मे -७ अर्थात वैशाख २४ गते अबुधाबी स्थित नेपाली दूतावास परिसरमा सुर्खेतका टमटा थरका एक युवा आँसु टिलपिल गर्दै छटपट गरिरहेका थिए। लौन म त बर्बाद हुने भए, आज काम नभए ‘ओभर स्टे’ हुन्छ। प्रहरीले समातेर ‘डिपोट’ गर्ने भयो साथीहरूसँग बिलौना गर्दै उनी ईसंचारकर्मीको छेउमा पुगे। उनी आत्तिएको देख्दा मन बेचैन भयो। अनि सोधेँ ? न आत्तिनुहोस दूतावासले समाधान खोज्ला नि ? उनको जवाफ थियो– नआत्तिएर के गर्नु ? दूतावासका कर्मचारीले त यो हाम्रो समस्या होइन, पार्कमा गएर सुत्नु भन्छन्।उनको जवाफ सुनेर हैरान भइयो।
अनि, दूतावास अघिको सडक छेउमा रहेका अरू नेपाली श्रमिक भन्दै थिए दूतावासका कर्मचारीको के कुरा गर्नु, केही सोध्यो कि झर्किनुहुन्छ। हकार्नुहुन्छ। हाम्रा समस्या कसले सुनिदिने ? श्रमिकका यी पीडा र मर्का सुनेपछि दूतावासमा गएर बुझ्न मन लाग्यो। अनि, दूतावास छिर्दै गर्दा ग्राउन्ड फ्लोरमा एक जना कर्मचारी भेटिए। ‘किन आएको ?’ झोंक्किदै मलाई प्रश्न गरे। सर सानोतिनो काम थियो’ यति मात्रै के भनेको थिएँ, उनको हुकुमी आदेश आयो– त्यहाँ गएर बस्ने (वेटिङ रुम) देखाउदै सर, हाकिमहरूसँग भेटनुथियो’ मैले थप आग्रह गर्न खोजे। झर्किँदै उनको जवाफ सुन्नु भएन, त्यहाँ गएर बस्ने। किन हाकिम भेट्नुपर्यो ? ती कर्मचारीको शैली देखेर म छक्क परे। चुपचाप वेटिङ रुममा गएर बसे। विभिन्न समस्या लिएर पुगेका झन्डै दुई दर्जन श्रमिक त्यहाँ प्रतीक्षामा थिए। छेउमै भेटिए, रोल्पाका ओमबहादुर रोका लाई सोधे के कामले आउनुभएको ? उनले समस्या बेलिविस्तार लगाए। कम्पनीले उनको भिसा क्यान्सिल गरेको रहेछ। तर, पासपोर्ट दिएन छ। अनि, घर फर्किन उनलाई कि नयाँ पासपोर्ट कि त ट्राभल डकुमेन्ट बनाउनुपर्ने रहेछ।
त्यसैका लागि दूतावासमा आएका रहेछन्। अनि काम भयो त ? प्रश्न गरेँ। उनको जवाफ थियो– कहाँ हुनु । प्रहरी रिपोर्ट लिएर आउनु भन्नुहुन्छ। कहाँ गएर कसरी बनाउने हो थाहै भएन। केही सोध्यो कि, दूतावासका कर्मचारीहरू झर्किनुहुन्छ ।संखुवासभाका दावा शेर्पाको समस्या समाधानमा पनि नेपाली दूतावास अबुधाबी सहयोगी नबन्दा उनी दिक्क मान्दै थिए। शेर्पालाई विवाह दर्ताको प्रमाणपत्र आवश्यक रहेछ। तर, विवाह दर्तासम्बन्धी कुनै पनि प्रक्रिया दूतावासबाट नहुने भन्दै फिर्ता गरिदिएपछि शेर्पा अलमलमा थिए। ‘यति सानो कामका लागि गाउँ जान गाह्रो छ। यतैबाट काम भइदिएको भए कति सहज हूनथियो।
अबुधाबीस्थित दूतावासमा एक दिन ओहोरदोहोर गर्दा दैनिक २ सय दिराम (७ हजार दुई सय नेपाली रुपैयाँ) खर्च हुने गरेको श्रमिकहरूको भनाइ थियो। त्यति खर्च गरेर धाउँदा पनि काम नहुँदा श्रमिकहरू भने दिक्क देखिन्थे। सर्लाहीका रोशन भण्डारी बेचैन थिए। पासपोर्टको म्याद सकिँदै थियो। तर, पासपोर्ट नवीकरणको फर्म भर्न पाएका रहेनछन्।
‘अनलाइनमा हिजो फर्म खुलेको थियो, किन नभरेको भनेर कर्मचारीले हप्काउनु भयो भण्डारीले भने– ‘हामी श्रमिकले कतिखेर फर्म खुल्छ भन्ने कसरी थाहा पाउनु ? त्यति टाढा (दुबई) बाट दूतावाससम्म आइयो, यहाँ पुग्दा पनि काम नभएपछि कहाँ जाने होला ? त्यहाँ रहेका अरू श्रमिक भन्दै थिए– ‘फर्म पनि सेटिङमा खुल्छ छेउमा रहेका एक जना श्रमिकले भने, यहाँ कस्तो सेटिङ हुन्छ, यो हेर्नुहोस् त भन्दै फेसबुक स्टाटस देखाए।’ त्यो स्टाटस दुबईमा क्रियाशील पत्रकार जनक खड्काको थियो। उनले एनआएएनए यूएईका अध्यक्ष विकास शाहीको राजीनामा माग्दै स्टाटस लेखेका थिए। अध्यक्ष शाहीले आफ्नो टाइपिङ सेन्टरमा काम गर्ने एक कर्मचारीलाई दूतावासमा ‘स्वयंसेवी कर्मचारी’ बनाएको, उनले दूतावासका सबै सूचना र विवरणमा पहुँच राख्ने गरेको र त्यसबाट शाहीले आफ्नो व्यवसायलाई फाइदा पुग्ने काम गरिरहेको आरोप पत्रकार खड्काले लगाएका थिए।
