×

मुक्ति सङ्घर्षको गाथा दीनाभद्रीको लोकगाथा लोप हुँदै

images

जनकपुर- संरक्षणको आभावमा मिथिला क्षेत्रको विभूति दीनाभद्रीको लोकगाथा लोप हुन थालेको छ । सरकारी उदासिनता र उपेक्षाको कारण मिथिला क्षेत्रको धरोहर दिनाभद्रीको लोकगाथा लोप हुन लागेको भन्दै मैथिलीकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

मिथिला क्षेत्रमा दीनाभद्री (मुसहर) दाजुभाइको लोकगाथा जनजनमा अति चर्चित रहेपनि आवश्यक संरक्षणको आभावमा इतिहास मर्न लागेको उहाँहरुको गुनासो छ । शोसक सामन्तविरुद्ध कठोर सङ्घर्ष गरेका मुसहर समुदायका दाजुभाइ दीनाभद्रीको लोकगाथा गायन लोप हुन थालेको भन्दै मैथिलीकर्मीहरुले यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । 

दिनाभद्रीको जन्म, मृत्यु संस्कार एवं विभिन्न घटनासँग सम्बन्धितस्थलको विषयमा आवश्यक अध्ययन, अनुसन्धान एवं अभिलेखीकरण हुन नसक्दा पहिचान नै लोप हुने अवस्थामा पुगेको मैथिलीकर्मी श्यामसुन्दर यादवले बताउनुभयो । सप्तरी जिल्लाको जोगिया जाँजर गाउँका कालु सदा र आमा नीरसोको कोखबाट जन्मिएका दुई दाजुभाई दीना र भद्री अन्याय, अत्याचार र शोषण दमनविरुद्ध सङ्घर्ष गरेकै कारण मिथिला क्षेत्रका हरेक समुदायका बीच लोक देवताको रुपमा पूजित छन् । नेपालको सप्तरी, सिरहा, सुनसरी, मोरङग, झापासहित जिल्लाका विभिन्न गाउँमा मुसहर जातिको बसोबास रहेका छन् । 

 दीनाभद्रीसँग सम्बन्धित स्थलको केही वर्षअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँले छायाङ्कन गरेर केही पाठ्यसामग्री प्रकाशन गरेपनि त्यसयता संरक्षणका लागि कुनै ठोस कार्य हुन नसकेको यादवको भनाइ छ । दिनाभद्रीको जन्मस्थान सप्तरीको बोदे बसाइन नगरपालिकाको जोगियाँ जाँजरमा उहाँहरु कुस्ती भिडेको स्थान (अखडा) अझै रहेका छन् भन्ने उहाँहरु मारिएको स्थान कटैयामा दिनाभद्रीको मन्दिर बनाएर पूजाआजा गर्दै आएका छन् ।

“दीनाभद्रीसँग सम्बन्धित लोकगाथा (महराइ) को छायाङ्कन भइसकेको छ”, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँका पूर्वसदस्य रमेश रञ्जनले भन्नुभयो, “आफूहरु प्रतिष्ठानमा हुदाँ दिनाभद्रीको लोकगाथा गायक सातैन रामको गायनको पनि छायाङ्कन भइसकेको र त्यही आधारमा पुस्तक पनि प्रकाशन गरेका छौँ ।” प्रकाशन भएको पाठ्यसामग्री लुम्बिनी संस्कृति विश्वविद्यालयमा अध्ययन अध्यापन भइरहेको उहाँको भनाइ छ । 

 प्रतिष्ठानले ‘मिथिला लोक विभूति दीनाभद्री गाथाको सन्दर्भमा मिथिला क्षेत्रका विद्धान्को बिचमा अन्तरक्रिया चलाएको थियो । ‘‘तर पछिल्लो केही समययता न त दीनाभद्रीको गाथाको बारेमा चर्चा हुन सकेको छ न त राज्यको तर्फबाट संरक्षणको कुनै पहल नै हुन सकेको छ”, प्रतिष्ठानका पूर्वसदस्य रञ्जनले भन्नुभयो, ‘‘जसका कारण दीनाभद्रीको लोकगाथा लोप हुन सक्ने सम्भावना छ ।” भावी पुस्तामा दीनाभद्री लोकगाथाबारे अनभिज्ञ हुन सक्ने उहाँको चिन्ता छ ।

बाल्यकालदेखि नै दुवै दाजु–भाइ बीर एवम् साहसी थिए । कुस्ती खेल्नमा सिपालु रहनुका साथै सामाजिक न्यायका सच्चा पहरेदारको रुपमा प्रस्तुत भएका कारण उहाँहरुको वीरताको चर्चा त्यतिबेला जनजनमा चलेको इतिहासविद् डा पिताम्बरलाल यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “लोकगाथामा उल्लेख भएअनुसार दाजु दीना र भाइ भद्रीले पाँच मनको कोदालो चलाउने गर्दथे, दुवै दाजु भाइ सामन्ती प्रथाका कट्टर विरोधी थिए ।” 

गिरहत (मालिक)को ‘जी हजुरी’ नगरी स्वतन्त्र रुपमा मजदुरी गर्नका लागि मुसहर समुदायलाई प्रेरित गर्ने काम गर्ने गरेको पाइएको उहाँको भनाइ छ । मजदुरमाथि दमन शोषण गर्ने वा काम गराएर ज्याला नदिनेविरुद्ध जाइ लाग्ने गरेका कारण उत्पीडित समुदाय जागरुक हुँदै अन्याय, अत्याचारविरुद्ध जुटेको इतिहासविद् डा यादवको भाइ छ ।

दीना र भद्रीको विवाह सप्तरीको बरहा गाउँका फुकन सदाकी छोरी हंसा र संझासँग भएको थियो । दाजुभाइ मारिएको ठाउँलाई मरौटी, मारिएपछि उठाएर राखिएको ठाउँलाई रखौटी र हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको ठाउँलाई जरौटी भन्ने गरिन्छ । कहीँ कतै अन्याय अत्याचार भएपछि अहिले पनि दीनाभद्री दाजुभाइलाई सम्झिने गरिन्छ ।

दीनाभद्रीको जन्मको विषयमा कतै ठोस किटान भएको पाइँदैन । यद्यपि उहाँहरु राजा सलहेशका समकालीन हुन् भन्ने अनुमान गरिन्छ । विभिन्न ऐतिहासिक तथ्य एवं लोकगाथामा उल्लेख भएका विषयवस्तु, घटना, परिवेश तथा उल्लेखित गतिविधिका आधारमा दुवै दाजुभाइ मध्यकालीन भएको सहज रुपमा अनुमान गर्न सकिन्छ ।

शोषण, दमन, अन्याय अत्याचारविरुद्ध चालेका साहसिक कदम तथा क्रियालापका कारण आज पनि दीना–भद्री मधेसमा देवताको रुपमा पूजित छन् । सप्तरी, सिरहालगायत मधेसका जिल्लामा देवीदेवताको पूजा गर्ने बेलामा दीना–भद्रीको पूजाको अनिवार्य हुने गरेको दलित अगुवा गङ्गा सदाले बताउनुभयो । 

दीनाभद्रीको मृत्युको विषयमा दुई मत रहेको पाइन्छ । पहिलो मतानुसार बुधनी धमियाइनले उहाँहरुलाई जादु टोनागरी सप्तरीको कटैया जङ्गलमा मार्न लगाइन् । त्यसपछि दीनाभद्रीका आमा निरसोले बघेश्वरी भगवतीलाई पूजा गरी खुसी पारेर धमियाइनलाई पनि मार्न लगाइएको बताइएको छ । मुसहर समुदाय अहिले पनि गीत गाउँदा उक्त घटना सम्झिने गरेको सदाको कथन छ ।

दीनाभद्री आफ्नो मामा बहोरनलाई साथमा लिएर सिकार खेल्नका लागि कटैया जङ्गलतिर गएको र वनभित्र पुगेपछि एउटा पोटरा (खास प्रकारको बँदेल) अगाडि आएको देखेपछि भदरीले धनुवाण चलाएर त्यसलाई त्यही मारी दिए तर राजा सलहेसले पुनः जीवन दिएको र त्यही जीवित बंँदेलले दीना–भदरीलाई घाइते पारी मारी दिएको अर्काे मत छ । जोगिया जाँजरदेखि पूर्वतिरको गाउँ नेंंगरा बैरियाका जीवन सदाले दुवै मृतकको क्रियाकर्म गरेको लोकगाथामा उल्लेख छ ।

शोषण, दमन र अत्याचारविरुद्ध कठोर सङ्घर्ष गरेका दीना–भद्री स्थलको संरक्षण सम्वद्र्धन गरिए अध्ययन–अनुसन्धानको थलो बन्न सक्ने निश्चित छ । तर यसप्रति सरकारको हालसम्म ध्यानाकर्षण हुन नसकेको स्थानीयवासीको गुनासो छ । दीनाभद्रीको कठोर सङ्घर्षको सम्मान गर्दै राज्यले राष्ट्रिय विभूती घोषणा गर्नुका साथै हुलाक टिकट प्रकाशनमा ल्याउनुका साथै दीनाभद्री क्षेत्रको संरक्षण सम्वद्र्धन गरी पर्यटकीय तथा अध्ययनअनुसन्धान केन्द्रको रुपमा विकास गर्नु आवश्यक रहेको यहाँका बुद्धिजीवीहरु बताउँछन् । 

बुधबार ९ चैत २०७८ ०३:३७ PM मा प्रकाशित

प्रतिक्रिया