×

बानेश्वर क्षेत्रको वाग्मती किनारबाट साढे चार मेट्रिक टन फोहर व्यवस्थापन

images

काठमाडौँ महानगरपालिका–३१ बानेश्वर बहुमुखी क्याम्पसअघिको वाग्मती नदी क्षेत्रबाट साढे चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४७५औँ हप्ताका अवसरमा आज बानेश्वर बहुमुखी क्याम्पसअघि भएको सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, समितिका सञ्चालक सदस्य दिव्य घिमिरे, काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख सरिता राई, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, सिभिल क्यापिटल मर्चेन्ट लिमिटेड, स्थानीयवासी, आलोकनगर समुदाय, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी एवं वाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो । 

सफाइ कार्यक्रमसँगै त्यस क्षेत्रमा चेतना अभिवृद्धिका लागि घरदैलो कार्यक्रम पनि गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । आजको सफाइका क्रममा वाग्मती सफाइ अभियानकर्मी आनन्द नेपालीको जन्मदिनको उपलक्ष्यमा वाग्मती नदी किनारमा पीपल, रुद्राक्षको वृक्ष वृक्षरोपण गरिएको थियो ।   

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ ।

अभियानकर्मीको सक्रियतामा देशव्यापीरूपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको भने हुनुपर्ने जति सहयोग भएको छैन । फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा करिब तीन महिनासम्म थुप्रिएको फोहर बल्ल उठाइँदै छ । सांस्कृतिक सहरका रूपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ ।

यसैगरी पर्यटकीय सहर पोखरामा समेत केही समय फोहर उठेन । स्थानीय सरकार भने मौन बसेका छन् । फोहर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित भएका छन् । काठमाडौँ उपत्यकामा नदी किनार र पोखरामा तालका किनारमा फोहर फाल्न थाल्दासमेत स्थानीय सरकार मूकदर्शक बन्ने गरेका हुन् ।

स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएर मत परिणाम आइसकेको अवस्थामा राजधानी काठमाडौँमा फोहर व्यवस्थापनको विषयमा बहस चलेको छ । यसअघि सबै दलले जारी गरेको घोषणापत्रमा फोहर व्यवस्थापनलाई मुख्य बुँदाका रूपमा उठाएका छन् । निर्वाचन जितेपछि भने यसलाई बिर्सने गरेकाले समस्या आउने गरेको अभियानकर्मी कञ्चन राउत बताउनुहुन्छ । यसपटक फोहर व्यवस्थापन स्थानीय सरकारको प्राथमिकतामा पार्न निरन्तर खबरदारी गर्नुपर्ने उहाँले बताउनुभयो ।

शनिबार ४ असार २०७९ ०९:५९ PM मा प्रकाशित

प्रतिक्रिया