मोरङ, ६ फागुनः कोशी प्रदेश सरकारका आन्तिरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले राष्ट्रिय समाचार समिति(रासस)लाई मातृभाषमा समाचार सेवा सुरु गर्नका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय समाचार समिति(रासस)को ६३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक’ अन्तरक्रिया तथा शुभकामना आदानप्रदान समारोहमा राज्यमन्त्री गुरुङले प्रदेशमा धेरै बोलिने भाषामा समाचार सेवा सुरु गर्नका लागि प्रदेश सरकार राससलाई सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभयो ।
उहाँले राससले समाचार प्रसारणमार्फत सरकार र जनताबीच पुलको काम गरेको उल्लेख गर्नुभयो । साथै राससले पिछडिएका एवं गरिबी रेखामुनि रहेका नागरिकको समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । राज्यमन्त्री गुरुङले प्रदेशसभामा सदस्यले उठाएका जनताका मुद्दा राससले प्राथमिकताकासाथ सम्प्रेषण गरिरहेको बताउँदै सङ्घीयता कार्यान्वयन एवं मुलुकको विकास र समृद्धिमा राससको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुइँटेलले राससले सम्प्रेषण गर्ने समाचारबाट राज्य र जनता दुबैलाई फाइदा भइरहेको बताउनुभयो । उहाँले राससले आफ्नो सेवा विस्तार गर्दै अघि बढिरहेको भन्दै राससलाई अझ सुदृढ गर्दै लैजानुपर्ने सुझाव दिनुभयो ।
रासस कोशी प्रदेश प्रमुख मोहम्मद सदरुलले राससले इतिहासको अभिलेखीकरण, चेतनाको विकास, सभ्यता र संस्कृतिको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभएको थियो ।
सो अवसरमा यस वर्षको उत्कृष्ट जिल्ला समाचारदाता मनोज दाहाललाई मन्त्री गुरुङले पुरस्कृत समेत गर्नुभयो । पुरस्कारको राशि रु २० हजार रहेको छ । राससको शनिबार बसेको सञ्चालक समितिको बैठकले दाहाललगायतलाई उत्कृष्ट समाचारदाताका रुपमा पुरस्कृत गरेको थियो ।
---
प्रतिक्रिया