×

देशका मुख्य शहरहरूमा वायु प्रदूषण उच्च, सतर्कता अपनाउन विज्ञहरूको सुझाव

images

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका मुख्य शहरहरूमा विगत केही दिनदेखि वायु प्रदूषण बढ्दै गएको छ ।

काठमाडौं विश्वकै प्रदूषित शहर बनेको छ । ललितपुर, दाङ, तुलसीपुर, कीर्तिपुर, भक्तपुरलगायतका स्थनमा पनि उच्च वायु प्रदूषण । वायु प्रदूषणकै कारण घरबाहिर निस्कँदा आँखा पोल्ने, चिलाउने, छालामा एलर्जी हुने, घाँटी खसखस गर्ने, खोकी लाग्नेजस्ता समस्या उत्पन्न भएर अस्पतालमा जचाउँन जाने संख्या पनि बढ्न थालेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका (डब्ल्युएचओ) अनुसार एक्यूआई ५० भन्दा बढी रहेमा मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर उपत्यकामा एक्यूआइमा १९२ देखाएको छ । यो मापन झन्डै चार गुणा बढी हो । वातावरण तथा घरेलु वायु प्रदूषणका कारण प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु भइरहेको डब्लूएचओको तथ्याङ्क छ । वायु प्रदूषणले छाला, श्वासप्रश्वाससम्बन्धी, आँखालगायतमा बढी असर गर्ने स्वास्थ्यकर्मीको भनाइ छ । प्रदूषणले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ

विभिन्न रोगबाट पीडित भएका मानिसलाई प्रदूषणले अन्यभन्दा बढी असर गर्ने विशेषज्ञको भनाइ छ । बालबालिका लामो समयसम्म प्रदूषणको सम्पर्कमा भए उनीहरूको उमेर अनुसार तौल नबढ्ने समस्या हुन्छ । त्यसै गरी, रगतमा अक्सिजनको मात्र घट्दै जाने, तौल नबढ्ने, रोग प्रतिरोधात्मक क्षमता कम हुने जस्ता समस्या उत्पन्न हुन्छन् । जोखिमबाट जोगिन एन्फ्लुएन्जा र निमोनियाविरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरूको सुझाव रहेको छ ।

वायु प्रदूषणले दमलगायतका श्वासप्रश्वाससम्बन्धी समस्या भएकालाई थप जटिलता बढ्ने छ । प्रदूषणले लगभग सबै उमेर समूहलाई असर पुर्‍याउने गर्छ । तर विशेष गरी, पाँच वर्षमुनिका बालबालिका, वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बढी जोखिममा हुने स्वास्थ्यविद्हरू बताउँछन् ।

वायु प्रदूषणबाट जोगिन आफ्नो कार्यालय, घर वरिपरि सफा राख्ने, घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्ने र सरकारी स्तरबाट पनि प्रदूषण नियन्त्रण गर्न विभिन्न कार्य गर्नुपर्ने विज्ञको सुझाव छ ।

बिहीबार ७ बैशाख २०८० १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया