्ध नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, एकीकृत समाजवादी पार्टी र मन्त्रिपरिषद् बाहिरको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिलाएर उक्त मोर्चा गठन गरेका हुन् ।

मोर्चा गठनको पूरापूरा एक डेढ महिना पुग्नै आटेको छ । यसअवधिमा उसले सोचेजस्तो कार्य गर्न नसकेको मोर्चामा आवद्ध दलहरूले बताएका छन् । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार समाजवादी मोर्चाले उद्देश्य अनुरूप कार्यसम्पादन गर्न नसकेको बताउँछन् । 

उनी भन्छन्– ‘हामीले सरकार सञ्चालन तथा मोर्चाको सांगठानिक कोर्षलाई गति दिन सकेका छैनौँ । यसका साथै देशका सातै प्रदेशमा मोर्चाले सांगठानिक विस्तारमा पनि विलम्ब गरेको छ । वर्तमान सन्दर्भमा प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारका फाइल पल्टाएसँगै जनतामा आशा र भरोसा नपलाएको होइन । तर, यसले गन्तव्य भेट्छ वा भेट्दैन त्यसमा शंकाको लाभ दिने कार्य भइरहेको छ ।’

त्यस्तै अमेरिकी सयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) लाई लिएर एकीकृत समाजवादी मौन बसेको छ । उसले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । एमसीसी आज (बुधबार) बाटै लागू गर्ने तयारीमा सरकार जुटेको छ । तथापि नेपाली कांग्रेसबाहेक अन्य सत्तासिन दलहरू परियोजना लागू गर्ने पक्षमा खुलेको देखिँदैन । 

एमसीसी पारित अगावै एकीकृत समाजवादीले विरोध गरे पनि हाल आएर मौनजस्तै बसेको देखिन्छ । किनकि यसबारे उसको प्रष्ट धारणा देखिँदैन । पार्टी अध्यक्ष माधवकुमार नेपाल मौन बसेका छन् । उनी सरकारको धारणालाई नै अन्तिम मान्ने पक्षमा छन् । 

त्यसैगरी प्रमुख सत्तासाझेदार दल माओवादी केन्द्रका केही नेताहरूले परियोजना कार्यान्वयनमा नलैजाने शोच बनाएका छन् । पार्टी सचिव लिलामणि पोखरेल, मातृका यादवलगायतका नेताहरू एमसीसी कार्यान्वयन नहोस् भन्ने पक्षमा उभिएका छन् । सचिवद्वयको भनाइलाई आधार मान्ने हो भने परियोजना कार्यान्वयन गर्नु देश र जनताका लागि भलाइ नहुने देख्छन् । 

‘विविध कारणवस् प्रतिकूल परिस्थितिले एमसीसी संसद्मा टेबुल गर्नुपरेको थियो । उप्रान्त गल्ति स्वीकार्दै परियोजना सकभर फिर्ता गर्नु नै उपयुक्त मानिन्छ । यद्यपि कार्यान्वयनमा लैजाने नै हो भने यसको दूरगामी परिणाम भोग्नुपर्ने हुनसक्छ । हामी र हाम्रो भावि पुस्तालाई अफगानिस्तान हुनबाट रोक्नुपर्छ,’ भन्छन्– सचिव पोखरेल । 

तर, माओवादी केन्द्रका अधिकांश मन्त्री, सांसद र नेताहरू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको इच्छा तामेली गर्नुपर्ने बाध्यताले परियोजनाबारे बोल्न डराउँछन् । उनीहरू पनि प्रचण्डको निर्णयलाई अन्तिम मान्ने पक्षमा छन् । माओवादी केन्द्रमा प्रचण्डकै हालीमुहाली हुने भएकोले अन्य नेताको विरोध व्यर्थ हुने निश्चित छ । 

यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री मौन देखिन्छन् । किनकि एमसीसी कार्यान्वयन नगरे सत्ता सञ्चालनको मेरुदण्ड मानिने दल कांग्रेस रुष्ट हुने निश्चित छ । किनभने यसअघि एमसीसी संसद्मा टेबुल गर्नुमा उसको प्रमुख भूमिका छ । टेबुल भइसकेको परियोजना कार्यान्वयनमा नलैजाने नै हो भने कांग्रेस सत्ताबाट बाहिरिने पक्का जस्तै छ । 

प्रचण्डलाई यो बेला निकै संकट परेको देखिन्छ । एकातिर समाजवादी मोर्चामा आवद्ध दलहरूको चित्त बुझाउनु पर्नेछ । दलहरूको चित्त बुझाउनु भनेकै एमसीसी कार्यान्वयन नगर्नु हो । यसो गर्दा मोर्चामा आवद्ध दलको चित्त बुझ्छ भने कांग्रेस रुष्ट बन्नेछ । कांग्रेसको रुष्टताले सरकारमा खलल आउन सक्ने आकलन गर्न सकिन्छ । यसर्थ उनी मौन छन् । 

सत्तासाझेदार दल जसपा भने मध्यमार्गी बाटोमा देखिन्छ । कोही कसैको भनाइलाई आधार नमानी उसले सरकारको निर्णय पर्खेको छ । जसपाका एक नेताका अनुसार एमसीसी २०७८ फागुन १५ मा बहुमतले संसद्बाट पारित भइसकेकोले आजभोलि आएर कार्यान्वयनमा नलैजाने भन्ने हुँदैन । हामी सरकारको निर्णय पर्खिन्छौँ । उसले जस्तो निर्णय गर्छ, त्यसमा हाम्रो समर्थन हुनेछ । 

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भने एमसीसी कार्यान्वयन गर्नै नहुने अडान कसेका छन् । उनले यो परियोजना पारित हुनुअघि पनि विरोध गरेका थिए भने अहिले पनि विरोधबाट पछि हटेका छैनन् । उनले देशैभरि आफ्ना नेता तथा कार्यकर्ता सडकमा उतारेर आन्दोलन गरिरहेका छन् । यदि एमसीसी कार्यान्वयन भएमा समाजवादी मोर्चाबाट अलगिने विप्लवले प्रचण्डलाई चेतावनी दिएका छन् ।

यस परियोजनाविरुद्ध मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिष्ट) पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले आज संयुक्त रुपमा प्रदर्शन गर्ने भन्दै विज्ञप्ति नै जारी गरेका छन् । आजबाट ७० करोड डलरको सो परियोजना औपचारिक रूपमा कार्यान्वयन जान लागेपछि साना चार कम्युनिष्ट पार्टी सडक विरोध प्रदर्शनमा उत्रिन लागेका हुन् । 

एमसीसी कार्यान्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ८ः०० बालुवाटारमा समाजवादी मोर्चाको बैठक बसालेका थिए । बैठकमा नेकपा महासचिव विप्लवले परियोजना कार्यान्वयन घोषणा गरेमा मोर्चा त्याग्ने चेतावनी दिएको स्रोतले बतायो । 

बैठकमा विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा सार्वजनिक नभएसम्म प्रचण्डलाई कार्यान्वयन नगर्न आग्रह गरेका थिए । तर, उनले एमसीसी कार्यान्वयनको चरणमा गइसकेकोले तत्काल केही गर्न नसक्ने जवाफ दिएका थिए । 

एमसीसी कार्यान्वयनलाई लिएर आज धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देशसभा पनि स्थगित गरिएको छ । माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढाले प्रधानमन्त्रीसहित मोर्चाका शीर्ष नेताको कार्य व्यस्तता देखाउँदै अर्को सूचना जारी नभएसम्म उक्त सभा स्थगित भएको जानकार्ी दिएका छन् । 


 

बुधबार १३ भदौ २०८० ०४:०० PM मा प्रकाशित

प्रतिक्रिया