×

एउटा सिक्काको दुईपाटा भने जस्तै सुमतितन्त्र र सूर्यसिद्धान्त

images

श्यामसुन्दर राजवंशी

जुनसुकै सिक्काको दुईपाटा हुन्छ । ती दुई पाटामध्ये एक पाटालाई अग्र मानियो भने अर्को पाटालाई पृष्ठ भनिन्छ । ती दुवै पाटामध्ये एकपाटा मेटियो भने त्यो सिक्का काम लाग्दैन । अतः एउटा सिक्काको एक पाटा काम लाग्छ अर्को पाटा काम लाग्दैन भनियो भने पनि त्यो सिक्का खोटो ठहर्छ । यो कुरा प्रायः धेरैलाई थाहा छ ।

त्यस्तै सुमतितन्त्र नामको ग्रन्थको सन्दर्भमा पनि यहीँ कुरा जोड्न सकिन्छ । किनकि सुमतितन्त्रमा सूर्यसिद्धान्तको पनि अध्याय छ । यहाँ आएर कसैले यसमा भएको सूर्यसिद्धान्त काम लाग्दैन । तर, सुमतितन्त्र भने काम लाग्छ भनियो भने त्यो कुरा जायज मान्न मिल्दैन । किनभने एकपाटो सूर्यसिद्धान्त खोटो भएपछि त्यससँगै सुमतितन्त्र पनि काम लाग्दैन भन्ने स्वतः बुझिन्छ ।

श्री देवीप्रसाद लम्सालको भनाइ (तत्कालीन हस्तलिखित ग्रन्थ शाखाको पंडित)का अनुसार सुमतितन्त्र र त्यस ग्रन्थको सूर्यसिद्धान्तबारेमा उल्लेख गरिएको जानकारी यस प्रकार छ ः

...वीर पुस्तकालयमा रहेको पुस्तकको लिपि ताडपत्रको अध्ययनबाट भन्न सकिन्छ कि पुस्तकको आजसम्मको आयु ५५०—६०० वर्षभन्दा कमको छैन सुमतिले आफनो तन्त्र प्राचीन सूर्यसिद्धान्तको आधारमा लेखेका हुन् । उक्त सूर्यसिद्धान्त हाल उपलव्ध छैन । वर्तमान सूर्यसिद्धान्त र सुमतितन्त्रमा दिइएका विषय मिलाएर हेर्दा परस्पर भिन्नता पाइन्छ । लिपिकारको दोषबाट पुस्तकका पंक्तिहरु अशुद्ध छन् ।...

(पुरातत्व विभागको मुखपत्र प्राचीन नेपाल संख्या १, २०२४, पृष्ठ ५-१०)

यो सन्दर्भ किन आकर्षित भयो त भन्दै गर्दा लिच्छवि संवतको निर्णयमा पुस्तकका लेखक नयराज पन्तले सुमतितन्त्र काम लाग्छ भनेर गरिएको उदगार यस प्रकार छ ः

...मानदेवदेखि अंशुवर्मासम्मका नेपालका लिच्छवि राजाहरुले व्यवहार गरेको संवत् वि.सं १३५ देखि उठेको शकसंवत् हो भन्ने र अंशुवर्माको समयदेखि व्यवहारमा आएको संवत् चाहिँ वि.सं ६३३ देखि उठेको मानदेवसंवत् हो भन्ने कुरा देखियो । हामीले स्पष्ट पारेको यस सिद्धान्तको पुष्टि गरिदिने सबैभन्दा बलियो प्रमाण सुमतितन्त्र नै हो । सुमतितन्त्र नभेटिएको भए हामीलाई लिच्छवि संवत्को निर्णय गर्न ज्यादै गाह्रो पथ्र्यो ।

 (लिच्छविसंवत्को निर्णय १२१ पृष्ठ )

