इतिहास भनेको जसको हातमा लट्ठी उसैको भैंसी भने जस्तो खालको विषय किमार्थ होइन तर नेपालमा जसलाई इतिहासकार भनेर मान्यो उसैले इतिहासलाई भैंसी बनाएर खेद्दै आएको छ । यो कुरा बडो बिडम्वना छ । किनभने इतिहासको निर्णय गर्ने क्रममा कहीँ उनीहरूले २ वर्ष खुम्चाइ दिए त कहीं २ वर्ष फैलाइ दिए । यस्तो गर्ने हक कसैलाई छैन , तर भनेर के गर्नु गर्दै आएको छ ,यस्तै नै ।
फेरि अचम्म त यस्तो कि उनीहरूले जे निर्णय ग¥यो मान्छेहरू पनि त्यसैलाई आँखा चिम्लेर सकार्ने भए पछि दूर्दशा त इतिहासको हुने हो नि । त्यसैले बिना सोच विचार त्यही धारमा पछ्याउनेको जमात पनि यहाँ कुनै कमी छैन । उनीहरूलाई इतिहास चाहे भाँडमा जावस मतलव छैन । अझ उनीहरूलाई नै महामानव भनेर हुन्छ कि , शुक्रतारा भनेर हुन्छ कि, आकासको उज्ज्वल नक्षत्र भनेर हुन्छ कि , पुरस्कारको बौछार लगाइदिएर हुन्छ कि, सम्मानको खापाखाप लगाइ दिएर हुन्छ , यस्तो कृयाकलापले गर्दा यहाँ लिने र दिनेको कुरा भन्दा पनि लज्जित त देशको पो भइरहेको छ त भन्ने तर्फ ध्यान नजानु सबभन्दा आश्चर्यको विषय भन्नु पर्दछ । अतः धापासी र बुङ्गमतीको अभिलेखको मितिलाई लिएर विश्लेषण गरेर हेर्ने हो भने कसले ? कसरी ? कहाँ २ वर्ष खुम्चाए कहाँ लगेर फैलाए भन्ने कुरा छर्लङ्ग हुने छ भन्दै यो लेख तयार गर्नु परेको हो ।
प्रायः इतिहासका पाठ्य पुस्तकहरूमा देखिरहेकै हो कि धापासीको अभिलेखमा संवत् ५२६ वैशाख छ भने बुङ्गमतीको अभिलेखमा संवत् २९ ज्येष्ठ छ । मूद्र्धन्य एवं दिग्गज दिग्गज भनिएका इतिहासकारहरूको धारणामा यो विकास भएर आइरहेका छन् कि असोज सम्म ५२६ भएर कार्तिकदेखि ५२७ हुनुको सट्टा ५२७ नगरीकन २९ गरेर नयाँ संवत्को शुरुवात भयो भन्दै आएका छन् । बुङ्गमतीको अभिलेखमा पाइएको संवत् २९ भनेको कार्तिकमा ५२७ हुनुको साटो २९ गरेको हुनाले संवत् ५२६ वैशाखको १ वर्ष पछि संवत् २९ जेष्ठ हुन मान्दै आएका हुन् । यसलाई अनेकौं तवरले पुष्टी गर्न ५२७ — २९ = ४९८ हुन्छ अथवा ५२७ + १३५= ६६२ वि.सं हुन्छ । ६६२ — २९ = ६३३ वि.सं अथवा ५२७ + ७८ = ६०५ इ.सं । ६०५ — २९= ५७६ इसं हुन्छ भन्दै यसरी हरतरहले मिल्न आउँछ र सुमतितन्त्रले शक संवत् ४९८ सम्म चल्छ भनेर दिइएको पनि यसप्रकारले ट्वाक्कै मिल्छ भन्दै पुष्टी गर्न उद्यत रहँदै आएका छन् । यो कुरा जसलाई महान इतिहासकार भनेर विश्वास गर्दै आएका हुन् उनैको पुस्तक मात्र पल्टाएर हेरे पनि भेटिन्छ ।
