रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले आउँदो दशैँ अगाडि नै उत्पादन सुरु गर्ने भएको छ । अहिलेको गतिमा काम भएको खण्डमा तोकिएको समयमा नै उत्पादन सुरु हुने आयोजनाले जनाएको छ ।
अहिले आयोजनामा इलेक्ट्रोमेकानिकलतर्फ मेशिन जडानको काम भइरहेको छ । आयोजनाका अनुसार चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेशनका १५ जना कामदारले मेशिन जडानको काम गरिरहेका छन् ।
आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकलतर्फको काम अन्तिम चरणमा पुगिसकेको छ । आयोजनाका अनुसार अहिलेसम्म ९९ प्रतिशत भौतिक प्रगति भएको छ । एक महिनाभित्र सुरुङ परीक्षण्को काम सुरु हुने आयोजना प्रमुख सुदनसिंह महतले जानकारी दिनुभयो । तालिकाअनुसार काम हुन सकेमा दशैँ अगाडि नै उत्पादन सुरु हुने देखिन्छ ।
१४ दशमलव ८ मेगावट क्षमताको आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ ७५ र हाइड्रोमेकानिकलतर्फ ९५ प्रतिशत काम सम्पन्न भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण आयोजना निर्माणमा केही ढिलाइ भएको हो । कोरोनाका कारण कामदार तथा उपकरण नआएपछि झन्डै दुई वर्ष इलेक्ट्रोमेकानिकलको काम रोकिएको थियो ।
जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर ५ चिलिमेमा निर्माण भइरहेको आयोजनाको २०६८ असोज २३ गते बिजुली खरिद सम्झौता (पीपीए) भएको थियो । आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको छ ।
आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ । सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ । सिभिल कार्यमा इसिआई बज्रगुरु जेभि, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेको छ ।
प्रतिक्रिया