नेपालगंज । भारतबाट आयात गरिएको १२ हजार केजी मासको दाल नेपालगन्ज भन्सारबाट फिर्ता पठाइएको छ । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जले परीक्षण गर्दा अखाद्य रंगको प्रयोग भएको भेटाएपछि दाल भारत फिर्ता गरिएको हो ।
दाललाई बाँकेको कोहलपुरस्थित प्रभुकृपा अर्डर एन्ड सप्लायर्सले कात्तिक ४ गते भित्र्याएको थियो । दालमा कोल टार डाई बाह्य रंग प्रयोग भएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कुनै पनि किसिमको दालमा बाह्य रंग प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
खाद्य पदार्थमा रंग मिसाउँदा यस्तो छ स्वास्यमा पार्ने असर
दैनिक उपभोग्य खाद्यपदार्थ चामल, दाल, तरकारी, मसला, मिठाईं, पेय पदार्थ तथा अन्य प्रशोधित सामग्रीमा रंगको प्रयोग भएको पाइन्छ । खाद्य वस्तुलाई रंगाउनुको मुख्य उद्देश्य खाने कुरालाई आकर्षक बनाई उपभोक्तालाई लोभ्याउनु तथा सबै खानेकुरा एकैनासको देखाउनु हो । यसको अर्को उद्देश्य नराम्रा, बिग्रिएका एवं कमसल वस्तु पनि राम्रो एवं आकर्षक बनाई उपभोक्तालाई झुक्याउनु हो ।
प्रयोग गरिने रंग सकेसम्म प्राकृतिक अथवा भेजिटेबल रंग जस्तै बेसार, सेफ्रोन, केरामेल, क्लोरोफिल आदि भए उपयुक्त हुन्छ जुन मानव स्वास्थ्यका लागि सुरक्षित मानिएको छ तर अखाद्य रासायनिक रंग प्रयोग भए त्यसको लगातारको सेवनबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । रंगहरू खाद्य वा अखाद्य दुवै प्रकृतिका हुन्छन्, खाना तयार गर्दा त्यो पौष्टिक हुनुका साथै आकर्षक पनि देखियोस् भन्ने हुन्छ ।
खाद्य उत्पादक वा प्रशोधनकर्ताका लागि आफूले उत्पादन वा प्रशोधन गरेको खाद्य वा पेय पदार्थको रंग उपभोक्तालाई आकर्षित तुल्याउन एकदम महत्वपूर्ण हुन्छ । रंग प्रयोगकर्ता वा उत्पादनकर्तालाई प्रयोग गरिने रंगका बारेमा ज्ञान हुनु आवश्यक छ । कुन रंग खान हुने हो कुन विषालु हुन्छ जानकारी हुनुपर्छ । रंगको प्रयोगप्रति विशेष सावधानी अपनाउनुपर्छ । रंग खरिद गर्नपूर्व राम्रोसँग लेबल हेरी स्वीकृत खाद्य रंग मात्र खरिद गर्नुपर्छ ।
रंगलाई साधारणतया तीन भागमा विभाजन गरिएको छ्र (१) प्राकृतिक अथवा भेजिटेबल रंग (२) कोलटार वा रासायनिक वा सिन्थेटिक रंग (३) मिनरल वा इनअर्गानिक रंग ।यी तीनै प्रकारका रंगमध्ये प्राकृतिक अथवा भेजिटेबल रंग मानव स्वास्थ्यका लागि सुरक्षित मानिएको छ । स्वीकृत कोलटार वा रासायनिक सिन्थेटिक रंगहरूमा रातो रंगका लागि : अमरेन्थ (फुडरेड ९), पान्स्यु ४ आर, इरिथ्रोसिन (फुड रेड १४), कामोइसिन (एजोरुबिन), फास्टरेड ई, पहेंलो रंगका लागि : टाट्राजिन, (फुड एलो ४) सनसेट एफ.सी.एफ., नीलो रंगका लागि : इन्डिगिटिन (इन्डिगोकारमिन) (फुड ब्लु १), ब्रिलियन्ट ब्लु बी. एप.सी.एफ.र हरियो रंगका लागि : ऊल ग्रिन बी.एस., फास्टग्रिन एफ.सी.एफ. ।
यी कोलटार रंग खानका लागि तयार खाद्यपदार्थमा प्रति किलोग्राम २०० मिलिग्राम नबढाई प्रयोग गर्न सकिन्छ अर्थात् १ केजी खाद्य वस्तुमा बढीमा २ सय मिलिग्राम मात्र खाद्य रंग प्रयोग गर्न पाइन्छ । पकाएर खानुपर्ने कुनै पनि खाद्यपदार्थमा कोलटार रंग प्रयोग गर्न निषेध गरिएको छ । यी रंगमा स्वास्थ्यका लागि हानिकारक कुनै पनि पदार्थ मिसिएको हुनुहुँदैन ।
तेस्रो प्रकारमा पर्ने मिनरल वा इनअर्गानिक रंगहरू (पिग्मेन्ट्स) जस्तै लेड क्रोमेट, कपर सल्फेट, आइरन अक्साइड आदि स्वास्थ्यका लागि घातक हुन्छन् । बढी विषाक्त पाइएकाले खाद्य ऐन नियमद्वारा कुनै पनि खाद्यपदार्थमा यी रंगको प्रयोगलाई बन्देज गरिएको छ । अस्वीकृत रंग वा स्वीकृत रंग नै पनि स्वीकृत मापदण्डभन्दा बढी तथा लामो समयसम्म प्रयोग गरियो भने त्यसबाट स्वास्थ्यमा नकारात्मक एवं घातक प्रभाव पर्नसक्छ । अखाद्य रंगहरू जस्तै प्याप्थल एल्लो एस (पहेंलो), ओरेन्ज जी (रातो), मेटानिल एल्लो (पहेंलो), रोडामाइन बी (रातो), मालाचाइट ग्रिन (हरियो) आदि स्वास्थ्यका लागि हानिकारक र घातक भएको कुरा अध्ययन एवं अनुसन्धानबाट सिद्ध भैसकेको छ ।
यी रंगहरू बजारमा पुरिया रंग तथा अबिर रंगका रूपमा उपलब्ध हुन्छन्, जुन कपडा रंगाउन तथा पूजाका लागि प्रयोग गरिन्छ । ती रंगमा हाम्रो स्वास्थ्यमा हानी पुर्याउन सक्ने अशुद्ध तत्वहरू पनि हुनसक्ने भएकाले खाद्य वस्तुमा यस्ता रंग कदापि प्रयोग गर्नु हुँदैन । व्यापारमा नाफा कमाउने उद्देश्यले गरिने मिसावटमा मिसाइने कुरा प्राकृतिक खाद्यपदार्थजस्तै देखिने खालको हुन्छ वा उस्तै देखिने गरी रंगाई वा अनेक उपाय गरी मिसावट गरिन्छ । यस्तो मिसावट रोक्न वा निर्मूल पार्न कानुनी कारबाहीको ठूलो महत्व हुन्छ ।
कानुनी प्रक्रियाबाट मात्र यो समस्याको समाधान हुन निक्कै गाह्रो भएकाले यो काममा सर्वसाधारण जनताको पनि सक्रिय सहभागिता एवं सहयोग आवश्यक छ । उपभोक्ताहरू मिसावटप्रति आफै पनि चनाखो, सचेत एवं जागरुक हुनुपर्छ । दैनिक उपभोग्य खाद्यपदार्थमा गरिने कतिपय अवाञ्छनीय मिसावटको पहिचान साधारण परीक्षणबाट घरमै गर्न सकिन्छ, तापनि कति मात्रामा रंगको प्रयोग वा मिसावट गरिएको छ यकिनसाथ ठोकुवा गरेर कानुनी प्रक्रियामा जान प्रयोगशालामै परीक्षण गराउनुपर्छ ।
सरल परीक्षण विधि सामान्यत: सबैले अपनाउन सक्छन् । केही विधिमा तेजाबका साथै अन्य रसायन पनि प्रयोग गर्नुपर्ने भएकाले परीक्षणकर्तामा विज्ञान शिक्षाको र प्रयोग गरिने रसायनका बारेमा सामान्य ज्ञान वा जानकारी हुनु आवश्यक हुन्छ ।
प्रतिक्रिया