पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले घटाएको फेवाताललगायत अन्य ताल किनारको मापदण्ड कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतको आदेश विपरीत महानगरले घटाएर तोकेको मापदण्ड खारेजी गर्न माग गर्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले आन्तरिम आदेश दिएको होे । हिजो सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलाशले कार्यान्वयन नगर्न आदेश दिएको हो ।
अधिवक्ताहरु खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दिपेन्द्र प्रसाद घिमिरेले जेठ ११ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उनीहरुले २०७८ चैत १६ मा बसेको पोखरा महानगरको ५५ औं कार्यपालिका बैठकले गरेको फेवाताल लगायत अन्य तालको मापदण्ड घटाउने निर्णय खारेजका लागि परमादेशको माग गरेका थिए ।
प्रतिक्रिया