कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन शुरु भएको छ । आज बसेको दशौँ अधिवेशनको पहिलो बैठकमा बोल्ने दलका नेताहरूले चालू आर्थिक वर्षका लागि परिणाममुखी बजेट ल्याउन सुझाव दिएका छन् ।
बैठकको प्रारम्भमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का नेता यामलाल कँडेलले विगतको कमी कमजोरीबाट पाठ सिकेर बजेट ल्याउन आग्रह गर्नुभयो । “विगतमा अध्यादेशबाट बजेट ल्याइयो, ससाना टुक्रे योजनाका लागि बजेट केन्द्रीत गरियो”, उहाँले भन्नुभयो, “विकास गर्न नभई विकास खाने मानसिकताबाट बजेट ल्याउने प्रचलन रह्यो, यसपटक विगतका ती श्रृङ्खलाबाट पछि हटेर बजेट ल्याउँदा नै कर्णालीको हित हुनेछ ।” नेता कँडेलले सरकारले विगतका गल्ती सुधारेर परिणामुखी बजेट ल्याएमा प्रतिपक्षी दल सहयोग गर्न तयार रहेको बताउनुभयो ।
नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक कृष्णा शाहले सङ्घीयताको पहिलो पाँच वर्षे कार्यकालको अन्तिम बजेट भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो । सङ्घीयतामा अनुभवको कमी, जनशक्ति अभाव, प्रदेशभित्रका आन्तरिक समस्याका कारण सोचे अनुरुप प्रदेश सरकारले काम गर्न नसकेको उहाँको भनाइ छ । “चार वर्षको अवधिमा केही सफलता पनि मिलेको छ, कतिपय काम अधुरै छन्”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले केही नगरेको होइन, थुप्रै विकास निर्माणका कामहरू सम्पन्न भएका छन्, थुपै्र ऐनकानून, कार्यविधिहरू बनेका छन्, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।”
नेपाली कांगे्रसका नेता दिनबन्धु श्रेष्ठले सत्तापक्ष–प्रतिपक्षबीच छलफल र सहकार्य गर्न कांग्रेस सधैँ तयार रहेको धारणा राख्नुभयो । प्रतिपक्षीलाई विश्वासमा लिएर बजेट ल्याउन सरकारलाई सुझाव दिँदै श्रेष्ठले भन्नुभयो, “विगतका बजेट कार्यान्वयनमा देखिएका समस्यालाई केलाएर नयाँ बजेट ल्याऊँ ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका सोशिला शाहीले कर्णाली प्रदेशमा भ्रष्टाचार मौलाएको भन्दै नियन्त्रण गर्न प्रदेश सरकारले आवश्यक कदम चाल्नुपर्ने विचार व्यक्त गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भोलि ९बुधबार० दिउँसो तीन बजे बस्नेछ ।
प्रतिक्रिया