काठमाण्डौँ।
कविताः मधुपार्कको फोहर
खाएर देशले अघाउन्जेल तिम्रो भाषण
छादिरहेछन् अहिले लासहरू ।
गरेर उपहास आस्थासँग पौडिरहेछन् अहिले
फोहरमा एकजोडी काला हाँसहरू ।
झुक्नैको लागि,
बढेर अग्ला हुन्छन् ती बाँसहरू ।
बढेर आफू वस्तुका आहारा बनिदिन्छन् ती घाँसहरू ।
तर, झिकेर एकजोर आँखा
ठुसेर लुँडो बेवास्ताको प्यालाजत्रै कानमा ।
उखलेर प्रजातन्त्र ।
रोपेर गणतन्त्र ।
छर्छन् जङ्गलतन्त्रका काँडे बीजहरू
उल्टै लगाउँछन् उनी
त्यही सिंहासनमा बसी उठीबासहरू ।
थाके थापा ।
थाके केसी ।
सुन्छु,
छैनन् अचेल इजलासमा ती दुवैका पेसी ।
इमान मान्छेका लाज हुन्
स्वाभिमान देशका ताज हुन्
तर उनी मुसा मार्न जानेका ब्याधा बाज हुन् ।
उनैका कुशबिर्ता ।
उनैका राज हुन् ।
उनैका बिहानी, उनैका साँझ हुन् ।
मैले बुझेको यत्ति हो,
रङ्गिए भित्ता चारैतिर यहाँ श्रद्धाञ्जलीका चुनले ।
गुन्जी उठे कठै ! मेरो देश अहो !
शोकै शोकका धुनले ।
देख्दिनँ म कहीँ कतै मलामी ?
ठोकिरहेछन् अझै यहाँ मुर्दाले मुर्दालाई सलामी ।
बस्दैनन् कोही अनशन अब भद्रकालीअघि
डाक्टर बा बसेजस्तो ।
एक मुठी सासकै लागि लडिरहेछन् युद्ध
जबसम्म ती अबोध सासहरू ।
भोककै विरुद्ध भोकहरूले नै बाल्नेछन् यहाँ
जब अनशनका राँकोका जुलुसहरू ।
अहो !
सहिद भएछन् एकमुठी ती भासहरू ।
खाएर देशले अघाउन्जेल तिम्रो भाषण
छादिरहेछन् अहिले लासहरू ।
मधुपर्कको फोहर पोखरीमा पौडिरहेछन्
फोहरी एक जोडी काला ती हाँसहरू ।
प्रतिक्रिया