×

नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेका छन्- प्रा. डा. सुरेन्द्र केसी 

images

काठमाडौं । बंगलादेशमा विगत एक महिनादेखि जारी आन्दोलनले हिंसात्मक रूप लिएसँगै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश नै छाडेकी छन् । उनी अहिले भारतको शरणमा रहेकी छन् । बंगलादेशमा पछिल्लो एक महिनाको आन्दोलनमा ३ सयभन्दा धेरैको ज्यान गएको  बताइएको छ । हसिनाले प्रधानमन्त्री पद त्यागेर देश छाडेसँगै त्यहाँ सेनाले शासन सत्ता नियन्त्रणमा लिएको थियो । आन्दोलनरत पक्षले सैनिक शासन पनि स्वीकार नगर्ने बताएसँगै अहिले सहमतिमा नोबेल पुरस्कार बिजेता डा.मोहम्मद युनुसलाई सरकार प्रमुख नियुक्त गरिएको छ । 

बंगलादेशको विकसित घटनाक्रमबाट नेपालमा पर्नसक्ने असरको बारेमा रिपोर्टर्स क्लब नेपालले साक्षत्कार कार्यक्रम गरेको छ । साक्षत्कार कार्यक्रममा रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले नेताहरुले जनतालाई अवमूल्यान गर्न नहुने बताए । उनले नेपालका नेताहरुले बंगलादेशको घटनाबाट पाठ सिक्नुपर्ने र इमानदार भएर देश र जनताको पक्षमा काम गर्नुको विकल्प नरहेको बताए । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको पक्षमा काम गर्ने मौका रहेको पनि उनले बताए । उनले जनतालाई डेलिभरी दिनसक्ने गरी काम गर्न सरकारलाई आग्रह गरे । 

‘अहिले कांग्रेस–एमालेलाई मौका आएको छ । दुई तिहाइ बहुमतको सरकार छ । केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । कांग्रेसका सभापति शेरबहादुर देउवा सारथी हुनुहुन्छ । सरकारले जनतालाई डेलिभरी दिनुपर्यो । जनताको माग सम्बोधन गर्नुपर्यो,’– उनले भने । 

साथै, अहिले राजनीतिक दल र नेताहरुले समानुपातिकको नाममा नातागोता, सालासाली र आफ्ना मान्छेलाई सांसद बनाउने गरेको धमलाले टिप्पणी गरे । अब योग्य मान्छेलाई समानुपातिकमा मौका दिनुपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाउन अनुरोध गरे । उनले भ्रष्टाचारी जुनसुकै दलको भएपनि कारबाहीको दायरामा ल्याएर इतिहासमा नाम लेखाउन आग्रह गरे । 
राजनीतिक विश्लेषक, प्रा.डा. सुरेन्द्र केसीले नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेको टिप्पणी गरे । प्रा.डा. केसीले आफूले भने बंगलादेशको घटनालाई उत्साहको रुपमा नलिएको बताए । ‘अब नेपालमा बंगलादेशमा घटेको घटनाको असर कुन रुपमा आउने होला ? भन्ने धेरैको जिज्ञासा देखियो । कतिको त अपेक्षा नै चाँडोभन्दा चाँडो त्यस्तै भइहालोस् भन्ने छ । मेरो विचारमा यो उत्साहप्रद कुरा किमार्थ होईन,’– उनले भने । 

बंगलादेशमा शेख हसिनाको शासकीय शैली विगतदेखि नै आलोचित रहँदै आएको उनको भनाइ छ । हसिनाले पारिवारिक विरासतमा उक्त जिम्मेवारी पाएको उनले टिप्पणी गरे । आफ्नो कार्यकालमा उल्लेख्य राम्रा उपलब्धी हासिल गर्न सकेको, राम्रा सडकहरु बनेको, मुलुकको उत्पादन र उत्पादकत्वको रुझानलाई अभूतपूर्व रुपमा विकास गरेको भएपनि हसिना निरङ्कुश शासक बन्दा अहिलेको परिस्थिति आएको उनको भनाइ छ । 

साथै, हसिनाको कूटनीतिका दृष्टि भारततर्फ झुक्दा बंगलादेशका कट्टरपन्थीहरुलाई राम्रो नलागेको पनि उनले बताए । प्रा.डा केसीले अब नेपाली जनताले पनि आफूलाई परिमार्जन गर्न जरुरी रहेको बताए । उनले नेताहरुले के–का लागि राजनीति गरेका रहेछन् ? भन्ने कुरा प्रष्ट भइरहेको बताउँदै जनताले चाँडै बंगलादेशको जस्तो उथलपुथल चाहेको दाबी गरे । तर, उनले त्यस्तो प्रकारको जनभावनालाई ‘उत्तेजक दृष्टिकोण’ को संज्ञा दिए । नेपालीहरुले बंगलादेशको जस्तै दुर्घटना ननिम्त्यिाएर त्यसबाट पाठ सिक्नुपर्ने उनको सुझाव छ । 

‘अब हामीले पनि आफूलाई परिमार्जन गर्न जरुरी छ । किनभने हामीले धरै कुरा देख्यौं नि त । नेताहरुले के–का लागि राजनीति गरेको रहेछ ? के–का लागि बलीवेदीमा चढाइएको रहेछ भन्ने कुरा त हामीले राम्रोसँग देख्यौं नि ।’ उनले भने, ‘नेताहरुले राजनीतिलाई ब्राण्डिङ गरेर उद्योग गरेको रहेछन् भन्ने कुरा त नाङ्गो भइसक्यो । त्यही भएर नेपाली जनता पनि चाँडै बंगलादेशको जस्तो हुनपर्यो, नेताहरुलाई कुट्न पर्यो भन्न थालेका छन् । मैले देख्दा यो अलि उत्तेजक दृष्टिकोण हुन्छ । त्यो कुरा होईन, बंगलादेशबाट हामीले सिक्ने हो ।’ 

बंगलादेशका लागि पूर्व नेपाली राजदूत डा.वंशिधर मिश्रले शेख हसिनाले बंगलादेशलाई चमत्कारिक विकासको गतिमा आगडि बढाएको बताए । हसिनाको शासन कालमा कंगाल देशबाट बंगलादेश विकसित देशतर्फ अगाडि बढेको उनको दाबी छ । ‘विकासको दृष्टिले बंगलादेश पहिलोको जस्तो छैन । शेख हसिनाले छोटो समयमा नै धेरै परिवर्तन गरिन् । उनी आफैं पनि बलिदानी परिवारको छोरी हुन्,’– मिश्रले भने । 
साथै, केही बंगलादेशीामा रहेको हिंसाको प्रवृत्ति, संस्कृति र बदलाको भावनाले अहिलेको घटना घट्न पुगेको उनको दाबी छ । उनले आरक्षणको कारणले अहिलेको घटना नभएको दाबी गरे । ‘यो कुनै आरक्षण र युवा विद्यार्थीको कारणले भएको घटना होईन । विद्यार्थी निहुँ भए,’– उनले भने ।

हसिनाको पालामा बंगलादेशले मुहार फेरेपनि उनी उत्तिकै निरङ्कुश बन्दै गएको मिश्रको आरोप छ । बंगलादेशमा हसिनाको शासनकालमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको गुञ्जायस नै नरहेको बताए ।  सरकारको विरुद्धमा लेख्नेहरु बेपत्ता बनाइने र महिनौंपछि लाश फेला पर्ने जस्ता घटना बंगलादेशमा भइरहेने उनले बताए । 

‘बंगलादेशमा चमत्कारिक विकास पनि भयो, रोजगारीका अवसरहरु सिर्जना भए । भोकमरीमा रहेका १८ करोड जनतालाई खुवाउने स्थिति पनि बनाए । अर्कोतिर बोल्न, लेख्न पाउने स्वतन्त्रता छैन, जुन मिडिया थोरै बोल्थ्यो, बेपत्ता हुन्थ्यो । एक महिनापछि मृत अवस्थामा फेला पर्ने, कोही त फर्किँदै नफर्किने । मोहम्मद युनिस नोबेल पुरस्कार बिजेता, उहाँ त गौरव हो नि । उनले पनि थुनामा जानुपर्ने भयो । वुद्धिजिवी निसास्सिएर बस्नुपर्ने भयो,’– उनले भने । 
साथै, बंगलादेशको सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको उनले सुनाए । नेपाली विद्यार्थी बंगलादेश अध्ययनको क्रममा जाँदा एयरपोर्टदेखि नै पीडित हुनुपरेको उनले सुनाए । सन् २००९ मा सत्तारोहण भएपछि हसिना निरङ्कुश शासक बन्दै गएको उनको आरोप छ । उनले हसिनाको सत्तारोहणपछि बंगलादेशमा भएका तीन वटा निर्वाचन केवल औपचारिकतामात्रै रहेको बताए । ‘बंगलादेशको तीन वटा चुनाव सन् २०१४, २०१९ र २०२४ को चुनाव चुनाव नै होईन,’– उनले भने । 

साथै, नेपालमा राजनीतिक परिवर्तन भएपनि आर्थिक–सामाजिक परिवर्तन हुन नसकेको उनको भनाइ छ । मिश्रले नेपालका नेताहरु एकदमै पाखण्डी बनेको, एकथोक बोलेर अर्कोथोक गरेको आरोप लगाए । बंगलादेशको घटनाबाट पाठ सिकेर अब नेपालका नेताहरुले जनताले चाहेको सुशासनको कुरालाई बिर्सन नहुने उनको भनाइ छ । जनतालाई दिएको वचन, वाचा र जल्दाबल्दा समस्यालाई सम्बोधन गर्नेगरी नेताहरुले आफूलाई करेक्सन गर्न आवश्यक रहेको उनले बताए । 

‘हाम्रोमा राजनीतिक परिवर्तन त भयो । तर, आर्थिक–सामाजिक परिवर्तन भएन । नेताहरु पाखण्डी भए । बोल्ने एकथोक, गर्ने अर्कोथोक,’– उनले भने । 

बिहीबार २४ साउन २०८१ ०७:२३ PM मा प्रकाशित

प्रतिक्रिया