काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको चाँडै हुने भनिएको अमेरिका भ्रमणको विषयमा विभिन्न आशंका उत्पन्न भइरहेको बेलामा सहमतिका लागि अमेरिकी पक्षबाट प्रस्तावित बुँदाहरु सार्वजनिक भएको छ । अमेरिकाको उटाह राष्ट्रिय पहरेदार (न्यासनल गार्ड) र नेपालको नेपाली सेनाबीच राज्यस्तरको साझेदारीबारे भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नामको प्रस्तावित सहमतिमा विभिन्न १० वटा धारा छन् ।
संवेदनशील विषयहरु ती धारामा समेटिएका छन् । प्रस्तावित सहमतिको धारा ३ मा ’सहमत भएका सहकार्यका क्षेत्रहरु’ उल्लेख छन् । जसमा संयुक्त राज्य राष्ट्रिय पहरेदार र नेपाली सेनाले सहकार्य गर्ने क्षेत्रहरु समेटिएका छन ।
जसमा नेपालमा उच्च भू–भाग भएका क्षेत्रमा संयुक्त प्रशिक्षण अभ्यास, उटाह राष्ट्रिय पहरेदारका अधिकृतहरुका लागि नेपालको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अल्पकालीन फेलोसिप कार्यक्रम, नेपाली सेनाको आतंकवाद विरोधी सुराकी क्षमता विकास जस्ता क्षेत्रहरु तोकिएका छन ।
सहमतिबमोजिम क्रियाकलापहरु सञ्चालन गर्न नेपालमा संयुक्त राज्य राष्ट्रिय पहरेदारलाई आवश्यक परेअनुरुप तथा लिखित आग्रहबमोजिमको बन्दोबस्त सहयोग उपलब्ध गराउन नेपाल सरकारले उच्चतम प्रयास गर्नेछ भनिएको छ ।
त्यस्तै, यस सहमतिको कार्यान्वयनका लागि आवश्यक आन्तरिक कानुनी आवश्यकताहरू पूरा भएको भनी कूटनीतिक माध्यममार्फत् नेपालबाट संयुक्त राज्य अमेरिकाले लिखित सूचना प्राप्त गरेको दिनदेखि यो सहमति कार्यान्वयन हुनेछ, र यसको प्रारम्भिक अवधि पाँच वर्ष हुनेछ भनिएको छ ।
तत्पश्चात् कुनै पक्षले अर्को पक्षलाई कूटनीतिक माध्यमबाट छ महिने लिखित सूचना दिई सहमति खारेज गरेको अवस्थामा बाहेक यो सहमति निरन्तर कार्यान्वयनमै रहने भनिएको छ ।
अमेरिका भ्रमण र त्यतिबेला सहमति गर्ने भनिएका विषयमा आशंका जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरुले सदनमै पनि पटकपटक आवाज उठाइरहेका छन्। तर, सरकारको तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
प्रतिक्रिया