×

निदाउँदैनन् यि रातहरु

images

म त सुतेकै हुन्छु यि रातहरु पो कहिल्यै निदाउँदैनन्
त्यसैले म पनि घमण्ड गरेरै जागै बसिदिन्छु।

म ननिदाउनुको कारण छ
रातलाई निदाउन नदिनुको कारण छ।
एक्लै हुनुको कारण छ ।
रुनुको पनि कारण छ ।
हरेक-हरेक क्षणको अनेक कारण हुँदा पनि
अपवादमा सोधिनेहरुको लागि बताउन नसक्नुको 
पूर्णविराम छ।

मलाई रातहरु सङ्ग जोडिएको सुनसान, एकान्त र अँध्यारो मन पर्छ।
म रात सङ्ग प्रतिस्पर्धा गर्दै सोच्ने गर्छु,
यी रातमा देखिएको सपना भन्दा बिपनीमा देखिएको सपना कतिऔं गुणाले ठूलो होला ? 
की सानो होला?
कतिको महङ्गो होला या मूल्य नै नहोला?
एक पछि अनेक...............!

धेरै समय बन्द कोठा भित्र नै स्थिर रहे !
अनकन्टार ठाउँमा कतै मसिनो धुन सुने झै
कसैले वेदनाको आवाज दिए झै
बन्द रहेका ढोकामा ड्याक ड्याक कसैले सङ्केत गरे झै।

मलाई सम्जिनेहरु एक पछि अनेक सोचिरहेछन्
की आत्महत्या गरी उनले? 
कि अपराधी पो हुन्?
किन चुपचाप बसिरहेछन्??
जसले जुन प्रकारले मलाई हेर्छौं 
म त्यसै अनुरूपको आकार बनिदिने मात्र न हूँ।
कालो,गोरो, अग्लो, होचो, छुच्चो, शालीन, नोकर अथवा मालिक।
अरू पनि............
राम्रो भन्दैमा कसैसँग प्रशंसायोग्य सुहाउने छैन मलाई
नराम्रो भन्दैमा कसैसँग गुनासो पनि छैन
एउटै मात्र गुनासो छ यो अन्धेरी सङ्ग
मैले गरेका हरेक प्रस्तावहरु इन्कार नगरिदेऊ
बस् तिमीले दिएका हरेक गल्तीहरूको सजाय स्वीकार्य हुने छ।

के छ? भनि सोध्नु हुन्छ मलाई घरी घरी
दिनमा हाँस्छु रातमा उस्तै रुन्छु धरा धरी
म नि चुप छु तपाई पनि उस्तै रहे जाति
दुबै जना नबोलेसी हिसाब बराबरी

सपनाहरु झस्काई रहन्छन्
अँध्यारोले निदाउन दिँदैनन्
अनगिन्ती विषयहरू उद्देश्य विहीन रहेछन्
बिना नतिजाका परिक्षाहरु दिन बाध्य भएछन्
हरेक विषयको उत्तीर्णाङ्क जोडेर
पूर्णाङ्क निकाल्न बाँकी नै रहेछन्
के सम्भव होला र म बाट?
हरेक बखतमा अनेक अर्थ
अनि बेर्थका सोचाइले डुबुल्की मारिरहन्छन्
यी अनिँदो रहेका रातहरुमा
कहिले काँही त लाग्छ आवश्यकता भन्दा बढी मनन् गरेउ की ?
वा अझै पुगेन ?
सोच्नेहरुमा पनि धेरै सोचिरहने म एक उदाहरणिय पात्र हूँ।

समयको सङ्केत दिइरहेका भित्तामा स्थिर निर्जीव वस्तु झै देखिने,
आफ्नो गन्तव्यमा लम्किरहेका ती भित्ते घडी,,,,
जसरी झट्ट हेर्दा निर्जीव र स्थिर देखिको हुन्छ 
वास्तवमा उ त्यस्तो थिएन
हरेक समय दिन र रातलाई परिवर्तन
गरिरहने उसको जिम्मेवारी थियो।
यही नै त होला उसको गहन उद्देश्य
र त त्यसरी फन्को मारिरहन्छन् ।।

यसरी समय र सपनाहरु बीच अधेरीमा
मौनताको अन्तर्क्रिया पछि फेरि सोचे 
आफ्नो उद्देश्यमा पुग्नु छ भने विश्राम नलिउँ
जसरी भित्ते घडीले संसार बदल्छ
त्यसरी नै समयले मलाई बदल्ने छ।

....अनि फेरि दिनको सुरुवात


शृङ्गारिएको रातसङ्ग गरिएका बातहरु
दिनको वियोग सम्जी सधै निदाउँदैनन् रातहरु ।

             - प्रशंसा तामाङ`ज्ञानी'✍️

मङ्गलबार १५ चैत २०७८ ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया