काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाबारे भ्रम फैलाइएको भन्दै उनले ‘केवल कागजमा मात्र देखिने नाफा नभएको’ दाबी गरेका छन्। शुक्रवार आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेर उनले प्राधिकरणको आम्दानी र खर्चसहितको विवरण सार्वजनिक गरेका हुन्।
अहिले प्राधिकरण सरकार र संसदीय समितिसँग डेडिकेटेड र ट्रङ्क लाइन शुल्कको विवादमा घेरिएको छ। बिहीबार मात्र प्राधिकरणले सार्वजनिक लेखा समितिमा डेडिकेटेड र ट्रङ्क लाइनका सबै कागजपत्र पठाएको थियो। उनले प्राधिकरण बैंकक्रप्ट हुने अवस्थामा छ भन्दै भ्रम फैलाएको दाबी गरे। उनले अहिले प्राधिकरण ४७ अर्ब सञ्चित नाफामा रहेको र यो पुर्याउँदा करिब ८२ अर्ब नाफा देखिएको दाबी गरे।
‘यो त्यतिकै नाफा भएको हैन। डेडिकेटेड ट्रङ्क लाइनको बिलको पनि केही अंश होला। तर सबै हैन। महालेखा परीक्षकबाट हरेक वर्ष गरेको अडिटबाट आएको विवरण झुटो त नहोला’ उनले भने।
उनले तीन पटक गरेर २५ प्रतिशत महसुल घटाउँदा पनि प्राधिकरण नाफामै रहेको बताए। ५९ लाख ग्राहक रहेकोमा २२ लाख ग्राहकलाई ३० रुपैंया प्रतियुनिट शुल्कमा विद्युत् उपलब्ध गराएको, । सिचाइमा प्रति युनिट दुई रुपैंया शुल्क लिइरहे पनि प्राधिकरण नाफामै रहेको बताए।
१० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गरेर सङ्कलित रकम ठुला विद्युतीय योजनामा लगानी गर्ने तयारीमा रहेको र सहायक कम्पनीहरूमा समेत ५६ अर्ब लगानी गरेको उनले बताए। ‘प्राधिकरणको नाफा कुनै कागजी नाफा हैन’ उनले पत्रकार सम्मेलनमा बारम्बार भने।
उनले भने,‘आर्थिक वर्ष २०७२/०७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्शानीमा रहेको प्राधिकरणले त्यसपछिको तीन वर्षमा ती दिन फर्केर हेर्नुपरेको छैन । आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले सुरु गरेको गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४६ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । तर पछिल्लो समय धेरै ठाउँमा विद्युत प्राधिकरणको नाफा कागजी नाफा हो । विद्युत प्राधिकरणले नाफा देखाउनलाई डेडिकेटेड र ट्रंक लाइन विद्युत्को महशुलको विल गरेर नाफा देखायो भन्ने गरिएको छ । विद्युत प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई माइनस वा पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्याउँदा करिव ८२ अर्बको नाफा देखिएको छ । ८२ अर्बको नाफा त्यत्तिकै भएको छैन । त्यो नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले भएको होइन ।'
उनले तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजश्व बढाउन, प्रशारण तथा वितरण लाइन र सबस्टेसन बिस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको दाबी गरे ।
उनले तीन वर्षअघि विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै रहेकोमा तीन वर्षको अवधिमा ९९ प्रतिशत पुगेको बताए । उनले अहिले ५९ लाख ३५ हजार ग्राहक पुगेको बताए । प्राधिकरणले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अगाडि बढी सकेको उनले बताए ।
कार्यकारी निर्देशक घिसिङले अब देश छिट्टै पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको बताए । उनले विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी भएको भन्दै सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहर लगायत विपन्न वर्गका घर परिवारहरुमा विद्युत् पुर्याउन निशुल्क मिटर समेत वितरण गरिएको बताए ।
धेरै ठाउँमा विद्युत् प्राधिकरणले फर्जी नाफा देखायो, डेडिकेटेड र ट्रंक लाइनको बिललाई जोडेर देखाइयो भनेकोमा दुःख व्यक्त गर्दै कार्यकारी निर्देशक घिसिङले यसो नभएको दोहोर्याए । तथापि, डेडिकेटेड र ट्रंक लाइनकोे केही बिलको अंश परेपनि अरु नाफा व्यवसाय विस्तारबाटै भएको उनले दाबी गरे ।
‘यो सबै हिसाब महालेखा परीक्षकले गरेको अडिटबाट आएको हो । यसलाई कसरी गलत भन्ने ?’ घिसिङले भने । गएका वर्षमा तीन तीन पटक गरी विद्युत् महसुल २५ प्रतिशतले घटाइए पनि प्राधिकरणको नाफा बढेको उनको भनाइ छ ।
प्रतिक्रिया