डार्बिन !
नबुझेरै घोक्थे लेघ्रो तानी तानी
तिमीले प्रतिपादन गरेको सिद्धान्त
“सर्भाइवल अफ द फिटेस्ट”
रट्दा रमाइलो मान्थ्यो मन
“स्ट्रगल फर एक्जिस्टेन्स”
पूर्णाङ्क पनि आउँथ्योे परीक्षामा
बालक जो थिए
पढेर कागजमा अक्षर उतारिदिए पुग्थ्यो उतिखेर ।
स्टेप स्टेपमा फिट हुँदै
सिद्धान्त कण्ठस्थ पारेजस्तो
कहाँ सजिलो हुँदोरहेछ र बाँच्न डार्बिन !
थाहा छैन
कसरी नाघ्यौ तिमीले समयका जङ्गे पिलरहरु
कि गालापागोस टापुमा रामराज्य थियो ?
कसरी गर्यौ प्रतिकूलता विरुद्ध संघर्ष
र रच्यौ अस्तित्वको सार्थक विज्ञान ?
थाहा छ तिमीलाई ?
कठिन छ कठिन यहाँ
पापको विपक्षमा धर्म बाँच्न
अग्रगमनको पैरवीमा इमान साँच्न
फूलजस्ता छद्म काँडाहरुले घोचेका
उकुच घाउ–पीडा सहँदै
हर पाइलामा फिट हुन गाह्रो छ डार्बिन !
र पनि
ननाघी इमानको परिधि
नलेखी पेदू इतिहास
नभई हतोत्साही
तिमीले सिर्जेको वाद समातेर
गर्नु नै छ अस्तित्वको लागि संघर्ष
छेल्दै शकुनी पासाहरु
झेल्दै ककोफोनी आतंक
जसरी पनि जित्नुछ अस्तित्वको लडाई
तिमीले प्रतिपादन गरेको सिद्धान्तको लयमा
जीउनुछ धीत परुन्जेल
जीवन सकिएपछि सकिन बाँकी अर्को जीन्दगी हुँदैन
वित्थामा लेखिनु हुँदैन सुसाइड नोट
खानुहुँदैन हरेसको हेमलक
निम्त्याउनु हुँदैन कायर अवशान
प्रिय डार्विन !
सम्झेर तिमीलाई
समेटेर जीजिविषा मनको राजधानीमा
सुसाइड नोटको साटो लेख्दैछु
एउटा कालजयी सभाईवल नोट
विषमताको कालो बादलमा पनि
आशाको आभा आस्थामा
ऐश्वर्यमा पनि, अभावमा पनि
आफूलाई उस्तै लायकिलो बनाउँदै
जिताउनेछु आफ्नो अस्तित्व
तिमीले भनेजस्तै ।
प्रतिक्रिया