काठमाडौं । पछिल्लो केही दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडा पखालाका बिरामी बढ्न थालेका छन् । अस्पतालमा बिहीबार यो वर्षकै धेरै १९ जना झाडा पखालाका बिरामी अस्पतालमा आएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले छ जना झाडा पखालाका बिरामी उपचाररत छन् ।
त्यस्तै, गतवर्ष कपिलवस्तुको कृष्णनगर तीन नगरपालिकामा हैजा फैलिएको थियो । त्यहाँ ८५५ जना हैजा सङ्क्रमित थिए । जसमध्ये चार जना बिरामीको मृत्यु भएको थियो । जसमध्ये तीन जना १० वर्षमुनिका थिए । खानेपानीको मुहान सफा नहुँदा बेलाबेलामा समुदायमा हैजा फैलिने चिकित्सक बताउँछन् ।
हैजा के हाे ?
अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने झाडापखालालाई हैजा भनिन्छ । उहाँका अनुसार यस ब्याक्टेरिया हाम्रो शरीरभित्र पस्यो भने झाडा पखाला लाग्ने गर्दछ त्यसलाई कोलेरा अर्थात् हैजा भनिन्छ ।
उहाँ भन्नुहुन्छ, ‘हैजा भएका मानिसको दिसामा उक्त कीटाणुहरु निस्कन्छन् । ती कीटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटमा जाने गर्छ । मानिसको सानो आन्द्रामा साे ब्याक्टेरियाले सङ्क्रमण गरी झाडापखाला लाग्ने गर्छ ।’ हैजा भएका दशमध्ये एक जनामा गम्भीर हैजा हुने अध्ययनहरुले देखाएको छ ।
त्यस्तै, घरमा एक जनालाई भएमा लगभग सबैलाई हुने गर्छ । लक्षणहरु निरन्तर पातलो चामल धुँदा निस्कने चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाको प्रमुख लक्षण भएको उहाँ बताउनुहुन्छ । कीटाणु शरीरमा प्रवेश गरेको २४ घण्टादेखि हैजाका लक्षणहरू देखिने गर्दछन् ।
लक्षण सामान्यतः पाँचदेखि सात दिनसम्म रहने चिकित्सक बताउँछन् । झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घट्ने हुँदा केही घण्टाभित्रै जलवियोजन तथा इलेक्ट्रोलाइटको कमी हुने चिकित्सक बताउँछन् । जलवियोजनका कारण तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने जस्ता लक्षण देखिन्छन् ।
शरीरमा पानीको मात्रा कम भई पिसाब बन्द भएर मिर्गौला फेल हुने सम्भावना भई मानिस मृत्युको मुखमा पुग्न सक्ने उहाँकाे चेतावनी छ । कतिपय मानिसलाई बिना लक्षण निको हुने गर्छ । त्यस्ता मानिसले अर्को मानिसलाई सार्ने गर्दछन् ।
जोखिम समूह हैजा जुनसुकै उमेर समूहका मानिसमा पनि हुने गर्दछ । तर पाँच वर्ष उमेरका जोखिम बढी हुन्छ । दूषित पानी, खाना खाने मानिसहरु पनि बढी जोखिममा हुने गर्दछन् ।
वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कडा लक्षण देखिने उहाँ बताउनुहुन्छ ।
कस्तो खानेकुरा खाने ?
हैजा भएकाहरुको शरीरमा पानीको मात्रा कम हुने हुँदा प्रशस्त मात्रामा झोलिलो खानेकुरा खुवाउन चिकित्सकको सुझाव छ ।
बिरामीको चाहनाअनुसार सफा र ताजा खानेकुरा खुवाउन डा. चालिसेकाे आग्रह छ । उहाँ भन्नुहुन्छ, “दाल, दही फलफूलको जुस, केराजस्ता खानेकुरा प्रशस्त मात्रामा खुवाउनुपर्छ । अस्पतालमा लैजान नसकेमा घरमा नै जीवनजल बनाएर खुवाउनुपर्छ । जति पानी बाहिर निस्कन्छ त्यतिकै मात्रामा जीवनजल खुवाउनुपर्छ ।”
जीवनजल नपाउने ठाउँमा पाँच गिलास सफा उमालेर चिसो बनाएको पानीमा छ चम्चा चिनी र आधा चम्चा नुन मिसाएर खुवाउनुपर्छ । घरेलु उपचारले पनि निको भएन भने बिरामी बेहोस् होला जस्तो भयो भने, शरीर कमजोर भएमा, पिसाबको मात्रा कम भएमा बिरामीलाई तुरुन्त नजिकैकाे स्वास्थ्य संस्थामा लैजान चिकित्सकको सुझाव छ । झाडापखाला लागेपछि जथाभावी औषधि किनेर नखाने चिकित्सकको सुझाव छ ।
हैजाबाट बच्ने उपाय सफा तथा सुरक्षित पानीको अभाव र व्यक्तिगत सरसफाइको कमीले नै फैलिने गरेको पाइन्छ। समुदायमा पानीको स्रोत साझा हुने र स्रोतमा हैजाको जीवाणु मिसिँदा प्रकोपको रूप लिने गरेको विगतका अनुभवहरूले देखाएको छ । चिकित्सकले हैजाबाट बच्न विभिन्न सुझाव दिने गर्दछन् ।
कसरी सुरक्षित हुन सकिन्छ ?
“सकेसम्म बासी खानेकुरा र फोहोर पानी नखाने, सरसफाइमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिची साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने जस्ता जनस्वास्थ्यका मापदण्ड अपनाउने, त्यस अलावा घरमा कसैलाई हैजा भएमा त्यहाँबाट निस्कने फोहोरलाई राम्रोसँग विसर्जन गर्ने, समुदायमा पानीको मुहान सफा भए नभएको बेलाबेलामा जाँच गर्नुपर्छ ।”
कसरी हुन्छ ?
भिब्रिओ कोलेरा नामक ब्याक्टेरिया मिसिएको पानी वा खाना खाँदा हैजा लाग्छ । यो ब्याक्टेरिया प्रायः फोहोर पानीको स्रोत, काँचो फलफूल, तरकारीलगायतमा भेटिन्छ । त्यसैले पानी शुद्धीकरण गरेर मात्र पिउनुपर्छ, फलफूल राम्ररी पखाल्नुपर्छ र राम्ररी पकाएर मात्रै खाना खानुपर्छ ।
यस ब्याक्टेरियाले उत्पादन गर्ने टक्सिनले सानो आन्द्रामा असर पुर्याउँछ र हैजा लाग्छ । मानिसको शरीरमा प्रवेश गरेपछि यस जीवाणु विकसित हुन एकदेखि दुई दिन लाग्छ । समयमै उपचार नगर्दा हैजाले गम्भीर बनाउन सक्छ र कतिपयको ज्यानै पनि जान्छ ।
लक्षण
- पखाला लाग्ने ।
- वाकवाकी लाग्ने, बान्ता हुने ।
- शरीरमा पानीको मात्रा कम हुने ।
- थकाइ लाग्ने ।
- मुख सुक्खा हुने ।
- पिसाब कम लाग्ने ।
- शरीर शिथिल हुने ।
कसरी बच्ने ?
- साबुनपानीले मिचिमिची हात धुने ।
- राम्ररी पाकेको खानेकुरा मात्र खाने ।
- ताजा खानेकुरा मात्र खाने । बासी, सडेगलेका खानेकुरा नखाने ।
- खानेकुरालाई फोहोरमैलाबाट सुरक्षित राख्ने ।
- तरकारी तथा फलफूल काँचै नखाने, राम्रोसँग पखालेर, पकाएर मात्र खाने ।
- पानी उमालेर अथवा शुद्धीकरण विधि प्रयोग गरेर मात्रै पिउने ।
- घरवरपर सफा राख्ने । फोहोरजन्य वस्तु उचित तरिकाले विसर्जन गर्ने ।
- पखाला लागिरहेमा पुनर्जलीय झोल बनाएर खाने ।
- स्तनपान गराइरहेको शिशुलाई पखाला लागेमा धेरैपटक स्तनपान गराउने ।
- अत्यधिक ज्वरो आउने, दिशामा रगत देखिने, दिनमा पाँचपटकभन्दा बढी पखाला लाग्नेजस्ता जटिल लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जानुपर्छ ।
प्रतिक्रिया