‘एक सुन्दर सहर थियो, पीपल छेउमै वर थियो ।’ न दोष तिम्रो न दोष मेरो दोषी त हाम्रो नजर थियो ।’ यो गजल अहिले पनि निकै लोकप्रिय छ । केही वर्ष पहिले हरेक साहित्य कार्यक्रममा होस् वा साङ्गीतिक कार्यक्रममा यसले मुख्य स्थान पाउने गरेको थियो ।
कैलालीको टीकापुर नगरपालिका वडा नं १ का धीरज शाही ‘त्रिवेणी’को निकै चर्चित गजल मध्यको एक हो । जुनु रिजालको स्वरमा रहेको यो गजल निकै लोकप्रिय छ । गजलका छापामार भनेर चिनिनुभएका धीरजका यस्ता दर्जनौँ गजल छन् । यसले कुनै समयमा आयोजना हुने साहित्य वाचन कार्यक्रममा समेत निकै चर्चा हुने गथ्र्यो ।
अहिले समय निकै परिवर्तन भएको छ । पछिल्लो चार÷पाँच वर्षको अन्तरालमा टीकापुर क्षेत्रमा साहित्य कार्यक्रम हुन सकेका छैनन् । “हामीले कलम चलाउने बेला टीकापुरलाई गजलको राजधानी नै भन्ने गरिन्थ्यो । दैनिक साहित्य सुन्ने र सुनाउने कार्यक्रम हुन्थ्यो । युवामा पनि साहित्यको रस बसिसकेको थियो”, उहाँले भन्नुभयो, “अहिले साहित्य कार्यक्रम शून्य भएका छन् । लेखन पनि हराएको छ । कैयौँ साहित्यप्रति चासो भएका युवा राजधानी केन्द्रित हुँदा पनि साहित्य कार्यक्रमले गति लिन नसकेको हो ।”
देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलले साहित्य क्षेत्रमा साहित्यकारले जागर चलाउनै छोडेको बताउनुभयो । साहित्यमा रुचि भएका युवा प्रायःबाहिर पलायन हुनु र पुराना साहित्यकारले जागर चलाउन छोड्नुले पनि साहित्य गतिविधिमा कमि आएको अध्यक्ष रावल बताउनुहुन्छ । “समय सधै एकैनासको नहुदोरहेछ । कुनैबेला कार्यक्रममा भ्याइनभ्याइ हुन्थ्यो । अहिले कार्यक्रम खोज्नुपर्ने अवस्था छ”, उहाँ ले भन्नुहुन्छ, “नयाँ पुस्तामा रुचि नहुनु, बीचको पुस्ता पलायन हुनु र पुरानो पुस्ताले जागर नचलाउनुले साहित्य क्षेत्र ओझेलमा पर्ने सम्भावना बढेको छ ।”
कैलालीको लम्कीमा रहेको अक्षर साहित्य प्रतिष्ठानले स्रष्टा आँगन तथा सम्मान कार्यक्रम गर्दै आएको थियो । महिनाको एक दिन स्रष्टाकै आँगनमा साहित्य कार्यक्रम आयोजना गर्ने र सम्मान कार्यक्रम गर्दै आएको प्रतिष्ठानले अहिले त्यसलाई निरन्तरता दिन सकेको छैन ।
आर्थिक अभावका कारण कार्यक्रमलाई निरन्तरता दिन नसकिएको प्रतिष्ठानका अध्यक्ष धनराज अविरल बताउनुहुन्छ । “कार्यक्रम खर्चिलो हुन थाल्यो । आफैँले पैसा सङ्कलन गरेर कार्यक्रम सञ्चालन गर्नसक्ने अवस्था रहेन”, उहाँ भन्नुहुन्छ, “कार्यक्रमका लागि आर्थिक जोहो नभएकै कारण निरन्तरता दिन सकिएको छैन । सहयोग कतैबाट पाइँदैन । आफ्नो खर्चले धेरै दिन धान्न सकिएन ।” सरकारले पनि कला र साहित्यलाई त्यति सकारात्मकरुपमा लिन नसकेको बताउँदै अविरलले युवा पनि साहित्यबाट विलय हुँदै गएको बताउनुभयो । धेरै युवा साहित्यकार विस्थापितको बाटोमा पुगेको उहाँको भनाइ छ ।
शिक्षक तथा साहित्यकार कान्तिप्रसाद ज्ञवालीले पुरानाले नयाँलाई साहित्य संस्था हस्तान्तरण गर्न नसक्नु पनि साहित्य क्षेत्रका गतिविधिमा कमी आउनुको मुख्य कारण भएको बताउनुहुन्छ । कार्यक्रममा पनि नयाँ स्रष्टालाई सहभागी गराउन नसक्नु अर्को कमजोरी भएको जनाउँदै उहाँले यहीँ अवस्था रहे भोलि स्थानीयस्तरमा साहित्यकार खोज्नुपर्ने बेला आउनसक्ने जनाउनुभयो । “कार्यक्रम हुन्थ्यो । रेडियो पत्रपत्रिकाबाट साहित्य कार्यक्रम सुन्न र पढ्न पाइन्थ्यो । अहिले त्यो पनि हरायो”, उहाँ भन्नुहुन्छ, “कोरोना सङ्क्रमण फैलिएपछि अलिअलि हुने कार्यक्रम पनि शून्य भए । साहित्यकारको जमघट हुन छोड्यो ।”
युवा साहित्यकार अवसरको खोजी गर्दै बाहिर पलायन हुनु र आर्थिक जोहो हुन नसकेकै कारण साहित्य कार्यक्रम सुस्ताएको युवा साहित्यकार बाबु देवकोटा बताउनुहुन्छ । “खल्तीबाटै खर्च गरेर सधैँ कार्यक्रम गर्न सकिँदैन । सहयोग गर्ने निकायले पनि आफू अनुकूलका संस्थालाई सहयोग दिनु, त्यो बजेट औपचारिकतामै सीमित हुनुले पनि साहित्यिक माहोल सुस्ताएको छ”, उहाँ भन्नुहुन्छ, “यस्तै अवस्था रहे साहित्य क्षेत्र निकै ओझेलमा पर्छ भन्ने चाहिँ छ । हिजो दैनिक दुईतीन वटा रचना सम्पादन हुन्थ्यो भने अहिले वर्ष पुग्यो ध्यान पनि त्यसतर्फ छैन ।
प्रतिक्रिया