यसरी सुमतितन्त्र नभेटिएको भए लिच्छविसंवत्को निर्णय गर्न नै गाह्रो हुने भएपछि त्यहीँ सुमतितन्त्रमा यसको आधारग्रन्थ भनी सूर्यसिद्धान्तको व्याख्या गर्ने गरियो । तर, त्यो सूर्यसिद्धान्त अपनाएर गणना गरेको खोइ त भन्ने प्रश्न अवश्य उठ्छ । सुमतितन्त्र लिच्छविकालदेखि सार्दै–सार्दै आएको ग्रन्थ हो भन्दै एकातिर सुमतितन्त्र प्राचीन भनेर देखाउने अर्कोतिर प्राचीन सूर्यसिद्धान्त त्यागेर आधुनिक सूर्यसिद्धान्त अपनाएर गणना गर्नुलाई ठीक कदापि मान्न मिल्दैन । आधुनिक सूर्यसिद्धान्त अपनाएको कुरा उहाँ आफै यसरी उल्लेख गर्नुभएको छ । 

...वि.सं १९८३ मा बीजापुरबाट दत्तात्रेय केतकरद्वारा प्रकाशित वेंकटेश केतकरको सौरार्यब्राह्मपक्षीय तिथिगणितबाट गरिएका गणना यहाँ दिइन्छन् ।

(लिच्छवि संवत्को निर्णय ८ पृष्ठ )

यसबाट स्वयं लेखकले सुमतितन्त्र काम लाग्ने तर त्यसमा भएको आधारग्रन्थको सूर्य सिद्धान्त काम नलाग्ने भएर छोडेको कुरा यस प्रकार छ ।

सूर्यसिद्धान्तको साररुप सुमतितन्त्र हो भनी यहाँ लेखिएको छ । तर सूर्यसिद्धान्तसँग सुमतितन्त्रका ग्रहभगणहरू नमिलेकोले सुमतितन्त्रको आधारग्रन्थ सूर्यसिद्धान्त अर्कै रहेछ भन्ने देखिन आउँछ । यस कारण त्यसको खोजी गर्नु परेको छ ।

पञ्चसिद्धान्तिको सूर्य सिद्धान्तअनुसार १ सौर वर्षमा ३६५ दिन १५ घडी ३१ पला ३० विपला हुने देखिन्छ ।
यताबाट वराहमिहिरको सूर्यसिद्धान्तको सौर वर्षको मान र सुमतितन्त्रको सौर वर्षको मान मिलेको देखिएकाले वराहमिहिरको सूर्यसिद्धान्त र सुमतितन्त्रको सूर्यसिद्धान्त एउटै रहेछ भन्ने झल्को पर्छ । 

(लिच्छवि संवत्को निर्णय १६९-१७० पृष्ठ )

स्वयं लेखकले सुमतितन्त्रमा भएको सूर्यसिद्धान्त काम नलाग्ने भनी सिद्ध गरेपछि स्वभाविक रूपमा सुमतितन्त्र नै पनि खोटो ग्रन्थ रहेछ भन्ने प्रष्ट हुन्छ । तथापि सुमतितन्त्र लिच्छविकालमा बनेको ग्रन्थ हो । गणितको दृष्टिबाट पनि ठीक देखिन आएको पनि भन्ने गर्छ । यसरी लिच्छविकालमा बनेको ग्रन्थको दृष्टान्त आफ्नो हातमा छँदाछँदै वि.सं १९८३ सालमा प्रकाशित वेंकटेश केतकरको सौरार्यब्राह्मपक्षीय (सूर्य, आर्य, ब्रह्म) तिथिगणितको सहारा लिनुपर्ने किन ? यसबाट पनि सुमतितन्त्र समग्रमा खोटो भन्ने कुरा लेखकले किटेर नभने पनि व्यवहारले प्राचीन ग्रन्थमा दिएको सूर्यसिद्धान्त छोडेर वि.सं. १९८३ मा प्रकाशित वि.सं. १९३५ मा प्रतिपादित सूर्यसिद्धान्तमा गएर हात हाल्नुले प्रष्ट खुल्दछ । 

वि.सं. १९८३ सालमा प्रकाशित वेंकटेश केतकरको सौरार्यब्राह्मपक्षीय तिथिगणित कै सहारा लिइएको भए पनि त्यसमा चान्द्रमासमा ३९० दिन भएको हिसाव सूत्र दिइएको छैन । उनै केतकरले दिएको अधिमास क्षयमास सारणीमा शक ५२९ मा अधिमास परेको दिइएको छैन । तर, चाँगुको गरुड कवचको अभिलेखमा संवत् ३१ माघ शुक्ल त्रयोदशी आइतबार पुष्य नक्षत्रको गणना गर्दा उक्त तिथिको तिथिगण ३४३ साधन गरेर गणना गरेको देखाइएको छ । 

शक ५२९ माघ शुक्ल त्रयोदशीको तिथिगण ३४३ र चतुर्दशी पूर्णिमा गरी २, माघको कृष्ण पक्षको १५ तिथि(दिन) र फागुनको शुक्ल पक्ष कृष्ण पक्षको तिथि ३०(दिन) जम्मा गर्दा ३४३ +४७ = ३९० तिथि (दिन) भुक्त भएपछि शक ५३० चैत्रशुक्ल प्रतिपदा आउंछ । चैत्र शुक्ल प्रतिपदादेखि वि.सं. ६६५को वैशाख संक्रान्ति आउन १० दिन मात्र लागे पनि वि.सं. ६६४ को वर्षमा ४ सय दिन हुन आउँछ । यसरी सौरमानमा ४ सय दिन पनि देखिन सक्ने भए पञ्चसिद्धान्तिकामा सूर्य सिद्धान्तअनुसार १ सौर वर्षमा ३६५ दिन १५ घडी३ १ पला ३० विपला हुन्छ भनेर उल्लेख गर्नुको औचित्य के ? भन्ने प्रश्न उठ्छ ।

यी सवै दृष्टिकोणले मूल्याकन गरेर हेर्ने हो भने लिच्छवि संवतको निर्णय हर दृष्टिकोणले गणना असफल भई चिप्लेको प्रष्ट देखिन्छ ।  

किनभने अधिमास भएको सौर वर्ष पनि ३६५ दिन र नभएको वर्ष पनि ३६५ दिन नै हुन्छ भन्ने सामान्य ज्ञान उहाँमा छैन । ताकि अधिमास भनेको दुईवटा संक्रान्तिको बीचमा एक  चान्द्रमास पर्दा जुन मासले संक्रान्तिलाई छोएको हुँदैन भने त्यतिवेला अधिमास परेको भन्छ । यहीँ २०८० सालको पात्रो हेरियो भने पनि श्रावण १ गते र भाद्र १ गतेको बीचमा एक चान्द्रमास परेकोले यो चान्द्रमासलाई अधिमास भनेको प्रत्यक्ष छ । लेखक जीवित हुंँदा पनि यस्तो अधिमास कतिदेखि सकेको थियो होला । त्यसवेला पनि अहिले वि.सं. २०८० सालको जस्तै गरी दुई संक्रान्तिबीच एक चान्द्रमास पर्ने नै हो । यो कुरा उहाँले ख्यालै राख्नुभएको रहेनछ । यो कुरा उहाँ मात्र होइन संशोधन मण्डल र यसका अनुयायीहरूलाई अहिलेसम्म पनि थाहा रहेनछ । त्यहीँ भएर अझै पनि अधिमास भएको वर्षमा ३९० दिन हुनु सामान्य नियम हो भन्ने जिद समातेर बसीरहेको देख्न पाइन्छ । 

श्री दिनेशराज पन्त (संशोधन मण्डल कै एक सदस्य) को भनाइ यस्तो छ ।

...कमसेकम ४ सय वर्षसम्म प्रामाणिक रुपमा उल्लेख भएर आइरहेको मानदेव संवतलाई वि.सं. १४१२ मा सारिएको ब्रिटिश म्युजियममा रहेको सुमतितन्त्रमा एकनाससँग आएको मानदेव संवतको उल्लेखलाई बिर्सेर वि.सं. १४३१ मा सारिएको राष्ट्रिय अभिलेखालयमा रहेको सुमतितन्त्रमा थपिएको कुरालाई जोडदिने काम भइरहेको छ । अधिमास परेको वर्षमा ३९० तिथि हुने सामान्य नियमलाई वास्ता  नगरी भ्रम फैलाउने काम गरिएको छ ।

(कान्तिपुर दैनिक २०७९–७–३ गते भित्रि पृष्ठ ३ मा  लिच्छवि संवतबारे अप्रामाणिक लेखबाट)

श्री श्याम खनालको भनाइ (नयराज पन्तको एक पक्का अनुयायी)  
 

.......एक चान्द्रवर्षमा मोटामोटी ३६० तिथिगण नै हुन्छन् किनकि १२ चान्द्र महिनालाई ३० ले गुणन गर्दा ३६० आउंछ । अनि एक अधिमासका ३० तिथि थप गर्दा ३९० नै त हुने हुन् ।

(कान्तिपुर दैनिक २०७९।७।५ गतेको कोशेली भित्री पृष्ठ (ग) मा  भ्रमको खण्डन लेखबाट)

यसरी भ्रमको खण्डन भनेर लेख प्रकाशित गर्नुभन्दा अघि पञ्चाङ्ग निर्णायक समितिसँग राय सल्लाह लिनुभएको भए उचित हुने थियो । चान्द्रमास भनेको के हो ? सौरमास भनेको के हो ? नेपालको सर्वोच्च विद्वान नयराज पन्त तथा संशोधन मण्डलले अधिमास परेको वर्षमा ३९० तिथिगण हुने भनेर दिइएको कुरालाई पञ्चाङ्ग पात्रोमा किन अन्यथा गरेको भनेर गुनासो गरेको भए हुन्थ्यो । वि.सं. २०४३ सालभन्दा अघिका पात्रोमा दुईवटा संक्रान्तिबीच एक चान्द्रमास पर्दा अधिमास मानेको भए पनि लिच्छवि संवतको निर्णय आए पछि त ३९० तिथि हुने गरी पञ्चाङ्ग बनाउनुपर्ने किन ३६५ दिनभित्रै पारेर बनाएका ?े यो भएन, यसरी नयराज पन्तको अपहेलना गर्ने हो ? भनेर फिराद गरेको भए हुन्थ्यो । तर, त्यसो नगरी भ्रमको खण्डन भनी सोझै हानिन आएको देखेपछि उहाँको विद्वताको स्तर के रहेछ भन्ने कुरा त्यत्तिकै उदाङ्गो हुन पुगेको छ । 

समस्या :

अचम्मको कुरो संशोधन मण्डल र उनका अनुयायीहरुलाई अहिलेसम्म पनि थाहा छैन कि दिन भने पनि तिथि भने पनि ३९० को वर्ष हुँदैन । यही २०८० सालको पात्रोमा श्रावणमा अधिमास परेकोले गतेले भाद्र भए पनि तिथि श्रावण, गतेले असोज भए पनि  तिथिले भाद्र, गतेले कार्तिक भए पनि तिथिले असोज गरी एवं रीतले तिथि सर्दै गतेले २०८१ सालको वैशाख भए पनि तिथिले चैत्र भएकोले २०८० सालको वर्षमा चैत्रदशैं रामनवमी छैन । तर, २०८१ सालमा वर्षको शुरुमा पनि रामनवमी छ र अन्तमा पनि रामनवमी आउने हुन्छ । यो कुरा पात्रो पल्टाएर हेरे पनि थाहा हुने कुरा हो । तर, अचम्म अहिलेसम्म पनि पात्रो पल्टाएर हेर्ने जमर्को समेत कहिल्यै गरेको रहेनछ भन्ने प्रष्ट बुझियो । यति मामुली कुरा पनि ख्याल नराख्दा दुनियाँ कति दिग्भ्रमित भइसके त्यसको लेखाजोखा हुनुपर्दैन र ?  

ब्रिटिश म्युजियममा रहेको सुमतितन्त्र र राष्ट्रिय अभिलेखालयमा रहेको सुमतितन्त्र यी दुवै ग्रन्थमा भुजिमोल लिपि भएकोले नेपालमै सारिएको ग्रन्थ भन्ने त बुझियो । इतिहासकारहरूको भनाइ अनुसार दुवै एउटै मितिमा सारिएको होइन । ब्रिटिश म्युजियममा रहको सुमतितन्त्र भन्दा केही वर्षपछि सारिएको सुमतितन्त्र नेपालको राष्ट्रिय अभिलेखालयमा छ । नेपालमा रहेको सुमतितन्त्र सारिएको मिति नेसं ४९५ पौष कृष्ण त्रयोदशी आदित्यवार ग्रन्थको पुष्पिका बाक्यमा उल्लेख छ । 
नेपालसंवत् १ शुरू हुँदा वि.सं. ९३६ कार्तिक शुक्ल प्रतिपदा भएकोले नेपालसंवत् १ भनेको वि.सं ९३६ कार्तिकदेखि वि.सं ९३७ असोजसम्म रहने सर्वविदित नै छ । तव नेपालसंवत् र विक्रमसंवत् बीचको अन्तर त्यसवेला ९३५ र ९३६ भन्ने पनि स्पष्ट छ ।

