×

भूकम्पको सम्भाव्यताबारे अध्ययन हुँदै

images

जिल्लाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो ।


पश्चिम नेपालमा ५१७ वर्षयता ठूलो भूकम्प गएको छैन । नेपालका ठूला भूकम्पमध्ये अबको १० वर्षभित्र पश्चिम नेपालमा ठूलो भूकम्प आउनसक्ने भूकम्पविद् प्रोफेसर पेरियर बताउनुहुन्छ । “पश्चिम नेपालमा १० वर्षभित्र ठूलो भूकम्प आउने खतरा छ”, उहाँले भन्नुभयो, “तातोपानी भएको क्षेत्रमा भूकम्प आउने सम्भावना बढी हुने भएकै कारण यहाँको पानीको अवस्थाबारे अध्ययन गर्न आएका हौँ ।

दार्चुलाका श्रीवगडको पानीमा त्यति खतराको अवस्था नरहेको उहाँले बताउनुभयो । पानीको तापक्रम ६४.६ डिग्री देखिएको उहाँले जानकारी दिनुभयो । ग्यासको मात्रा सिओ–२ मात्रै छ । उहाँका अनुसार ग्यास बढी भएको भए भूकम्प चाँडो आउने सम्भावना रहन्छ ।

“यहाँ ग्यासको मात्रा अहिले बढेको छैन्, मेरो अनुभवले जुन तातोपानीमा ग्यासको मात्रा बढी हुन्छ त्यो खतरा हो”, उहाँले भन्नुभयो । नेपालमा लामो समयदेखि भूकम्प आउने क्षेत्रबारे अनुसन्धान गर्दै आउनुभएका प्रोफेसर पेरियरकले अहिले नै यो क्षेत्रमा जोखिमको अवस्था धेरै नरहेको बताउनुभयो ।

उहाँ थप्नुहुन्छ, “हामीले गरेको अनुसन्धानको डिटेल रिपोर्ट आउन ३÷४ महिना लाग्छ ।” पछिल्लो समय सुदूरपश्चिमका दार्चुला, बझाङ लगायतका केन्द्र भएर साना भूकम्प भने बढी जाने गरेको टेक्निकल असिस्टेन्ट शर्मा बताउनुहुन्छ । “मैले भूकम्प मापन केन्द्र सुर्खेतमा बसेर काम गरेको हुँदा यो क्षेत्रमा साना भूकम्प धेरै जाने गरेको थाहा छ”, उहाँले भन्नुभयो ।

सोमबार १३ असार २०७९ ०२:२८ PM मा प्रकाशित

प्रतिक्रिया