खाडीमुलुक संयुक्त अरब इमिरेटस (यूएई) हाल नेपाली श्रमिकको आकर्षणको केन्द्र बन्दै छ। जहाँ ६ लाख बढी नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ। पासपोर्ट हराउने, म्याद सकिने, कम्पनी छोड्ने, ओभर स्टे हुने, मादक पदार्थ सेवनमा पक्राउ पर्ने लगायतका समस्या नेपाली श्रमिकले भोग्ने गरेका छन्। तर, श्रमिकका दुःख पीडा बिसाउने र समाधान खोजिदिनुपर्ने दूतावासका कर्मचारी भने समाधान दिनुको सट्टा उल्टै सेवाग्राहीलाई हकार्ने र झर्किने गरेको श्रमिकहरूको गुनासो छ।
दूतावासका कर्मचारीले समयमा सहयोग नगर्दा ‘ओभर स्टे’ भएका केही श्रमिक त दूतावास अघिल्तिरको सडकमा सुतेका पनि भेटिए।
नेपाली श्रमिकलाई ‘हकार्ने, झर्किने’ किन गरिन्छ ? भन्ने प्रश्नमा नेपाली दूतावासका कन्सुलर तथा प्रवक्ता रञ्जिता दाहालको जवाफ थियो– तपाईं कोसँग बोल्दै हुनुहुन्छ ? बुझेर कुरा गर्नुहोस्।’ थोरै स्रोत साधनबीच पनि नेपाली श्रमिकलाई सेवा दिने काम भइरहेको प्रवक्ता दाहालको दाबी थियो। ‘कर्मचारीबाट झर्किने, रिसाउने काम भएको भए गलत हो दाहालले भनिन्, सेवाग्राहीले पनि कर्मचारीलाई सम्मान गर्नुपर्छ, हामी पनि सम्मान गर्छौं।
संयुक्त अरब इमिरेटस्मा हाल ७ देखि ८ लाख नेपाली कार्यरत रहेको उनले जानकारी दिइन्। ‘हामीसँग जनशक्ति कम छ। दैनिक ५ सय जनासम्मलाई सेवा दिनुपर्छ,’ उनले भनिन्, ‘त्यसैकारण एनआरएनए र नेपाली समाजबाट भोलिन्टियर सेवा लिन्छौं। तर, भोलिन्टियर सेवामा खटिने कर्मचारीलाई दूतावासका सूचनामा पहुँच हुँदैन।’ एनआरएनए यूएईका एक पूर्वपदाधिकारीले भने, ‘एकजना पत्रकार साथीले सामाजिक सञ्जालमा स्टाटस लेखेका कारण यसअघिका राजदूतले ६ महिना जेल हाल्नुभयो। दूतावासका कर्मचारीसँग विवाद गरे जेल जानुपर्छ भन्ने मानसिक त्रास फैलाइएको छ। त्यसैकारण यहाँका कर्मचारीमा दम्भ छ।’
दूतावासले जनशक्ति कम भएकै कारण देखाएर वर्षौंदेखि ब्लडमनी र बिमाको रकम नपाएको गुनासो पनि सेवाग्राहीको थियो। यूएईमा मृत्यु भएर क्षतिपूर्तिबापतको ब्लडमनीको पैसा प्राप्त गर्ने प्रक्रियामा रहेकाको संख्या २४ छ। थप १६० भन्दा बढी नेपालीहरूले दुर्घटना वा अन्य विभिन्न कारणले बिमाबापतको रकम पाउन बाँकी छ। यी मुद्दाहरू एक वर्षदेखि पाँच वर्षभन्दा पनि धेरै पुराना छन्।
सामान्यतयाः दुर्घटना वा अन्य कुनै कारणले नेपालीको मृत्यु भएमा यूएईमा २ लाख दिर्हाम (झन्डै ७८ लाख रुपैयाँ) ब्लडमनी वा बिमाबापतको रकम पाउने कानुन छ।
मृतकका हरेक परिवारले पाउने रकम हिसाब गर्ने हो भने कम्तीमा २ लाख दिर्हाम (झन्डै ७८ लाख रुपैयाँ) को दरले झन्डै १९ करोड रुपैयाँ ब्लडमनीबापतको क्षतिपूर्ति प्राप्त गर्न बाँकी रहेको छ। यसमा थप १६० जनाको बिमाको रकम पनि जोड्ने हो भने ५० करोडभन्दा बढी पैसा पाउने आकलन गरिएको छ। तर, दूतावासको अलमलले रकम प्राप्त गर्न नसकेको सेवाग्राहीको आरोप छ।
प्रतिक्रिया