बास्तवमा यो अत्यन्त भ्रामक कुरा हुन् किनभने धापासीको अभिलेखको मिति र बुङ्गमतीको अभिलेखको मिति बीचको समय अन्तर पूरै तीनवर्ष भन्दा बढी फरक छन् । यसमा ती तमाम इतिहासकारहरुले केवल एकवर्षमात्र फरक देखाएर दुईवर्षको अवधि क्वाप्पै निलेको कुरा जनमानसले बुझ्नै सकेन । यसरी यहाँ २ वर्ष निलेको कुरा नेपालसंवत्को आरम्भ भए ठाउँ तिर आएर फेरि त्यो दुई वर्ष ओकल्नु परेको छ । जुन कुरा जनमानसले अझसम्म पनि बुझ्न नसक्दाको फाइदा लिएर अनेकौं वाहवाहीको तारिफ बटुल्न सम्म बटुले त्यसको साथसाथै पुरस्कार सम्मानहरू पनि बटुल्न सम्म बटुले । यो कुराले वास्तवमा देशको शिर लाजले निहुरेको निहुरै छ । शिर उठाउन सकिरहेका छैनन् । अतः भविष्यले यसको लेखाजोखा अवश्यै गर्ने छ ।
अब विषयवस्तु तिरै लागौं ।
धापासीको शिवदेव अंशुवर्माको अभिलेखमा भएको मिति र बुङ्गमतीको अंशुवर्माको अभिलेखको मितिलाई लिएर शब्दबाट व्याख्या गर्ने हो भने वा त्यसको जतिसुकै लामो व्याख्या गरियो भने पनि त्यो कुरा आ—आफनो तर्क भनेर उडाइ दिन पनि नखोजिएला नै भन्न सकिन्न । तसर्थ यहाँ गणना नै गरेर देखाउनुबाहेक अर्को सर्बोत्तम उपाय देखापरेन भन्ने नै लागेको छ । हुनतः धापासी र बुङ्मतीको अभिलेखको बीचमा लेलेको अभिलेख पनि छ तर लेलेको अभिलेखमा तिथिको शव्द अस्पष्ट छन् । अतः यसमा भएको मितिको गणना गर्न उपयोगी भएन ताकि तिथिको समेत स्पष्ट खुलासा नभई गणना गर्न नमिलेकोले लेलेको अभिलेखलाई छाडिएको हो ।
क) धापासीको शिवदेव अंशुवर्माको अभिलेख
संवत् ५२६ वैशाख शुक्ल दिवा पञ्चम्याम् ( संवत् ५२६ वैशाख शुक्ल पञ्चमी )
(लिच्छवीकालका अभिलेख पृष्ठ २८० )
अब संवत् ५२६ वैशाख शुक्ल पञ्चमी मितिको तारिख गणना प्रस्तुत गरिन्छ ।
अभिलेखमा दिइएको मितिः संवत् ५२६ भनेको ( शक ५२४ को कार्तिकदेखि शक ५२५ को आश्विनसम्म रहने गर्छ)
तद्नुसार संवत् ५२६ वैशाख भनेको = शक ५२५ वैशाख । इष्ट इश्वी ५२५ + ७८ = ६०३
इष्ट शक ः शक ५२५( किनकि वैशाखमा शक ५२५ हुने भएकोले इष्ट इश्वीसनः५२५ + ७८ सन ६०३ हुन्छ । शक ५२५ को वर्षमा अधिमास छैन ।
तिथिगण ः वैशाखसम्म आउन – चै१,+वैशाख शुक्ल पञ्चमी(५) । ३०+५=३५। ३५—८= २७
न्यास १
१.प्राचीन रीतमा दिइएको अंश ।२. योगफल लाई ३६०ले भाग गरी शेष फल ३. योगफल लाई ३६०ले भाग गरी शेष फल। ४. सामान्य वर्ष भएकोले ५९ जोडेको ५योगफल लाई ७ ले भाग गरी शेष फल ।६. योगफल लाई ३० ले भाग गरी शेष फल ।
परिणाम= इश्वीसन ६०३ अप्रिल २२ तारिख सोमबार । तद्नुसार वि.सं ६६० वैशाख ८ गते सोमबार । अभिलेखको संवत् ५२६ वैशाखशुक्ल पञ्चमी शक ५२५ वैशाखशुक्ल पञ्चमी ।
(ख) बुङ्गमतीको अंशुवर्माको अभिलेख
संवत् २९ ज्येष्ठशुकलदशम्याम् ( संवत् २९ ज्येष्ठ शुक्ल दशमी)
(लिच्छवीकालका अभिलेख पृष्ठ २९१ )
अब संवत् २९ ज्येष्ठशुक्ल दशमी मितिको पनि पनि गणना प्रस्तुत गरिन्छ ।
अभिलेखको संवत् २९ र तद्नुसार शक ५२८ ज्येष्ठ शुक्ल दशमीको तारिख गणना गरिन्छ ।
अभिलेखमा दिइएको मितिः संवत् २९ (५२९) ( शक ५२७ को कार्तिकदेखि शक ५२८ को आश्विनसम्म रहने गर्छ)
संवत् २९(५२९) जेष्ठ भनेको = शक ५२८ जेष्ठ । इष्ट इश्वी ५२८ + ७८ = ६०६ इश्वी
इष्ट शक ः शक ५२८( किनकि जेष्ठमा शक ५२८ हुने भएकोले इष्ट इश्वीसनः५२८ + ७८ सन ६०६ हुन्छ । शक ५२८ को वर्षमा अधिमास छैन
तिथिगण ः जेष्ठसम्म आउन – चै१,+जे२ +दशमी (१०) । ६०+१०=७० । ७०—९= ६१ ।
१.प्राचीन रीतमा दिइएको अंश ।२. योगफल लाई ३६०ले भाग गरी शेष फल ३. योगफल लाई ३६०ले भाग गरी शेष फल। ४. सामान्य वर्ष भएकोले ५९ जोडेको ५योगफल लाई ७ ले भाग गरी शेष फल ।६. योगफल लाई ३० ले भाग गरी शेष फल ।
परिणाम= इश्वीसन ६०६ मे २६ तारिख बुधबार । तद्नुसार वि.सं ६६३ जेष्ठ १२ गते बुधबार । अभिलेखको संवत् २९ जेष्ठ शुक्ल दशमी, शक ५२८ जेष्ठशुक्ल दशमी ।
दुईवर्षको खुम्चाई र दुईवर्षको फैलाईको साक्षात्कार
यी दुई तिथिमितिको गणना गर्दा धापासी अभिलेखको मिति ५२६ वैशाख शुक्ल पञ्चमी भनेको इश्वीसंवत् ६०३ अप्रिल २२ तारिख सोमबार तद्नुसार विक्रमसंवत् ६६० वैशाख ८ गते सोमबार पर्न आएको छ । त्यस्तै बुङ्गमतीको अभिलेख संवत् २९ जेष्ठ शुक्ल दशमी भनेको इश्वीसंवत् ६०६ मे २६ तारिख बुधबार तद्नुसार विक्रमसंवत् ६६३ जेठ १२ गते बुधबार पर्न आए पछि यी दुई इश्वीसंवत् अथवा विक्रमसंवत्र्ला दुबैबाट अन्तर गर्दा पनि ३ वर्ष १ महिना ४ दिन फरक देखा पर्छ ।
कुनै पनि इतिहासकारहरूको नजरमा धापासी अभिलेख र बुङ्गमती अभिलेख बीचको समय अन्तर केवल एक वर्ष मात्र देखाइएको छ । सुमतितन्त्रमा भनिएका कुरा शकसंवत् ४९८ सम्म मात्र चलेको भनेर देखाउनका लागि त्यसप्रकारको अनेकौं अङ्कजाल कल्पना गरिएको मात्र हो जुन कुराको यहाँ कुनै तात्विक अर्थ देखिएन भन्ने प्रमाणित हुन आउँछ ।
यसरी बुङ्गमतीको अभिलेखमा भएको मितिलाई दुईवर्ष खुम्चाएर ५२६ उप्रान्त ५२७ हुँदा २९ भएको मानेर त आए । यहाँ निलेको त्यो दुईवर्ष नेपालसंवत् उत्थान भएको समयमा आएर ठोक्किन आए । त्यो यसरी छ । जस्तै ः
सहोत्तर तन्त्रमा भएको मितिमा देखिएको संवत् ३०१ लाई उनीहरू मानदेवसंवत् भन्दै मानी रहेकै हो । त्यही मानदेवसंवत् ३०४ चलिसकेपछि बल्ल नेपालसंवत् उठान भएको भनेर मान्नेहरू को हुन् ? उनै ३०१ लाई मानदेव संवत् मान्नेहरू स्वयं हुन् । तव त्यही ३०१ वैशाख भनेको वि.सं ९३५ र शक ८०० वैशाख भन्नेहरु को हुन् त ? त्यो पनि उनीहरू स्वयं नै हुन् । शक ८०० वैशाख शुक्ल सप्तमी भनेको इस्वी ८७८ अप्रिल १३ तारिख आइतबार पर्दछ भनेर लुसियानो पेतेकले आफ्नो पुस्तकमा उल्लेख गर्दा भेरिफाइद बाइ नयराज पन्त भनेर दिइएको कुरालाई मान्छेहरूले बिर्सन पाइन्न । यदि ८७८ अप्रिल सम्म उनीहरूको मानदेवसंवत् ३०१ रहेको हो भने इस्वी संवत् ८७९ अक्टोवर २० सम्म आइपुग्दा मानदेवसंवत कति हुनुपर्ने भयो ? भन्ने कुरा सामान्यतः जस्ले पनि भन्न सक्छ कि ३०२ मात्र हुन्छ । त्यसो भए २ वर्ष फैलाएर ३०४ हुन्छ किन भनियो त? भन्ने प्रश्न आउँछ । यदि सुमतितन्त्रलाई प्राथमिकता दिइयो भने ३०४ वर्ष मानदेवसंवत् चली सकेपछि बल्ल नेपालसंवत्को उठान हुन आउनु पर्ने हुन्छ भने इस्वी ८७८ मा ३०१ भएको मानदेव संवत् इस्वी ८७९ अक्टोवर पुग्दा ३०४ कार्तिक भइसक्छ भनेर मान्यता जसले राख्छ । त्यो वाहियातको हदनाघेको भनी रहनै पर्दैन । स्वतः सिद्ध कुरा हो । त्यो भनेको जसको हातमा लट्ठी उसैको भैंसी भन्नेहरूले बाहेक अरुले यो हरकत गर्ने धृष्टता गर्दै गर्दैनन् भन्ने कुरा बुझ्न जरुरी हुन आउँछ ।
यसबाट माथि दुई वर्ष खुम्चाएर क्वाप्प निलेको कुरा नेपालसंवत् उठान हुनआएको बेला ३०२ लाई ३०४ बनाउन त्यहाँनिर आई तड्कारो रुपले २ वर्ष उकेल्न जरुरी हुन आएको हो भन्ने पनि प्रष्ट देखियो । यदि सच्चा इतिहासकार कोही छ भने उसले मनलाग्यो दुई वर्ष खुम्चाई दिने र दुई वर्ष फैलाई पनि दिने जस्ता निकृष्ट हरकत गर्दैनन् । यसको मतलव उनीहरू महान इतिहासकार भनेर कसैले फुलाई दिएको र त्यो घमण्ड पाएको बापत प्रयोग गरेको हक र अधिकार भनेर ठानेको मात्र हो भन्न सकिन्छ । यस्तो गर्ने हक अधिकारको प्रदान वास्तवमा प्रकृति, इतिहास, सत्य, तथ्य कुनैले पनि कसैलाई पनि दिएको वा गरेको पनि छैन र गर्दैनन् पनि , यी सब वाहियात हुन् भन्ने कुरा अब जगजाहेर हुन आएको छ । यसमा जतिसुकै कुरा चपाए तापनि त्यसको ढाकछोप अव संभव हुने वाला छैन ।
