×

एल निनोका कारण विश्वको तापक्रम बढ्दै, आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै नवलपुरको तापक्रम ४४ डिग्री

images

काठमाडौं । मध्य तराईको नवलपरासी दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री सेलिसयस पुगेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार जेठ २६ गते मापन गरिएको यो तापक्रम हालसम्मकै देशभरमा नै उच्च रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी वर्ष सन् २०२४ मा तापक्रम अझै बढ्ने विभागको अनुमान छ ।

अमेरिकी संस्था नेशनल ओसेनिक एन्ड एट्मोसफेरिक एड्मिनिस्ट्रेसन (एनओएए) वैज्ञानिकहरुले विश्व जलवायुमा परिवर्तन आउन लागेको जनाएका छन् । वैज्ञानिकहरुका अनुसार आगामी वर्ष तापक्रम झनै बढी हुनेछ । एनओएएका वैज्ञानिकहरुका अनुसार आगामी वर्ष प्रशान्त महासागरमा एल निनो देखा पर्नेछ । यसले मौसममा उच्च तापक्रमको चरम अवस्था ल्याउने छ ।

प्रशान्त महासागरमा एल निनोको निर्माण भएकाले आगामी वर्षको तापक्रम पनि बढ्ने वैज्ञानिकले जनाएका हुन् । सामान्यतयाः एल निनो देखा पर्दा दक्षिण एसियामा कम पानी पर्ने सम्भावना रहन्छ । कुनै क्षेत्रमा पानी पर्ने त कुनै क्षेत्रमा पानी नै नपरेर खण्डवृष्टिको अवस्था सिर्जना हुने पनि छ ।

के हो एल निनो ?

पृथ्वीमा जीवन विभिन्न चक्रीय मौसम प्रणालीमा आधारित रहेको हुन्छ । तीनै चक्रीय मौसम प्रणालीमध्ये एक हो एल निनो र अर्को हो ला निनो । यी दुबै प्रणाली प्रशान्त महासागरस्थित पेरुको समुद्र तटको तापक्रम बढ्ने प्रक्रियालाई एल निनो भनिन्छ । अर्को शब्दमा भन्ने हो भने प्रशान्त महासागरको वायुमण्डलमा बढ्ने तापक्रमको सुल्टो प्रक्रियालाई एल निनो र उल्टो प्रक्रियालाई ला निनो भनिन्छ । यी नै मौसम प्रणालीका कारण पृथ्वीमा कहिले सुक्खा पर्ने तथा कहिले बाढी, तुफान, आँधी आउने गर्दछ । जुन वर्ष एल निनो सक्रिय हुन्छ त्यस वर्ष पृथ्वीको दक्षिण–पश्चिम भागको मनसुनमा प्रतिकूलता रहने गर्दछ ।

एल निनोको ऐतिहासिक पक्ष

१७ औं शताव्दीमा समुद्रमा आधारित जीवनयापन गर्ने माझीहरूले जब क्रिशमशको समय नजिक आउने गर्दछ, तब समुद्रको पानी गरम हुन थाल्दथ्यो, तब माझीहरूलाई यो महसुस हुन्छ कि अब माछा कम मात्रामा पाइन्छ । त्यस परिस्थितिलाई उनीहरूले “एल निनो दा ला नाभिदा” नाम दिए ।

यसको मतलब हुन्छ क्रिशमश चाइल्ड । समयको परिवर्तनसँगै २० औं शताव्दीतिर वैज्ञानिकहरूले मौसम प्रणालीको अध्ययन र अनुुसन्धानसँगै क्रिशमशको समयमा समुद्रमा उत्पन्न हुने तातो पानीको कारण कम माछा पाइने घटना यो केवल एक स्थान विशेषको मात्र नभई एक दुई वर्ष बिराएर समग्र पृथ्वीको मौसम प्रणालीसँग जोडिएकाले यसलाई वैज्ञानिकहरूले एल निनो साउदर्न ओन्सिलेसन नामकरण गरे ।

साधारण अवस्थामा प्रशान्त महासागरमा हावा भूमध्य रेखामा पूर्वबाट पश्चिममा बहने गर्दछ । यो किन हुन्छ भने पृथ्वी घुम्नाले गर्दा (रोटेसन) हो । यसै हावाको प्रणालीलाई जमानामा जहाज चलाउनेहरूले नेभिगेसनको रूपमा प्रयोग गर्ने गर्दथे ।

प्रशान्त महासागरको तापक्रम त्यसमाथिको वायुमण्डलको तापक्रमभन्दा १.५ डिग्री बढी भएको अवस्थामा एल निनो निर्माण हुने गर्दछ । यस अवस्थामा वायुको नियमित प्रणाली खलबलिँदा यसको समस्या देखा पर्दछ । प्रशान्त महासागरमा एल निनो देखा पर्दा दक्षिणी एसियामा कम पानी पर्ने हुन्छ । एल निनोको अनुगमन प्रत्येक वर्षको डिसेम्बरदेखि तीन महिनासम्म प्रशान्त महासागरको पानीको तापक्रम अनुगमन गर्ने गरेर पत्ता लगाइन्छ ।

समुद्रको तापक्रम सामान्यतया २३–२४ डिग्री सेल्सियस हुन्छ । यदि यो तापक्रममा १.५ डिग्री बढी भएको खण्डमा एल निनो हुने गर्दछ । तर मौसमविद्हरूका अनुसार प्रशान्त महासागरमा एल निनो देखापर्ने वित्तिकै दक्षिणी एसिया महादेशमा सधैँ कम पानी पर्छ भन्ने अवस्था नहुन सक्छ । दक्षिणी एसिया क्षेत्रमा पानी पर्ने प्रक्रियामा अन्य मनसुनी प्रणालीको पनि गतिविधि हुने भएकाले एल निनो देखापर्ने वित्तिकै पानी कम पर्छ भन्ने हुँदैन । मौसमविद्हरूका अनुसार एल निनोको ठीक उल्टो प्रक्रिया ला निनो हो ।

यदि प्रशान्त महाशागरमा ला निनो भएको खण्डमा दक्षिण एसियालगायत विश्वमा बढी पानी पर्ने प्रक्षेपण गरिन्छ । यदि प्रशान्त महासागरको पानीको तापक्रम त्यसमाथि हुने वायुमण्डलको तापक्रमभन्दा कम भएको अवस्थामा ला निनो हुन्छ ।

ला निनो बनेको अवस्थामा दक्षिण एसियामा बढी पानी पर्ने हुन्छ । गत वर्ष नेपालमा लानिनोकै प्रभावका कारण बढी पानी परेको थियो, जसका कारण बाढी तथा भू–क्षय भएको थियो । मौसमविद्हरूका अनुसार ५ देखि १० वर्षको अन्तरमा एल निनो देखापर्ने हुन्छ । सात वर्षको अन्तरमा प्रशान्त महाशागरमा पानीको तापक्रम १.५ डिग्री सेल्सियस बढ्ने गरेको छ । एजेन्सी 

आइतबार​ २८ जेठ २०८० ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया