×

बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

images


तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल अधिकृत ९आठौँ तह० दुवै अध्ययनमा रहेकाले गाउँपालिकाले मन्त्रालयसँग चिकित्सक माग गरेको हो ।

अस्पतालमा हाल करारमा कार्यरत चिकित्सकहरूको पनि सेवा समाप्त हुने अवधि नजिक रहेकाले दैनिक स्वास्थ्य सेवा प्रवाहमा अप्ठ्यारो परेको गाउँपालिकाका अध्यक्ष अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । “अस्पतालमा चिकित्सक अभाव र स्वास्थ्य सेवा प्रवाहमै समस्या आउने भएपछि स्वास्थ्य सचिवलाई भेटी चिकित्सकको माग गरेका हौँ”, उहाँले भन्नुभयो । 

अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टसहित छ मेडिकल अधिकृतको दरबन्दी रहेकामा अस्पताल लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्टविहीन छ । दुई जना मेडिकल अधिकृत छात्रवृत्तिमा अध्ययनका लागि बिदामा छन् । हाल तीन मेडिकल अधिकृत कार्यरत छन् ।

छात्रवृत्तिका लागि गएका दुई चिकित्सकको दरबन्दी प्रदेशमा स्थानान्तरण गरी दुई चिकित्सक नियुक्तिका लागि मन्त्रालयसँग अनुरोध गरिएको अस्पताल व्यवस्थापन समितिका थापाले बताउनुभयो । “अस्पतालबाट सबै विवरणसहित पत्र लेखेर मन्त्रालयमा पठाएपछि उनीहरूलाई प्रदेशमा स्थानान्तरणका लागि सहयोग गर्ने स्वास्थ्य सचिवबाट प्रतिबद्धता आएको छ, त्यसपछि त्यस ठाउँमा अर्को चिकित्सक नियुक्ति हुनेछ”, उहाँले भन्नुभयो ।

विसं २०२२ मा स्थापना भएको बन्दीपुर अस्पतालका भवन जीर्ण भएकाले भवन निर्माणका लागि बजेट विनियोजन गरिदिन पनि मन्त्रालयसँग माग गरिएको छ । विसं २०७२ को भूकम्पका कारण पनि भवनमा थप क्षति भएकाले सेवा प्रवाहका कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । “स्थापनाकालदेखि निर्मित भवनबाट नै हालसम्म सेवा सञ्चालन भइरहेको र भवन जीर्ण भइसकेको अवस्था छ, नयाँ भवन निर्माण गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

यस्तै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रसँग क्षयरोगी पहिचानका लागि जेनेक्सपर्ट उपकरण माग गरिएको छ । बन्दीपुर अस्पतालमा क्षयरोगीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको र बन्दीपुरमै डिआर होम सञ्चालनमा रहेकाले क्षयरोगी पहिचानका लागि उक्त उपकरण आवश्यक भएको जनाइएको छ । बन्दीपुर अस्पतालमा तनहुँका अतिरिक्त गोरखा, लमजुङबाट पनि क्षयरोगी उपचारका लागि आउने गरेका छन् । 

मृतकका परिवारलाई राहत

 स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो ।

कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ जनाका परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणापत्र २०७८ बमोजिम राहत प्रदान गरिएको उहाँले बताउनुभयो । 

कार्यालयले जिल्लाका १० वटै पालिकामार्फत कोरोनाबाट मृत्यु हुनेको विवरणसहित निवेदन माग गरेको थियो । उहाँका अनुसार अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई मात्रै राहत रकम वितरण गरिएको छ । “कार्यविधिअनुसार अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारले मात्र आर्थिक सहायता दिइएको छ, होमआइसोलेशनमा मृत्यु भएकाले रकम पाउँदैनन्”, उहाँले भन्नुभयो । 

आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेश गर्नुपर्ने प्रावधान थियो ।

आर्थिक राहत लिनका लागि १६९ जनाका परिवारले निवेदन दिए पनि अन्यको कागजात नमिलेका कारण राहत प्रदान गर्न नसकिएको कार्यालयले जनाएको छ । “कागजात नमिलेका कारण अन्यलाई राहत दिन सकेका छैनाँै, तनहुँ ठेगाना भई एक जना विदेशमा मृत्यु भएकाका परिवार र प्रक्रिया पुगेका दुई जनालाई पनि राहत रकम वितरण गर्न बाँकी छ”, कार्यालय प्रमुख अधिकारीले भन्नुभयो । 

प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएकाका परिवारलाई राहत रकम दिए पनि जिल्लाका पालिकाले पनि राहत रकम वितरण गरेका थिए । विभिन्न पालिकाले आफ्ना पालिकाभित्रका नागरिकको परिवारलाई राहत रकम प्रदान गरेका थिए । तनहुँमा कोभिड–१९ बाट १६१ जनाको मृत्यु भएको छ । त्यसमध्ये ६४ महिला र ९७ पुरुष छन् । 

आइतबार​ १ साउन २०७९ ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया