एक दिन भन्नु वा एक अहोरात्र भन्नु वा २४ घण्टा भन्नु एउटै कुरो हो । यसलाई सबैले बुझ्ने भाषाले भन्नु पर्दा १२ घण्टा AM र १२ घण्टा PM को एक दिन हुन्छ । जतिसुकै ठूलो घडीले पनि १२ घण्टालाई नै जनाउँछ भने जतिसुकै सानो नाडी घडीले पनि १२ घण्टालाई नै जनाउँछ । ठूलो घडी हुंँदैमा त्यसमा २५ घण्टाको एक दिन हुने पनि होइन र सानो घडी हुंँदैमा त्यसले २३ घण्टाको एक दिन हुने पनि होइन । एक हप्तामा सात दिन हुन्छ , ती सातदिन भनेका आइतबार, सोमबार,मंगलबार,बुधबार,बिहीबार,शुक्रबार र शनिबार हुन् यो सर्बबिदित नै छ । यो एक साता वा हप्ता भनेको तिथि मान्नेहरुको पनि उही हो र गते मान्नेहरुको पनि उही हो । त्यस्तै गरी ५२ हप्ता र १ दिनको एक वर्ष हुन्छ । यो पनि तिथि मान्नेहरुको हिसावमा पनि यही हो र गते मान्नेहरुको हिसावमा पनि यही हो । तसर्थ ५२ हप्ता र एक दिनको कूल घण्टा ८७६० घण्टा हुन्छ भने ३६५ दिनको कूल घण्टा पनि ८७६० घण्टा नै हुने हो । त्यसकारण ३५४ दिनको कूल घण्टा ८४९६ मात्र हुने भएकोले २६४ घण्टा नपुग हुने वर्षलाई एक वर्ष कदापि मानिंदैन र यो विज्ञान शून्य मान्यता ठहर्ने भन्ने स्पष्ट छ ।
घडी कै कुरा गर्दा त्यसमा घण्टासुई,मिनेटसुई र सेकण्डसुई हुन्छ । कतिपय घडीमा सेकण्डसुई नभएका पनि हुन्छन् । त्यसरी सेकेण्डसुई नभएको हुँदैमा त्यो घडीले सेकेण्डसुईको काम नै गर्दैन भनेर कसैले ठान्छन् भने त्यो मूर्खता मात्र हुने हो । कतिपय घडीमा १ देखि १२ अङ्क अङ्कित गरिएका पनि हुन्छन् भने कतिपयमा अङ्क नभइ थोप्ला या धर्सो भएको र कतिपयमा केही पनि नभएको पनि हुन्छ भने १२ वटा अङ्क नै छैन १२ घण्टा कसरी हुन्छन् भनेर सायद यस्तो कुतर्क कसैले नगर्ला । यदि गरे भने मूर्ख सिद्ध उही हुने हो ।
जसरी एउटा घडी भित्र घण्टासुई पनि हुन्छ ,मिनेटसुई पनि हुन्छ र सेकेण्डसुई पनि हुन्छ भनेर थाहा हुन्छ र ती तीनवटै आफ्नो गतिमा चलिरहेको हुन्छ भनेर बुझ्नु जरुरी हुन्छ । त्यसरी नै सौरमण्डल भित्र सारा ग्रहहरु चलायमान भइ चलिरहेका हुन्छन् । कथंकदाचित घडीमा कसैले एउटा मात्र सुई भएको घडी लगाएर समय ठीकसँग बताउँला भनेर सोच्छ भने त्यो केवल मूर्खता मात्र हुने हो ।
त्यस्तै एउटा सौर मण्डल भित्र सौरमास,चान्द्रमास, सावनमास नाक्षत्रमास यी सबै आआफनो गतिमा घुमिरहेको हुन्छ अर्थात् जसरी घडीमा १२घण्टामा घण्टा सुईले एक वृत्त घुम्दा मिनेट र सेकेण्डले कति वृत्त पार गर्नुपर्ने हो गरी सकेको हुन्छ भने झैं ३६५ दिनको एक सौरवर्षको एक बृत्त भित्र नक्षत्र तारा तिथिले जति पार गर्नु पर्ने हो गरिसकेको हुन्छ । त्यसकारण ३६५ दिन भित्रको नक्षत्र तथा तिथिको छुट्टै वर्ष कल्पना गर्नु भनेको एउटा मात्र सुइ भएको घडीको कल्पना गरे जस्तै हुने हो । यदि कसैले ३५४ दिनको चान्द्रवर्षको कल्पना गर्छ भने त्यो पनि अपरिपक्व ज्ञानको परिणाममात्र हो भन्न सकिन्छ । यही कुरालाई थप उदाहरण र प्रमाण दिई यो लेख तयार गर्न जरुरी देखा परेको हो ।
चान्द्रवर्ष के हो बुझ्नका लागि भन्न खोजेको यो अर्को उदाहरण मात्र हो अन्यथा नसोचौं । हामीले रेलको कल्पना गर्छौं भने रेल गुड्ने लीगको पनि कुरा गर्नु पर्छ । रेल भनेको लीग माथि मात्र दौडन सक्छ अरु बाटोमा ल्याएर गुडायो भने दूर्घटना हुन्छ । यो कुरा राम्रोसँग मनन गरे पछि चान्द्रमास भनेको रेल हो र सौरमास भनेको लीग हो यही लीग माथि चान्द्रमासमात्र दौडने होइन त्यसमाथि नक्षत्रमास सावनमास योग करण मूहुर्त आदि जे जति हुन् ती सबै सौरमासले बनाएको लीग माथि दौडने भइरहेको हो । त्यसकारण सौरमासलाई छोडेर नेपालसंवत् विशुद्ध चान्द्रमासको वर्ष हो भन्दै लीग छोडेर अर्को बाटोमा दौडाउने अस्वाभाविक चिन्तन गर्दै आइरहेको भन्नु नै दूर्घटना निम्त्याइ रहनु हो । अहिलेसम्म भोग्दै आएको नियति पनि यही हो जस्तो लागेको छ ।
विवेकशील जनमानसले सोच्न जरुरी भएको कारण
किनभने तिथिको कुरालाई लिएर यति बिघ्न भ्रामक कुरा प्रचार गर्दै आएको देखिएको छ कि केही नमुना यसप्रकार छन् जस्तैः
१. सूर्यलाई आधार लिएर बाह्र महिनामा ३६५ दिनलाई एक वर्ष मान्ने एक थरि क्यालेण्डर चलनचल्तीमा आइरहेको भन्नु
२. यो क्यालेण्डर सरकारी कामकाजमा मान्छेले काम लिनका लागि चलन चल्ती भएर आएको भन्नु ।
३.अर्को चन्द्रमाको आधारमा १२ महिनाको ३५४ दिनलाई एक वर्ष मानेको क्यालेण्डर छ भन्नु ।
४. यसरी १२ महिनाको ३५४ दिनको क्यालेण्डर प्रायः चाडवाड जात्रापर्व गुथि र हाम्रो जीवनमा जन्मदिन देखि मृत्यु संस्कार विधि सबै यही कयालेण्डर मुताबिक हुने हो भन्नु ।
यी बाहेक अरु पनि थुप्रै भ्रामक एवं अपरिपक्व कुरा प्रचार गर्दै आएको देखिएको हुनाले यसले वास्तवमा हाम्रो संस्कृति संस्कार सबै भड्खालो लगेर जाक्ने ,सडाउने निश्चित प्रायः देखियो । यस्तो गलत कुराबाट समय मै सचेत हुन प्रवुद्ध वर्गलाई आग्रह पनि गर्नु परेको छ ।
१. ३६५ दिनलाई एकवर्ष मानेर एकथरि क्यालेण्डर चलनचल्तीमा आइरहेको छ भन्नु अज्ञानताको पराकाष्ठा हो । यसैलाई हो हो भनी पछ्याई आएका जमात जो छ,त्यसको त कुरै नगरौं किनकि ती विवेकशून्यहरुले शास्त्रसम्मत कुराहरु पत्याउनै चाहँदैनन् । किनभने कुनै भ्यागुतोले समुद्र भनेको आफूरहेको कुवा भन्दा ठूलो हुनै सक्दैन भनीरहेका हुन्छ ठीक त्यस्तै ३५४ दिनको चान्द्रवर्षलाई मात्र समात्नेहरुले चान्द्र वर्षको धरातल बुझेकै छैन भन्ने देखियो । माथि उदाहरणमा दिइए झैं घडीमा घण्टा, मिनेट र सेकेण्ड चाहिन्छ त्यस्तै क्यालेण्डरमा चान्द्रमास र सौरमास दुवै चाहिन्छ यी दुवैको उपस्थिति बिना क्यालेण्डर बन्नु संभवै छैन । किनभने चान्द्रमासको तिथिलाई अंकमा जनाउन सकिन्न भने सौरमासको दिनलाई मात्र अंकमा जनाउन मिल्छ । सौरमासको १२ वटा संक्रान्तिले दिनको अंक निर्धारण गर्दछ त्यही निर्धारित अंकमा तिथि आएर बस्दछ ।
एक सौरवर्षमा ३६५ दिन १५घडी ३१ पला ३० विपला हुन्छ यो कसैको भनाइ होइन शास्त्रहरुमा दिइएको कुरा हो त्यस्तै २ चान्द्रमासमा ५९ दिन हुन्छ भन्ने कुरा पनि शास्त्रहरुमा दिइकै कुरा हुन् । यो कहाँ लेखेको छ भन्छन् भने जुनसुकै शास्त्र पल्टाएर हेरे पनि हुन्छ । त्यसैले १ सौरवर्षमा ३६५ दिन भनेको आसन्न पूर्णाङ्कसङ्ख्या मात्र हो । त्यस्तै १ चान्द्रमास भनेको २९.५ तिथिदिन तर पनि शुक्लपक्ष १५ दिन र कृष्णपक्ष १५ दिन गरेर पूर्णाङ्क संख्या तिथिबाट ३० जनाउने गर्छ । यी सबैको छ्याय्फ्वाय् मिलाउने प्रावधान भनेको अधिमास र क्षयमास हुन् ।
सामान्यतया दुईवटा संक्रान्तिको बीचमा एउटा चान्द्रमास प¥यो भनेको मतलव चान्द्रमासले संक्रान्तिलाई छुँदै छोएन भने त्यतिबेला अधिमास देखापर्छ त्यस्तै दुईवटा चान्द्रमास भित्र दुईवटै संक्रान्ति देखा पर्न आयो भने त्यो बेला क्षयमास देखापर्छ । यो कुरा पनि कसैको भनाइ होइन शास्त्रले नै बताएको कुरा हो ।
त्यसकारण संक्रान्ति बिना अधिमास क्षयमासको कल्पना नै गर्न सकिन्न । अधिमासको प्रचलन अहिले मात्र देखापरेको होइन लिच्छविकालको अभिलेखहरु मै देखापरेको हो । यी कुरामा ज्ञान नै नभएका भनौं वा यी कुरामा ध्यान नै नदिने भ्यागुता जस्ता मान्छेले ३६५ दिनको एक वर्ष मानेर एकथरि क्यालेण्डर चलनचल्तीमा ल्याइरहेको भन्नु मूख्र्याई बन्नु हो भने त्यसको पक्षपाती भएर त्यही धारमा बग्नु महामूख्याई सिद्ध हुनु हो ।
२. अर्को कुरा ३६५ दिनको क्यालेण्डर भनेको केवल सरकारी कामकाजको लागि मात्र चलन चल्ती भएर आएको भन्नु पनि भ्यागुताले बोल्ने भाषा मात्र हो भन्नु कुनै नाजायज ठहर्ने छैन । किनभने वैशाख जेठ आषाढ श्रावण भनेर नामाकरण अहिले आएर भएको होइन लिच्छविकाल देखि नै देखापरेको हो जुन कुरा अभिलेख नियालेर हेरे पनि थाहा हुन्छ । यसरी महिनाको नाम तय हुन संक्रान्ति बिना संभव छैन । ती १२ वटा संक्रान्ति भित्र ३६५ दिन हुने हो ३५४ दिन हुने होइन ।
अहिले नेपालसंवत् ११४४ को क्यालेण्डर पल्टाएर हेरियो भने त्यहाँ पनि वैशाख जेठ आषाढ भन्ने महिनाको नामहरु राखिएका छन् । यसमा मुख्य त्रुटि भनेको कार्तिक महिना बाहेक अरु ११ वटै महिनाको जतिजति दिन हुनु पर्ने हो त्यतित्यतिनै दिन राखिएका छन् केबल कार्तिक महिनाको भने १६ दिनसम्म मात्र दिइएका छन् । यदि यो त्रुटि होइनन भने कार्तिक महिनालाई १६ दिन मात्र देखाए पुग्छ भन्ने हिसाव मिलान कसले गर्ने । यसको जिम्मेवार निकाय कुन हो ? कसले भनेर यो गरेको हो ? सर्बसाधारणले बुझ्न परेन? यसको जवाफदेही कोही पनि अघिसर्न सकेको छैन । त्यसकारण नेपालसंवत्को क्यालेण्डरले सम्पूर्ण नेवारहरुको शिर निहुराइदिएको छ भन्नु पर्दा कुनै असजिलो लागेको छैन ।
३. चन्द्रमाको आधारमा १२ महिनाको ३५४ दिनलाई एक वर्ष मानेको क्यालेण्डर छ भन्नु, के आत्मरतिमा रमाउनु मात्र त होइन ? प्रश्न उठ्छ । किनकि ३५४ लाई १२ले भाग गरियो भने २९.५ दिनको महिना मान्नु पर्ने हुन्छ तर नेपालसंवत् कै क्यालेण्डर पल्टायौं भने वैशाखलाई ३१,जेठलाई ३१,असारलाई३२,श्रावणलाई पनि ३२ दिन नै तोकिएको छ । यदि नेपालसंवत् विशुद्ध चान्द्रमासको वर्ष भन्ने हो भने चान्द्रमासमा बढीमा एक महिना भनेको २९.५ दिन हुन्छ त्यसले ३२ दिन सम्मको भाग लगाउने अधिकार कहाँबाट पाउँछ ? के ३५४ दिन भनेको हुण्डी बाँड्ने , सदावर्तमा भोग बाँड्ने रकम जस्तो कुरा हो ? अवश्यै होइन । भन्नलाई त नेपालसंवत् चान्द्रमास कै वर्ष हो र यसमा ३५४ दिन मात्रै हुने हुनाले असार श्रावणको महिना ३२ दिन नै हुने भएर त्यसलाई ३२ दिन नै दिनु प¥यो अन्तमा १६ दिन मात्र बाँकी भएकोले कार्तिकलाई १६ दिन मात्र दिनु परेको हो पनि भन्ला । त्यो पनि लाज पचाएर , बूझ पचाएर तर विवेकशील मान्छेले उनीहरुको यो कुरा पत्याउने छैन र पत्याउनु हुन्न पनि । वास्तवमा ११ वटा संक्रान्ति चाहिँ सौरमासको लिने कार्तिक एउटा चान्द्रमास भन्ने त्यसमा बाँकी बचेखुचेको १६ दिनमात्र जनाउने भने पछि त्यहाँ सिद्धान्त नियम भन्ने कुरा केही छैन भन्ने पनि पर्दाफास हुनु हो ।
फेरि नेपालसंवत् ११४४को क्यालेण्डरहरु अनगिन्ती मात्रामा प्रकाशित भइरहेका देखिन्छन् ती मध्ये न्हूँदँ समारोह समितिले प्रकाशित गरेको क्यालेण्डरमा नेपालसंवत् ३५४ दिनको वर्ष नै हो भनेर मान्दामान्दै पनि त्यसमा अचानक ६ दिन बढेर ३६० को कसरी हुन आयो ? बडो अचम्म छ । सबै नेवारहरुको नेपालसंवत एउटै हुनुपर्ने कसैको क्यालेण्डर मा ११४४मा ३५४ दिन देखाउने कसैको क्यालेण्डरमा ३६० दिन देखाउने भनेको के कुनै नियम सिद्धान्त संगत छ भनेर पत्याउन सकिन्छ ? कुनै हालतमा जायज कुरो यो बिल्कुलै होइन ।
४. चाडवाड जात्रापर्व गुथि र हाम्रो जीवनमा जन्मदिन देखि मृत्यु संस्कार विधि सबै ३५४ दिनको क्यालेण्डर भित्र आउने हो भन्ने किसिमको जुन प्रचार गरिएको छ । वास्तवमा यो पनि भ्यागुतोले समुद्र आफु रहेको कुवा भन्दा ठूला हुँदै हुँदेन भने जस्तैको कुरा हुन् । किनभने ३५४ दिनको क्यालेण्डर बनाएर प्रचार गर्न थालेको सायद सय वर्ष पनि पुगेको छैन । के त्योभन्दा अघि नेपालमा चाडपर्व जात्रा जन्मदिन मनाउने र मृत्युसंस्कार आदि कुनै पनि प्रचलन थिएन भन्नु पर्ने हो ? यदि होइन भने लिच्छविकाल मै संक्रान्ति सहितको महिनाहरु किन देखियो? त्यही बेला अधिमासहरु किन देखियो ?अहिले लिच्छविकालमा चलेकोसंवत् १९४६ चलिरहेको छ । अधिमासहरु संक्रान्ति बिनापनि उत्पत्ति हुन सक्छ भन्ने शास्त्र कहाँ छ ? यस्ता थुप्रै प्रश्न खडा हुन आउँछ । जुन कुरा कल्पना भन्दा टाढाको कुरा हुन् ।
साधारण लेखपढमात्र गर्न जान्नेले यो भनेको भए केही छैन भनौंला तर शिक्षित प्रवुद्ध वर्गले समेत तिथि भन्नासाथ नेपालसंवत् भइहाल्यो भन्नेहरुसमेत देखियो । अहिले चाडवाड लगायत सबै संस्कृति संस्कार ३५४ दिनको क्यालेण्डरमा मात्र हुने हो भनियो यो कुनै साधारण लेखपढ गर्न मात्र जान्नेहरुले प्रचार गर्दै आइरहेका होइनन् । विक्रमसंवत् भनेको ३५४ दिनको वर्ष त हुँदै होइन तथापि यसमा गतेको उल्लेख नगरी तिथि कै मात्र उल्लेख आएको छ यसो हुनासाथ के ती सबै नेपालसंवत् ठहरियो त भनी थुप्रै प्रमाण अघिसारेर अस्ति भरखरै वैशाख २८ गतेको नेपाल भाषा टाइम्समा लेख छापिएको छ ।
त्यसकारण जस्तो विक्रमसंवत् ३५४ दिनको होइन त्यस्तै नेपालसंवत् पनि ३५४ दिनको वर्ष होइन भन्ने कुरा एउटा दुईटा प्रमाण मात्र होइन दर्जनौं सयौं मात्र होइन हजारौं देखाउन सकिन्छ तर किन मान्छेहरु अभिलेख प्रमाण तिर वास्तै नगरी भ्यागुतोले समुद्र कुवा भन्दा ठूलो हुँदैन भने जस्ताको कुराको रटान किन गर्दै आइरहेका हुन् ? यो अचम्म लागेको छ ।
निष्कर्ष
जसलाई तिथि भनेको के हो भलि भाँति थाहा छ उसले तिथि गोलमाल कदापि गर्दैनन् । जसलाई तिथि भनेको के हो ?फिटिक्कै थाहा छैन उसले नै गर्ने हो तिथि गोलमाल । अझ उनीहरु नै पाखुरा सुर्कीसुर्की म त मान्दैमान्दिन भनेर अड्डी समेत गर्ने गरेको देखिएको छ । तिथिलाई गतेको जस्तो गरी दिनाङ्कमा व्यक्त गर्न मिल्दैन । किनकि तिथि कहिले टूट हुने कहिले हिजो पनि त्यही तिथि आज पनि त्यही तिथि हुने गर्दछ । तारिख भनेको रातको १२ वजे उप्रान्त परिवर्तन हुन्छ भने गते बिहानको सूर्योदय संगै उदय हुन्छ ।
तिथि भनेको बिहानै शुरु हुनुपर्छ वा दिउँसै हुनुपर्छ वा साँझ वा राती यहीबेला शुरु हुनुपर्छ भनेर भन्न सकिने कुरो होइन र यो कसैको अधिनमा चल्ने पनि होइन । त्यसैले आज भन्दा हजारौं वर्ष अघि देखि हाम्रा पूर्वजहरुले सिकाएअनुसार मध्यान्ह भन्दाअघि तिथि फेरिने देखिएमा कुनै अनुष्ठानकोकाम श्राद्धकोकाम वा जन्मदिनकोकाम आदि भएमा मध्यान्ह सम्मकोतिथि जे छ दिनभरिलाई त्यहीतिथि मान्ने यदि मध्यान्हभन्दा पछि तिथि फेरिएमा भोलि पल्टको सूर्योदय देखि जुन तिथिले सूर्योदय भएको हो दिन भरिलाई त्यही तिथि मान्ने र चाडवाडको हकमा पनि सूर्योदय हुँदा जे तिथि देखिएको हो दिनभरिलाई त्यही तिथि मानेर सम्पन्न गर्ने अभ्यास पूर्खाले बसालेर गएको हो । त्यही अनुरुप पूर्खाले जसरी सिकाएको हो त्यसरी नै अवलम्वन गर्दै आउञ्जेल एकरुपता कायम भएको पनि यथार्थ सत्य हो ।
अहिले एकसेएक जान्नेसुन्ने हुनुपर्नेहरुको बाहूल्यता बढ्दै आए पछि मुरिसुरि जान्दिन तीसपाथी धान भन्नेहरुले चाडवाडको प्रथा लगायत संस्कृति संस्कारमा समेत बिभाजित गरिदिएको हुनाले अहिले चाडवाड काठमाडौं उपत्यकाको तीन शहरमा तीन थरिको पनि देखिन थालियो । अरु चाडपर्वहरु पनि हाम्रो आज तिमीहरुको कहिले भन्नेहरु पनि देखिन थाले । ती मध्ये जसको घरमा संस्कृतिसंस्कार पूर्खाले जे भनेको हो त्यसैलाई निरन्तरता दिनु पर्छ भन्नेहरुले एकरुपता कायम गर्दै आए त्यस्तो संख्या अझै पनि धेरै छन् भने कतिपय चाहिँ तिथिको महत्व बुझेर होइन अरुले जे गर्छ त्यही गर्ने भन्नेहरु पनि देखिए । जेहोस् नेवारी संस्कृति पनि यस्तै प्रकारले बिभाजित भइ रहेका छन् । वास्तवमा नेपालसंवत् ३५४ दिनको वर्ष होइन यसमा संक्रान्ति पनि छ तिथि पनि छ भन्ने कुरा त बुझ्न चाहँदैन भने उनीहरुले नै हो तिथि गोलमाल गर्ने र जव उनीहरुले मुहान कै कुरा थाहा छैन भने तिथि गोलमाल ग¥यो भनेर आश्चर्य मान्नुपर्ने कुरा छैन । त्यसकारण यो विषयमा के ठीक के बेठिक छुट्याउने विवेक सबैले राख्न सकियोस् । यही कामना छ ।
प्रतिक्रिया