×

दशरथचन्द राजमार्ग सञ्चालनमा

images

पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग  अवरुद्ध भएको थियो ।

अवरुद्ध बनेको राजमार्ग आज बिहान ४ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । राति ९ बजे एकतर्फी सञ्चालनमा आएको भए पनि पूर्णरूपमा भने आज बिहान मात्रै खुलेको हो ।
  
सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको  डोजरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।  राजमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका यात्रु सडक खुलेसँगै आ–आफ्नो गन्तव्यमा गएका छन् । हाललाई सडक सञ्चालनमा आएको भए पनि वर्षा भएपछि उक्त स्थानमा पहिरो खस्ने सम्भावना कायमै रहेको प्रहरी निरीक्षक जोशीको भनाइ छ । 

सोमबार २० असार २०७९ १२:४७ PM मा प्रकाशित

प्रतिक्रिया