काठमाडौँ, ७ भदौ (२०८३)। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ उपाध्यक्ष एवं राजनीतिज्ञ रवीन्द्र मिश्रले गत वर्ष नेपालमा भएको भदौ २३ र २४ को चर्चित घटनालाई संसारकै सबैभन्दा सफल ‘विदेशी-जासुसी विद्रोह’ (Foreign Espionage Rebellion) को संज्ञा दिएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो एउटा लामो राजनीतिक दृष्टिकोण सार्वजनिक गर्दै मिश्रले उक्त घटनालाई लिएर आफ्नो पूर्वअनुमान र हेर्ने दृष्टिकोण पूर्ण रूपमा फेरिएको स्पष्ट पारेका हुन्।
उनले निर्दोष नेपाली युवाहरूको आन्तरिक पीडा र असन्तोषको जगमा अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था (हरू) ले पर्दापछाडिबाट यो 'कोभर्ट अपरेसन' (गोप्य अभियान) चलाएको गम्भीर दाबी गरेका छन्।
यसअघि भदौ २३ को आन्दोलनलाई युवाहरूको ‘जेन–जी विद्रोह’ र २४ गतेको विध्वंसलाई 'बाहिरी घुसपैठ' का रूपमा टिप्पणी गर्दै आएका मिश्रले विभिन्न अन्तर्राष्ट्रिय विद्रोह र जासुसी घटनाहरूको विस्तृत अध्ययनपछि आफ्नो निष्कर्ष बदल्न बाध्य भएको बताएका छन्।
मिश्रले लेखेका छन्, “यो एउटा यस्तो अद्भुत विद्रोह थियो, जसमा मात्र ६ घण्टाको छोटो अवधिभित्र देशको राष्ट्रियता र सार्वभौमसत्ताका प्रमुख तीन धरोहरहरू; कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका अनि राष्ट्रप्रमुखको निवास (शीतल निवास) समेत जलिसकेको थियो ।”यति छोटो समयमा राज्यका सबै अंग र शक्तिका केन्द्रहरू ध्वस्त पारिएको घटना संसारको इतिहासमै आजसम्म आफूलाई कतै पनि थाहा नभएको उनले जिकिर गरेका छन्।
विश्वका विभिन्न स्थानमा स्थानीय नागरिक वा युवालाई उनीहरूकै एजेन्डा र उद्देश्य अनुकूल गतिविधि गरिरहेको भ्रम (अनुभूति) दिलाएर विदेशी शक्तिले कसरी फाइदा उठाउँछन् भन्नेबारे मिश्रले व्याख्या गरेका छन् ।
“जहाँ आन्दोलनमा प्रयोग हुनेहरूले हामी आफैँले गरेको भन्ठान्छन्, तर त्यसलाई परिचालन गर्नेहरू पर्दापछाडि अरू नै हुन्छन्। नेपालको भदौ २३ र २४ को घटनामा ठ्याक्कै त्यही भएको हो,” मिश्रको विश्लेषण छ। त्यसपछिको अर्को लक्ष्यमा योजनाकारहरू सफल भए या भएनन् भन्ने कुरा अझै स्पष्ट नभए पनि भविष्यमा यसका गोप्य सूचनाहरू बाहिर आउने उनले विश्वास व्यक्त गरे। उनले अगाडि लेखेका छन्, “भविष्यमा यस घटनाका योजना र कार्यान्वयनका कतिपय गोप्य विवरण बाहिर आएर हलिउडको कुनै विख्यात निर्देशकले जासुसी चलचित्र बनाएमा, त्यो संसारकै सर्वोत्कृष्ट जासुसी सिनेमा बन्नेछ ।”
मिश्रले नेपालले आफ्नो दीर्घकालीन राष्ट्रिय हित र सार्वभौमसत्तालाई अक्षुण्ण राख्न चाहने हो भने राज्य स्तरबाटै भदौ २३ र २४ को घटनाको पृष्ठभूमि, योजनाकार र वित्तीय स्रोतको सक्दो गहिराइमा पुगेर गम्भीर अध्ययन तथा अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले मुलुकको आन्तरिक स्थायित्व, राष्ट्रिय सुरक्षा र समग्र दक्षिण एसियाली क्षेत्रकै भूराजनीतिक स्थिरताका लागि नेपाल अब एउटा सर्वपक्षीय नवीन राजनीतिक तथा रणनीतिक समझदारीमा जानैपर्ने निष्कर्ष प्रस्तुत गर्दै आफ्नो धारणा टुङ्ग्याएका छन् ।
प्रतिक्रिया