काठमाडौं। साहित्यकार तथा पत्रकार राजेश खनालको संस्मरणसङ्ग्रह ‘घुरको धुँवा’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले शनिबार काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सो कृतिको लोकार्पण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि डा. वीरेन्द्रप्रसाद मिश्र, समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ रोदन, संविधानविद् डा. विपिन अधिकारी, समीक्षक डा. ज्ञानु पाण्डे लगायतले सो कृति संयुक्त रुपमा लोकार्पण गरे ।
लोकार्पणपछि बोल्दै प्रमुख अतिथि डा. मिश्रले यो कृतिले आफूलाई सत्तरी वर्ष अघि पुर्याएको बताए । भूतकाललाई वर्तमानकालसँग र आफूजस्तालाई तराई–मधेससँग जोड्ने काम गरेको पनि उनले बताए । विज्ञानले समाज जोड्न नसक्ने तर साहित्यले जोड्ने बताउँदै उनले राजेशको पुस्तकले त्यो काम गरेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. विपिन अधिकारीले यो आत्मकथा भएको भन्दै सामाजिक जीवनको परिप्रेक्षमा लेखिएको उल्लेख गरे । यो कृतिको विषयवस्तु मधेसको पनि धनुषा, महोत्तरी, सिराहा, सप्तरी लगायतका क्षेत्र केन्द्रित रहेको उनले बताए । ती क्षेत्रमा विशिष्ट पहिचान रहेको भन्दै यो पुस्तकमा त्यो क्षेत्रको पहिचान प्रस्तुत भएको उनको भनाई छ । ‘अन्दडको टिकुला’ को उदाहरण दिँदै मधेसमा प्रयोग हुने भाषा, संस्कृति, परिवेश, त्यहाँको गरिबी यो पुस्तकमा आएको उनले सुनाए ।
समीक्षक डा. ज्ञानु पाण्डेले यस अघि नै राजेशका केही लेखहरु पढेको उल्लेख गर्दै यो पुस्तकले उठाएको विषयवस्तुसँग आफू पनि जोडिन पुगेको उल्लेख गरिन् । तराईको परिवेशमा आफू पनि भिजेको भन्दै उनले यो पुस्तक पढ्दा बाल्यकालको स्मरण गर्न पाएको बताइन् ।
राजेश खनाललाई शुभकामना व्यक्त गर्दै बाह्रखरी अनलाइनका सम्पादक प्रतीक प्रधानले मधेसी समाज कस्तो थियो आफूले पनि बुझ्न पाएको उल्लेख गरे ।
राजेशका साथी नारायण घिमिरेले तराईमै बसोबास गर्नेले पनि त्यहाँको स्थानीय भाषा यसरी उठाउन नसक्ने बताउँदै राजेशले त्यो काम गर्न सकेकोमा धन्यवाद ज्ञापन गरे ।
प्रतिक्रिया