×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- जनमत पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउत र जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् छन् । जनमतका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताहरूले हस्ताक्षर गरेर राजीनामाको माग गरेका हुन् । उनीहरुले पार्टीको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावना विपरीतका गतिविधि गरेको भन्दै राजीनामा माग गरिएको छ । राजीनामा माग गर्ने नेताहरूमा उपाध्यक्ष  खानसहित केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा सङ्घ संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घ संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन् ।

२- अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा आचारसंहिता समितिले कारबाही गर्दै जरिवाना गरेको । समितिको गत अगस्ट २१ बसेको बैठकले नेपाललाई कारबाही गर्दै १० हजार डलर जरिवाना गरेको छ ।  एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को छनोटबाट नाम फिर्ता लिएकोप्रति एएफसीले एन्फामाथि कारबाही गरेको हो । एएफसीको अनुशासन समितिले प्रतियोगिताको नियमअनुसार १०६ दिनअघि नाम फिर्ता लिनुपर्नेमा एन्फाले सो नियम अनुसार नगरेको भन्दै नेपाललाई कारबाही गरेको जनाएको छ ।  साथै एएफसीले अर्को संस्करणको एएफसी फुटसल एसियन कपमा भाग लिन नपाउने भएको छ । त्यस्तै अनुशासन समितिले जरिवाना गरिएको रकम सेप्टेम्बर २१ सम्ममा तिर्न निर्देशन दिएको छ ।

३- गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी रहेको छ । एक दिन अघि मात्र, इजरायलले गाजा शहर कब्जा गर्ने उद्देश्यले ठूलो जमिन आक्रमण सुरु गरेको घोषणा गरेको थियो । त्यसबेलादेखि हजारौं प्यालेस्टिनीहरू शहर छोड्दै आएका छन् । रातभर भारी बमबारीका बीचमा, गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बाल अस्पताललाई लक्षित गरी तीन अलग-अलग आक्रमण भएको बताएको छ । मन्त्रालयका अनुसार, अस्पतालका आधा बिरामी र उनीहरूका परिवारहरू भाग्न बाध्य भएका छन् । इजरायली सेनाले रिपोर्टहरूको अनुसन्धान गरिरहेको बताएको छ । यसअघि, इजरायली सेनाले दुई दिनमा गाजा शहरमा १५० भन्दा बढी 'आतंकवादी निशानाहरू' मा आक्रमण गरेको घोषणा गरेको थियो । इजरायलले आफ्नो लक्ष्य ३ हजार हमास लडाकुहरूलाई परास्त गर्नु र हमासको 'अन्तिम गढ' भनिने क्षेत्रमा उनीहरूका बन्धकहरूलाई मुक्त गर्नु रहेको बताएको छ ।

४- नेकपा एमालेकी केन्द्रीय सदस्य उषा किरण तिम्सिनाले ‘नि: शर्त पुस्तान्तरण’ गर्न नेतृत्वसँग माग गरेकी छन् । बुधबार सामाजिक सञ्जालमा तिम्सिनाले ‘ निशर्त: पुस्तान्तरण र हस्तान्तरण’ लेखिएको प्लेकार्डसहितको तस्बिर राख्दै पार्टी नेतृत्वलाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिएकी हुन् । तिम्सिनाले पछिल्लो समयमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिँदै आएकी छन् । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माण गरिदिने निर्णयविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि उनलाई पार्टीले कारवाही समेत गरेको थियो । अहिले जेनजी आन्दोलनपछी सबै दलका नेतृत्वलाई छोड्न दबाब सिर्जना भइरहेका बेला उनले फेरी नेतृत्वमाथि दबाब दिएकी हुन् ।

५-  सरकारका तीन मन्त्रीहरुले आगजनी गरिएको नयाँ बानेश्वरस्थित संसद भवनको अनुगमन गरेका छन् । बुधबार अनुगमन गरेपछि मिडियाकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री कुलमान घिसिङले नयाँ संसद् अधिवेशन सिंहदरबारमा बनिरहेको भवनबाट शुरु हुने बताए ।मन्त्री घिसिङले नयाँ बनिरहेको संसद भवन पुससम्म बनिसक्ने बताए ।  उनले भने- धेरै ठुलो क्षति भएको छ । यो क्षतिलाई तत्काल एसेस्मेन्ट गरेर यसलाई कसरी तत्काल र दिर्घकालमा कसरी पूर्ववत अवस्थामा ल्याउन सकिन्छ भन्ने बारेमा काम गर्छौं । तत्काल गर्नुपर्ने कामहरु काम गर्छौं । र अन्य जतिपनि पूर्वाधारहरुमा भएको क्षति केहि मर्मत गरेर अगाडी बढ्छौं भने मर्मत गरेर नहुने पूर्वाधारलाई बनाउन प्रक्रिया शुरु गर्छौं ।' अनुगमनमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल पुगेका थिए । 

६-  नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले  राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटिएको बताएका छन् । सुशान्त प्रधानसँगको पोडकाष्टमा गभर्नर पौडेलले यसक्रममा बैंकमा रहेको ५ करोड नगद र करिब १८ किलो सुन लुटपाट भएको बताएका हुन् । भदौ २४ मा जेनजी आन्दोलनका क्रममा प्रर्दशनकारीले बानेश्वसस्थित संसद् भवनमा आक्रमण गरेपछि सँगै जोडिएको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा पनि तोडफोड तथा लुटपाट भएको थियो ।  गभर्नर पौडेलले सार्वजनिक रूपमा मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्सन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको बताएका छन् । 

७- कोटेश्वरस्थित भाटभटेनीमा पनि जलेको अवस्थामा शव फेला परेको छ । बुधबार बिहान काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली भएको खुलेको छ । उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ । पहिचान गर्न नसकिने अवस्थामा रहेको शव नजिक फेला परेको सिमबाट उनको पहिचान भएको हो । परिवारले समेत उनी हराएको रिपोर्ट प्रहरीमा गरेका थिए ।  यसअघि काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा ६ शवका अस्थिपञ्जिर फेला परेका थिए भने धरानको भाटभटेनीमा ४ र विराटनगरको भाटभटेनीमा एक जनाको शव फेला परेको थियो ।

८- प्रहरीले बिना बिलका सामान खरिदबिक्री नगर्न अनुरोध गरेको छ । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति जारी गर्दै बिल बिनाका सामान किनबेच नगर्न अनुरोध गरेका हुन् । जेनजी आन्दोलनक क्रममा भदौ २३ र २४ गते उपत्यकालगायत  देशका विभिन्न ठाउँमा सरकारी कार्यालय,बैंक वित्तीय संस्थाहरू,व्यापारिक प्रतिष्ठानलगायत व्यक्तिगत घरमा आगजनी तोडफोड गरी लुटपाट भएका छन् ।  आन्दोलनका क्रममा सुन, चाँदी, हिरालगायत बहुमूल्य सरसामान समेत लुटिएका र त्यस्ता सामान बिक्री गर्न आउनसक्ने भन्दै बिना बिलका सामान नकिन्न प्रहरीले अनुरोध गरेको छ । लुटिएका सामानहरू खरिद गरेको पाइएमा त्यस्ता व्यक्तिमाथि कडा कारवाही हुने प्रहरीले चेतावनी समेत दिएको छ । साथै प्रहरीले लुटिएका सामान बिक्री गर्न आएमा प्रहरीलाई तुरून्त खबर गर्न पनि आग्रह गरेको छ ।  

९-  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन सत्ताधारीको दम्भ र अहंकारले जेनजी आन्दोलनका क्रममा मुलुकले अकल्पनीय क्षति बेहोर्नुपरेको बताएका छन् । बुधबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष नेपालले तत्कालीन सत्ताधारी दलका नेता केपी शर्मा ओली र शेरबहादुर देउवाप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । नेपालले जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहंकारको कारण दर्जनौँ होनहार युवाहरूले शहादत प्राप्त गर्नुपर्‍यो भने हाम्रो मुलुकले अकल्पनीय तथा अपूरणीय क्षति बेहोर्नुपरेको उल्लेख गरेका छन् । उनले जेनजी आन्दोलन लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पनि जनताका चाहना र भावना अनुरूप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा उत्पन्न निराशा र आक्रोशको परिणाम रहेको कुरा स्वीकार गर्नुपर्ने बताएका छन् ।  उनले भनेका छन्- 'यसका अतिरिक्त कतिपय नेता तथा जनताको जीवनशैलीका बिचको अन्तर, भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन तथा आर्थिक सामाजिक रूपान्तरणको मार्गमा हिँड्न नचाहने, नखोज्ने कार्यशैलीका कारण यो अवस्था उत्पन्न भएको कुरालाई समेत मनन गर्नुपर्दछ ।' नेपालले आन्दोलनले उठाएका एजेन्डाहरूको सम्बोधन गर्दै मुलुकलाई अग्रगामी बाटोमा अगाडि बढाउन अन्तरिम सरकार गठन भएको पनि उनले उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘निर्वाचनको मिति समेत घोषणा भएको छ । अतः बिना कुनै पूर्वाग्रह इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासन कायम र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रूपान्तरण गर्ने एवं युवा पुस्तालाई मुलुकमै बस्न लायक अवसर तथा वातावरण निर्माण गर्न सकेमा मात्र पछिल्लो जेन–जी आन्दोलनमा शहादत प्राप्त गर्नेहरूप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।’  अध्यक्ष नेपालले युवा पुस्तासँगै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, राज्य तथा निजी क्षेत्रलगायत समाजका विभिन्न अङ्गसँग हातेमालो एवं सहकार्य गर्न आफू सदैव तत्पर रहेको बताएका छन् ।

१०- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले निर्वाचित सरकारलाई अपदस्त गरिएको टिप्पणी गरेका छन् । बुधबार जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको एमालेको केन्द्रीय कार्यालयको अनुगमन गर्न पुगेका बादलले अहिले जनताले निर्वाचित गरेको सरकारलाई अपदस्त गरिएको बताउदै नागरिक सरकारको रुपमा अनागरिक सरकार बनाइएको बताएका हुन् । पार्टीले आफ्नो धारणा सार्बजनिक गरिसकेको र सबै घटनाको बारेमा अन्तिम धारणा सार्बजनिक गर्ने बताए । बादलले अब बामपन्थी धुर्बिकरण हुनुपर्ने बताउदै अब बामपन्थी आन्दोलनलाई धुर्बिकरण गर्ने प्रयास गर्ने बताएका छन् ।

११- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले धनगढीको एक सडकलाई जेनजी मार्ग नामकरणको प्रस्ताव गरेका छन् । मेयर हमालले धनगढी-१ जोशी मेडिकल भएको चोकदेखि पार्क मोड कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोड छुने सडक (धनगढी उपमहानगरपालिका द्वारा महिला उद्यम बजार  सञ्चालन गरेको क्षेत्र ) सम्म जेनजी मार्ग नामाकरणका लागि कार्यपालिका बैठकमा प्रस्ताव लैजाने जानकारी दिएका हुन् । उनले भनेका छन्-  जेनजी आन्दोलनमा शहीद हुनु भएका सम्पूर्ण वीर आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । तपाईँहरूको बलिदान केवल इतिहासको पानामा मात्र सीमित नभई यो देशका प्रत्येक युवाको मुटुमा दीप बनेर जलिरहनेछ । न्याय, अधिकार र परिवर्तनका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने तपाईँहरूको साहस हामी सबैका लागि प्रेरणाको ज्योति बनेर सधैँ चम्किरहनेछ ।  धनगढी -१  जोशी मेडिकल भएको चोक देखि पार्क मोड  कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोड छुने सडक (धनगढी उपमहानगरपालिका द्वारा महिला उद्यम बजार  सञ्चालन गरेको क्षेत्र ) सम्म जेन्जी मार्ग नामाकरणका लागि कार्यपालिका बैठकमा प्रस्ताव लाग्ने विषय सम्पूर्णलाई जानकारी गर्दछु । साथै त्यस सडक क्षेत्रलाई जेनजी मार्ग नाम प्रयोग गर्न हुन सम्पूर्ण नगरवासीमा अपील गर्दछौं ।

१२- नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२० सिरिजमा वेस्ट इन्डिजका पुर्व क्रिकेटर इयान बिशोपले कमेन्ट्री गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिशोपले यस सिरिजमा कमेन्ट्री गर्ने जानकारी दिएको छ । उनले नेपाली क्रिकेट र क्रिकेट फ्यानको प्रसंशा गर्दै आफु यस सिरिजको कमेन्ट्री गर्न पाउदा आफु उत्साहित रहेको बताएका छन् । नेपाल र वेस्ट इन्डिजबीच सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा टी-२० सिरिज हुदैछ । क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।

१३- बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्  ।  उनले बुधबार उपसभामुखलाई संविधान र प्रदेश सभा नियमावली, २०७४ अनुसार औपचारिक राजीनामा पत्र बुझाएका हुन् । यसअघि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका भए पनि आधिकारिक पत्र पेश गरेका थिएनन् । उनको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश सभा सचिवालयमा पनि पठाइएको छ । यससँगै बागमती प्रदेश सभाको सभामुख पद खाली भएको छ र नयाँ सभामुख चयन प्रक्रिया अघि बढ्नेछ । पाठकले राजीनामा पत्रमा जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्धको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा राष्ट्रवादी युवाको ज्यान गएको घटनाले उनलाई गहिरो भावनात्मक आघात पुर्‍याएको उल्लेख गरेका छन् । जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा रहन उचित नहुने निर्णय गर्दै उनले राजीनामा दिएका हुन् । पाठकले २८ पुस २०७९ मा भएको सभामुख निर्वाचनमा ६२ मत प्राप्त गर्दै पद हासिल गरेका थिए । राप्रपाका उनलाई नेकपा एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए । 

१४- फिल्म 'जारी २ : सङ अफ च्याब्रुङ’ को प्रदर्शन मिति सारिएको छ ।  जेनजी आन्दोलनका कारण फिल्म अब भाइटिकामा रिलिज हुने भएको छ । यसअघि जारी-२ असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शन गर्ने भनिएको थियो । सिनेमाको निर्माण टिमले २ पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरिएको छ । कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक भएका दुई पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ। यी दुवैलाई पोस्टरमा परम्परागत लिम्बु पहिरनमा खुशी मुद्रामा देख्न सकिन्छ । सार्वजनिक भएका यी दुवै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटोको सेरोफेरोमा सिनेमाले कथा पस्कने बुझ्न सकिन्छ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माताहरू सफल निर्देशक रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुन्। सिनेमामा दयाहाङ, मिरुना, विजय, बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।  कवि सुब्बाको डेव्यु निर्देशकीय फिल्म जारी २०८० सालको सुपरहिट फिल्म हो । जारीले नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढी कमाई गरेको थियो ।

१५- वेस्ट इन्डिजले भारतविरुद्धको टेस्ट सिरिजका लागि आफ्नो टोली घोषणा गरेको छ । यो सिरिज अक्टोबर २ देखि १४ सम्म खेलिनेछ । दुई खेलको टेस्ट सिरिजको पहिलो खेल अक्टोबर २ देखि ६ सम्म अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ भने दोस्रो खेल दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ । वेस्ट इन्डिजले पहिलो पटक बायाँ हाते स्पिनर खरी पियरेलाई टेस्ट टोलीमा समावेश गरेको छ । ३३ वर्षीय खरी पियरेले वेस्ट इन्डिज च्याम्पियनसिपमा लगातार राम्रो प्रदर्शन गरेका छन् । उनले यस सिजनमा ४१ विकेट र १३.५६ को औसतका साथ सबैभन्दा धेरै विकेट लिएका छन् । वेस्ट इन्डिजको टिम- रोस्टन चेस (कप्तान), जोमेल वारिकन, केवलन एन्डरसन, एलिक एथानासे, जोन क्याम्पबेल, त्जाइनेरिन चन्द्रपल, जस्टिन ग्रीभ्स, शाई होप, टेभिन इम्लाच, अल्जारी जोसेफ, शमर जोसेफ, ब्रान्डन किंग, एन्डरसन फिलिप, खरी पियरे र जेडेन सिल्स ।

१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको एक हजारले घटेर तोलाको २ लाख १६ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख १७ हजार एक सयमा कारोबार भएको थियो, जुन सुनको अहिलेसम्मको उच्च मुल्य थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर २५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २५९५ मा कारोबार भएको थियो ।

१७-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प लन्डन पुगेका छन् । ट्रम्प बेलायतको औपचारिक भ्रमणका क्रममा लण्डन पुगेका हुन् । स्ट्यान्स्टेड विमानस्थलमा ट्रम्प दम्पतीलाई बेलायतका लागि अमेरिकी राजदूत वारेन स्टीफन्स र राजा चार्ल्स तृतीयका प्रतिनिधि भिस्काउन्ट हेनरी हुडले स्वागत गरेका थिए । ट्रम्पको भ्रमण सेप्टेम्बर १९ सम्म बेलायतमा हुनेछन् । यो ट्रम्पको बेलायतको दोस्रो राजकीय भ्रमण हो र दुई पटक बेलायतको राजकीय भ्रमण गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति बानाका छन् । भ्रमणको क्रममा, ट्रम्प दम्पतीलाई दक्षिण-पूर्वी इङ्गल्याण्डको बर्कशायरस्थित विन्डसर फिल्डमा वेल्सका राजकुमार र राजकुमारी विलियम र केटले औपचारिक रूपमा स्वागत गर्नेछन् । यसपछि, उनीहरूले सामूहिक रूपमा राजा चार्ल्स र रानी क्यामिलालाई भेट्नेछन् । बकिङ्घम दरबारले पनि यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै भ्रमण बारे जानकारी दिएको छ । ट्रम्प दम्पतिलाई राजा र रानीले औपचारिक रूपमा स्वागत गर्ने र विन्डसर महलको पूर्वी लन र लन्डनको टावरबाट शाही सलामी दिने बताएको छ ।

१८- युइएफए च्याम्पियन्स लिग अन्तर्गत टोटनह्याम र आर्सनल विजयी भएका छन् । गएराती सम्पन्न खेलमा टोटनह्यामले ला लिगा क्लब भिल्ला रियललाई १-० गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा भिल्ला रियलका लुइज जुनियरले आत्मघाती गोल गरेका थिए । त्यस्तै अर्को खेलमा आर्सनलले ला लिगा क्लब एथलेटिक बिल्बाओलाई २-० गोल अन्तरले पराजित गरेको छ ।  आर्सनलको जितमा गाब्रियल मार्टिनेली र लीन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए ।

१९-  युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले फ्रेन्च क्लब मार्सेलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले दुवै गोल पेनाल्टी मार्फत गरेका थिए । रियल म्याड्रिडले १-० ले पछि परेको अवस्थामा खेलमा कमब्याक गरेर जित हासिल गरेको थियो । त्यस्तै मार्सेलीका लागि एक गोल टिमोथी वीहले गरेका थिए । यस खेलमा खेलको ७२औं मिनेटमा डानी कारभाजलले रातो कार्ड पाउदा रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।

२०-  बंगलादेशले जारी एशिया कपमा अफगानिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १५५ रनको लक्ष्य पछाएको अफगानिस्तानले २० ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मनुल्लाह गुर्बाजले सर्बाधिक ३५ रन बनाए भने अज्मतुल्लाह ओमरजाईले ३० रन बनाएका थए । त्यसैगरि बंगलादेशका बलर मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने नासुम अहमद, तास्किन अहमद र रिशाद होसैनले २-२ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएको थियो । बंगलादेशका लागि तानजिद हसनले सर्बाधिक ५२ रन बनाए भने सैफ हसनले ३० र टोवविड हृदोयले २६ रन बनाएका थिए । यो बंगलादेशको तेस्रो खेलमा दोस्रो जित हो । ३ खेलमा ४ अंक रहेको बंगलादेश समुह बी मा दोस्रो स्थानमा छ । त्यस्तै अफगानिस्तानको २ खेलमा २ अंक रहेको छ । अब अफगानिस्तानलाई सुपर फोरमा पुग्न अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्नै पर्ने अवस्था बनेको छ । एशिया कप अन्तर्गत आज पाकिस्तान र युएईबीच खेल हुने तालिका रहेको छ ।

 

बुधबार १ असोज २०८२ ०८:५३ PM मा प्रकाशित

प्रतिक्रिया