यस्तै गरी नेपालसंवत् ४९५ भनेको पनि वि.सं १४३० को कार्तिकदेखि वि.सं. १४३१ को असोजसम्म रहने स्पष्ट हुन्छ । यसबाट कार्तिकदेखि चैत्र सम्म वि.सं १४३० र वैशाखदेखि १४३१ हुने पनि स्पष्ट छ । तर पं नयराज पन्तले नेसं ४९५ पौष कृष्ण त्रयोदशी आदित्यवारलाई नै तदनुसार विक्रमसंवत् १४३१ माघ ५ गते आदित्यवार (पूर्णान्तमानले माघ) कृष्ण त्रयोदशी आदित्यवार पर्दछ भनी दिइएकोले उहाँका सवै अनुयायीहरू यसैमा पत्याउँदै आएको छ । (लि.सं नि पृष्ठ १२३) 

नेसं ४९५ को कार्तिकदेखि चैत्रसम्म वि.सं. १४३० हुनुपर्नेमा वि.सं. १४३१ भनिएको छ । मध्यकालमा पूर्णान्तमानको प्रचलन नै छैन । तर, गणना पूर्णान्तमानले गरिएको छ । यसरी हरेक दृष्टिकोणले लिच्छविसंवत्को निर्णय त्रुटी नै त्रुटीको खानी भएर रहेको छ । फेरि नेपालमा मध्यकाल भरि नेपालसंवत् र विक्रमसंवत् बीचको अन्तर ९३५ र ९३६ हुन्थ्यो भने आधुनिक कालमा ९३६ र ९३७ को अन्तर किन भएको भन्ने विषयमा पनि संशोधन मण्डललाई अहिलेसम्म  ज्ञानका ेबिर्को उघ्रेको छैन भन्ने पनि प्रष्ट बुझिन आएको छ । 

निष्कर्ष 

पं नयराज पन्तको कृतिमध्ये पुरस्कृत भएको पुस्तक भनेको लिच्छविसंवतको निर्णय मात्र हो अरु होइन । संशोधन मण्डलको मुखपत्र पूर्णिमा अंकहरुमा उहाँले लामो लामो गणनाहरू देखाएर लेख प्रकाशित गरेको देखेर उहाँलाई घघरान गणितज्ञ मानेको देखिन्छ । त्यस्तै गरी उहाँको निर्णय पुस्तकमा पनि संवत् ३१ माघ शुक्ल त्रयोदशी आादित्यवार उल्लेख भएको मितिको गणना पनि पृष्ठ ११ देखि १९ सम्म लामो गणना प्रस्तुत गर्नुभएको छ । तर, त्यस गणनामा ३९० दिन भएको वर्ष मानेर गणना गरेको हुनाले त्यो गणना केवल दुनियाँको आँखामा छारो हाल्न मात्र काम लाग्यो अरु होइन । त्यस्तै संवत् ३०१ वैशाख शुक्ल सप्तमी पुष्य नक्षत्र आदित्यवार उल्लेख भएको मितिको गणना गर्दा पनि पृष्ठ १९ देखि २७ सम्म लामो गणना देखाइएको छ ।

यसमा नक्षत्रको महलमा ७ । ६०६.६ भनेर पुनर्वसु नक्षत्र देखाएर पुष्य नक्षत्र आयो भनी दुनियाको आँखामा सोझै छारो हालेको छ । यसरी आफु घघरान गणितज्ञ हुँ भन्दै दुनियाँलाई भुलभुलैयामा पारी गरिएको जालसाजी गणनालाई शुद्ध गणना भन्न सकिन्न । यस कारण त्यस प्रकारको जालसाजी गणना गर्ने र सुमतितन्त्र भन्दै दुनियाँलाई छक्याउँदै आधुनिक सूर्यसिद्धान्त अपनाउने जस्तो कैफियत काम गर्ने उनै नयराज पन्तलाई बढी देवत्वकरण , विभूति करण गर्न खोज्नु भनेको इतिहासको उपहास गर्नु हो । वास्तवमा यो राष्ट्रको लागि घोर बेइज्जत हुने कुरा पनि हो । हरेकले आफनो ब्रह्मलाई साक्षी राखी मनन गरोस् । 

शुक्रबार​ ८ भदौ २०८० ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया