आर्थिक गतिविधि चलायमान नहुँदा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा सरकारले लक्ष्यभन्दा करिब डेढ खर्ब कम राजस्व संकलन गरेको हो। राजस्व संकलन कम भएपछि सरकारलाई खर्च चलाउन हम्मे परेको छ। सरकारको आम्दानीभन्दा खर्च करिब ९३ अर्ब रूपैयाँ बढी देखिएको छ।
चालु आवको पहिलो ६ महिनाको अवधि पुस मसान्तसम्म सरकारले ५ खर्ब ६७ अर्ब रूपैयाँ मात्र राजस्व संकलन गरेको छ। लक्ष्यअनुसार ६ महिनामा ७ खर्ब ९ अर्ब ५० करोड रूपैयाँ संकलन हुनुपर्थ्याे। आर्थिक वर्षको आधा समय व्यतीत भएकाले लक्ष्यको आधा राजस्व संकलन हुनुपर्ने भए पनि एक खर्ब ४२ अर्ब रूपैयाँ कम राजस्व संकलन भएको छ। सरकारले बजेटमा चालु आवमा १४ खर्ब १९ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। सरकारी लक्ष्यअनुसार मासिक एक खर्ब १८ अर्ब २५ करोड राजस्व संकलन हुनुपथ्र्यो।
उत्पादन वृद्धि नहुनु, बजार चलायनमान नहुनु, बजारमा उपभोग नहुनु, पुँजीगत खर्च कमजोर बन्नु, निर्माण व्यवसायीले काम गरेको रकम भुक्तानी नपाउनु, आयात तथा निर्यात व्यापार वृद्धि नहुनु लगायतको असर राजस्वमा परेको हो। भन्सारमा आधारित राजस्व भएकाले उपभोग वृद्धि नहुँदा आयात पनि अपेक्षित रूपमा बढेको छैन। निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको आयातमा कमी भएको छ। त्यसको असर पनि राजस्वमा परेको छ।
वैदेशिक व्यापारमा उल्लेख्य सुधार नहुँदा तुलनात्मक रूपमा भन्सार राजस्व कम संकलन भएको छ। कर राजस्वबाट चार खर्ब ८९ अर्ब रूपैयाँ, गैरकरबाट ७० अर्ब २० करोड रूपैयाँ तथा अन्य प्राप्तिबाट सात अर्ब ७८ करोड रूपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।
पोहोरको तुलनामा राजस्व संकलन केही बढे पनि लक्ष्य पूरा गर्न सरकार असफल देखिएको छ। सरकारले हरेक वर्ष राजस्व संकलनको लक्ष्य बढाउने गर्छ। गत आवको पुस मसान्तसम्म सरकारले पाँच खर्ब १६ अर्ब रूपैयाँ राजस्व संकलन गरेको थियो।
सरकारको आम्दानीभन्दा खर्च धेरै भएको छ। यो ६ महिनाको अवधिमा सरकारको आम्दानी भन्दा खर्च करिब ९३ अर्र्र्ब रूपैयाँ बढी रहेको अर्थ मन्त्रालयले जनाएको छ। यो अवधिमा पाँच खर्ब ७४ अर्ब ७६ लाख आम्दानी गरेको सरकारको खर्च ६ खर्ब ६७ अर्ब ६० करोड रूपैयाँ छ।
गत आर्थिक वर्ष एक वर्षको अवधिमा सरकारले १० खर्ब ८१ अर्ब रूपैयाँ राजस्व संकलन गरेको थियो। ६ महिना कुल लक्ष्यको ३९.९५ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। लक्ष्यअनुसार राजस्व संकलन गर्न गत वर्षभन्दा ३२ प्रतिशत बढी राजस्व संकलन हुनुपर्छ। गत वर्षको सोही अवधिभन्दा ९.८८ प्रतिशत मात्रै बढी राजस्व संकलन भएको छ।
सरकारको खर्च गर्ने क्षमता पनि कमजोर देखिएको छ। विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि पुँजीगत खर्च निकै कम छ। यो अवधिमा पुँजीगत खर्च १६.१६ मात्र रहेको छ। कुल बजेटको ३५.८९ प्रतिशत मात्र खर्च गरेको छ।
पुँजीगत खर्चका लागि तीन खर्ब ५२ अर्ब रूपैयाँ विनियोजन गरेकोमा यो अवधिमा ५६ अर्ब ९३ करोड रूपैयाँ मात्र खर्च भएको छ। त्यसैगरी चालुतर्फ ११ खर्च ४० अर्ब विनियोजन भएकोमा ३९.६३ प्रतिशत मात्र खर्च भएको छ। चालु खर्च सन्तोषजनक भए पनि पुँजीगत खर्चको अवस्था निराशाजनक छ।
यो अवधिमा चालुतर्फ चार खर्ब ५२ अर्ब रूपैयाँ वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ५८ अर्ब रूपैयाँ खर्च भएको छ। चालु आवका लागि सरकारले १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट ल्याएको थियो। आर्थिक गतिविधि कमजोर हुँदा सरकारले लक्ष्यअनुसार आर्थिक वृद्धि गर्न पनि नसक्ने देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा आर्थिक वृद्धि ३.४ प्रतिशत मात्र छ। मुलुकको अर्थतन्त्रका आन्तरिक सूचक शिथिल भएका कारण त्यसको असर राजस्वलगायत आर्थिक वृद्धिमा परेको हो। गत आवको चौथो त्रैमासको तुलनामा चालु आवको प्रथम त्रैमासमा कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये ६ वटाको ऋणात्मक छ।
प्रतिक्रिया