निष्कर्ष
जसको सिङ् छैन उसैको नाम तीखे भने जस्तै जसलाई इतिहासको कुनै मर्म थाहा छैन । उही नै नेपालको महान इतिहासकार हुँ भन्दै धाक रवाफ जमाउँदै आएको देखिन्छ । यस्ता इतिहासकार नेपालमा अनगिन्ती छन् अझ उनीहरूले लेखेका लेख पुस्तकहरू कति छन् भनेर गन्ने हो भने गनेर साध्य हुने मात्रामा छैनन् तर के गर्नु गणितको दृष्टिले केलाएर हेर्ने हो भने ती लेख तथा पुस्तकहरू एकआपसमा यस्तै खालका मत बाझिने कुरा प्रशस्त मात्रमा पाइने हुँदा ती पुस्तकहरू अहिले उपयोगहीन ठहराउन सकिने भएका छन् । किनकि
१. जसलाई सहोत्तरतन्त्रमा भएको संवत् ३०१ वैशाख शुक्ल सप्तमी भनेको शक ८०० वैशाख किन भयो वि.सं ९३५ वैशाख किन भयो ? भन्ने कुराको छेउ टुप्पो बुझेको छैन र गणना त परै जावस । त्यसमा ६३३ जोड्दा ९३५ हुँदैन र ४९८ जोड्दा ८०० हुँदैन भन्ने ज्ञानसम्म पनि छैन तब उनीहरूले कुन चाहिँ पुस्तकलाई प्रामाणिक ठान्दै आएका छन् ती ठान्दै आएका प्रामाणिक ग्रन्थको औचित्य के ?
२.जसलाई धापासीको अभिलेखमा भएको संवत् ५२६ वैशाख भन्ने कुरा शकसंवत् ५२६ वैशाखसँग छेउ टुप्पो कतै मिल्दैन भनेर बुझेको छैन तब उनीहरूले लिच्छवी कालमा चलेको संवत् शकसंवत् नै हो भनी बर्बराइरहनुको औचित्य के ?
३. जसलाई बुङ्गमतीको संवत् २९ र धापासीको संवत् ५२६ बीच तीन वर्ष एक महिना चार दिनको फरक छ भन्ने कुराको हिसावको छेउटुप्पो हेक्का छैन तब उनीहरूले २९ देखि शुरुभएको अंशुवर्माको पालाको नयाँ संवत् नै हो र मानदेवसंवत् नै हो भनी बकबक गर्दै आउनुको औचित्य के?
त्यसकारण यी सबै जसका सिङ् छैन उसैको नाम तीखे भनेर स्वनाम धन्य इतिहासकार बन्दै आएको हुनाले नै हो भन्दै गर्दा कुनै फरक नपर्ला र इतिहासकार भनेर फुलाएका भरमा आफसेआफ बेलुन फुले सरि फुल्दै आएको मात्र हो अरु होइन भन्ने पनि प्रष्ट आकारचित्र तयार हुनआएको छ । यस्ता प्रकारको बेलुन कहिलेसम्म फुलेर रहने हो थाहा छैन तर यति थाहा हुन्छ कि अब धेरै दिन फुलेर रहँदैन । अवश्यंभावी फुट्नै पर्दछ र फुट्छ नै । अहिलेलाई यत्ति नै भन्नु नै काफी हालो ।
प्रतिक्रिया