×

अङ्ग्रेजी भाषालाई नेपालकाे संविधानले चिनेकाे छैन, चाहिने भन्दा बढी ठाउँ दिइयाे : डा. अवस्थी

images

भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाली भाषामा विकृति फैलिनुमा सञ्चारमाध्यम दोषी नरहेको दाबी गर्नुभएको छ । 

आज बुधवार आयोगले आयोजना गरेको सञ्चारमाध्यममा भाषा प्रयोगको अवस्था र भावी चिन्तनका सन्दर्भमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष अवस्थीले यस्तो बताउनुभएको हो । सञ्चारमाध्यमलाई आवश्यक मानक दिन नसक्दा कतिपय ठाउँमा भने त्रुटि भइरहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले रेडियो, पत्रपत्रिका र टेलिभिजनमा समाचारका शीर्षकहरू अङ्ग्रेजीमा राख्नुको औचित्य नरहेको पनि बताउनुभयो । 

अध्यक्ष अवस्थीले अंग्रेजी भाषालाई नेपालको संविधानले नचिनेको भन्दै आवश्यकभन्दा बढी स्थान दिइएकाे गुनासाे गर्नुभयाे । उहाँले सरकारले भाषा र सञ्चारलाई सम्मान गर्न नसकेको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सञ्चार जगतले भाषा बिगारेको छ भन्छौँ, सञ्चार जगत भनको विद्यालय, विश्वविद्यालय, समाजको मानक हो तर हामीले सञ्चार जगतका लागि चाहिने मानक दिन सकेका छैनौँ । अहिले भइरहेको प्रयासले पुगेको छैन । भाषाको प्रयोग र सञ्चारको तागतका बारेमा अझै पनि सरकार बेखबर छ । सरकारले भाषालाई सम्मान गर्न सकेको छैन ।

नेपाली भाषा लगायतका नेपाल उत्पत्तिका भाषाहरू ओझेलमा पर्दै जाने । आयातित भाषा, खास गरेर अङ्ग्रेजीले स्थान लिने कुरा हाम्रा लागि अफ्ठ्यारो देखिन्छ । अङ्ग्रेजीले प्रयोग र विश्वव्यापी सम्पर्कको हिसाबले आफ्नो ठाउँ ग्रहण गर्‍याे, त्यसमा कुनै आपत्ति भएन । तर त्यसलाई हामीले कहिलेकाहीँ अलि बढी स्थान दियाैँ कि भन्ने हाे । आफ्नो भाषालाई कम आँकलन गर्ने, आयातित भाषालाई बढी स्थान दिएको हो कि भन्ने अनुभूति भएको छ । भाषामा सरकार उदासीन हुनु भनेको दुःख लाग्दो कुरा हो ।’

भाषा एउटाको विकल्पमा अर्को आउने कुरा नहुने उल्लेख गर्दै अध्यक्ष अवस्थीले नेपाली भाषालाई एउटै र शुद्ध बनाएर अघि लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले भाषाको निरन्तरता र भाषाको जीवन समायोजन भएपछि मात्रै नेपाली भाषा सहीरूपमा अघि बढ्नसक्ने उल्लेख गर्नुभयो । 

बुधबार २२ असार २०७९ ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया