कान्तिपुरको मध्य भागमा अवस्थित रानीपोखरीले ६२ रोपनी १३ आना २ पैसा २ दाम भूभाग चर्चेको छ भने यस पोखरीको बारेमा आ—आफना धारणा प्रकट गर्न चाहने व्यक्ति तथा लेखकहरुको यहाँ कमि देखिएको छैन । केही वर्ष अघि २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले यो पोखरीको अवस्था दूर्दशा मै परिणत हुन पुगेको थियो । त्यसपछि पुननिर्माणको क्रम शुरु भए पछि विसं २०७७ कार्तिक ५ गते बुधवारका दिन सम्पन्न हुंदासम्मको अवधिमा यसको चर्चा परिचर्चा घनीभूत रुपमा व्यापक रुपले बढेको कुरा अझै ताजा नै रहेको छ ।
वास्तवमा कान्तिपुर शहरलाई अनूपम सौन्दर्य दर्शाइरहने महत्वपूर्ण सम्पदा मध्येको एक सम्पदा रानीपोखरीको बारेमा यसरी व्यापक चर्चा परिचर्चा हुनु स्वभाविक हो । यति हुंदाहुंदै पनि यो एक महत्वपूर्ण राष्ट्रिय सम्पदा पनि हो भन्ने पक्षमा सवै सहमत नै छ । तर यो पोखरी निर्माण भए देखि यता अनेकौं विसंगत धारणाहरु पनि संगसंगै विकसित भइआएको देखिनु राम्रो कुरा भने होइन ।
ती मध्ये कतिले लिखित माध्यमबाट व्यक्त गरे भने कतिले श्रव्यदृश्यमार्फत मौखिक धारणा व्यक्त गर्दै आएको पाइयो । तीमध्ये कतिपय धारणाहरु पत्याउने कि नपत्याउने भनी असामञ्जस स्थिति खडा हुन आएको छ । ताकि नपत्याउँ भने कतिपय प्रतिष्ठित कहलिएका व्यक्तिको धारणा छन् कसरी होइन होला भन्ने ? पत्याउँ भने त्यसमा स्वाभाविकता देखिएका छैनन् । त्यही भएर यही सन्दर्भलाई मुख्य केन्द्र विन्दुमा राखी ती कुरालाई यहाँ कोट्याउने जमर्को गर्न खोजिएको हो ।
ऐतिहासिक पृष्ठभूमि
प्रतापमल्लको शासनकाल नेसं ७६१ देखि नेसं ७९४ सम्म देखिन्छ । यिनको ३३ वर्ष लामो सुशासनकालको उत्तराद्र्ध मा नेसं ७८९ मा तीर्थयात्रा नामक पुस्तक पनि लेखेका थिए । यही तीर्थयात्रामा उल्लेख भए अनुसार नेसं ७८९(तद्नुसार विसं १७२४) माघ शुक्ल त्रयोदशीको दिन रानीपोखरी प्रतिष्ठा गरेको उल्लेख छ । यही नेसं ७८९ को मोहर मुद्रामा राजा चक्रवत्र्तेन्द्रमल्लदेवको उल्लेख छ । राजा प्रतापमल्लले आफु छंदै छोराहरुलाई पालैपालो एक एक वर्ष राजा बनाउने इच्छा गरेका थिए । जेठो छोरा भूपेन्द्र मल्ल पहिले नै मृत्यु भइसकेको थियो । कान्छो छोरा चक्रवत्र्तेन्द्र मल्ललाई पहिले राजा बनाएका थिए ।उनी पनि राजा भएको ४ दिन पछि नै अचानक मृत्यु हुन पुगेकोले पालैपालो राजा बनाउने प्रतापमल्लको इच्छा बीच मै तुहिन पुगे ।
अन्य ऐतिहासिक श्रोतहरुको आधारमा प्रतापमल्लका रानीहरुको नाम रुपमति राजमती लालमती लालदेवी अनन्तप्रिया प्रभावती रछमणि इन्द्रमती गरी ८ जना देखिन्छन् । प्रतापमल्लका छोराहरु मध्ये चक्रवत्र्तेन्द्र मल्लको आमा अनन्तप्रिया र पार्थिवेन्द्रमल्लको आमा इन्द्रमती थिए भन्ने जानकारी खुलेको छ । प्रतापमल्लको मठ्याहा पट्टिका बाहेक अन्य छोराहरु भूपेन्द्र, नृपेन्द्र र महीपतेन्द्र, पनि थिए ।
राजा प्रताप मल्ल र रानी अनन्तप्रिया देवी को अति प्रीय छोरा चक्रवत्र्तेन्द्र मल्लको त्यसरी असामयिक मृत्यु ले गर्दा रानीले अति शोक गरेको देखि मृत छोराको नामबाट न्हुपुखु बनाएको भन्ने चर्चा इतिहासमा पाइन्छ । यही पोखरीलाई प्रतापमल्लको नाति भूपालेन्द्र मल्लकी रानी भुवन लक्ष्मीले संस्कार गरी थप शोभायमान बनाएको हुंदा यही न्हुपुखुको नाम परिवर्तन भइ रानीपोखरी कहलिए भन्ने पाइन्छ ।
नेसं ७८९(विसं १७२४) मा पाखेरी खनाइ सकेपछि त्यसमा पानी भर्ने कार्य शुरु भएको थियो भने पोखरी बने पछि यही पोखरीको चार सुरमा राजा प्रताप मल्लले नेसं ७९० (विसं १७२६ ) आश्विनमा अभिलेख कुंदाइ शिलालेख राख्न लगाए ।
नेसं ७९०( विसं १७२५) माघमा दिवंगत छोरा चक्रवत्र्तेन्द्र मल्लको नाममा माधव नारायण पूजा गरी माधवनारायणको मूर्ति स्थापना गरेको कुरा पोखरीको उत्तरपट्टि रहेको माधवनारायणको मूर्तिको पादपीठमा उल्लेख छ ।
पोखरीको दक्षिणपट्टि शिलाको हात्तीको मूर्ति र त्यस हात्तीमा स्वयं प्रतापमल्ल, चक्रवत्र्तेन्द्र मल्ल र महीपतेन्द्रमल्लको सालिक चढेको र हात्तीले आफ्नो सूंढले मानव को वच्चालाई निमोठी रहेको देखाइएको छ । त्यस हात्तीको मूर्ति को गलामा अंकित अभिलेखको मिति अस्पष्ट छन् ।
राजा प्रतापमल्लले न्हूपुखु बनाउन लगाउने क्रममा परिसरमा पोखरीको बीचमा मन्दिर र परिसरमा पनि अन्य देवलहरु , देवमूर्तिहरु धाराहरु बनाउन लगाएकोले र शिलालेखमा श्री परमेश्वर , परमेश्वरी को ब्रम्हभूमि भनेर उल्लेख गराए । यस पोखरीको बीचमा श्री परमेश्वरीको मूर्ति सहित स्थापना गरी ब्रम्हभूमिको रुपमा पवित्र तीर्थ स्थल को निर्माण गरेको चर्चा चार सुरमा रहेको अभिलेख मै छ ।
श्री परमेश्वरी भनिएको देवी खास कुन भन्ने सन्दर्भमा शिवको शक्तिरुपा र विष्णुको शक्तिरुपा दुवैको आधाआधा शरिर भएकी अष्ट भुजा दाहिने पाउ वृषभ माथि र वायाँ पाउ गरुड माथि टेकी वृष र गरुड वाहन गरी प्रत्यालीढ आसनमा उभिएकी देवीको मूर्तिको ध्यान समाहित छन् । यसलाई जलकी देवी हरिसिद्धि हुन् भन्ने संपूर्ण प्रतिमा लक्षणको आधारमा मान्न सकिन्छ ।
जसरी २०७२ सालको भूकम्पले यो रानीपोखरीको तहसनहस भयो । त्यस अघि विसं १९९० को भूकम्प र अझ विसं १८९० को भूकम्पको मार पनि कम्ताको थिएन । विसं १८९० मा भएको तहसनहसलाई विसं १९०८ मा जंगवहादुर राणाले संरक्षण गरे भने विसं १९९० को तहसनहसलाई विसं १९९४ मा संरक्षण गरेको देखिन्छ । ती प्रत्येक जीर्णोद्धारको रेकर्ड अभिलेख उपलव्ध हुन सकेको छैन ।
देवमाला वंशावलीमा दिइए अनुसार रानीपोखरी खुल्ला रुपमा रहेकोले आत्महत्या गर्ने अपराधहरु बढ्न थालेकोले पछि पर्खाल र बारहरु लगाइएको हो । ओल्डफिल्डको भनाइ अनुसार रानीपोखरीको चारैतिर इंटाको पर्खाल लगाइदिने कार्य विसं १९०८ मा जंगबहादुरको पालामा भएको थियो । पछि पर्खाल हटाइ फलामे वार लगाउने कार्य विसं १९९४ सालमा जुद्ध समसेरको पालामा भएको थियो ।
कालान्तरसम्म पनि रानीपोखरीको जीर्णोद्धारहरु हुंदै आए । सोही क्रममा पोखरीको दथुदेगल भित्र शिवलिंग तथा वालगोपालको मूर्ति पनि स्थापना हुन पुगे । राजा प्रतापमल्लको अभिलेखहरुमा शिवलिंग र वालगोपालको मूर्ति बारे एक शव्द पनि उल्लेख छैनन् ।
विसंगति पूर्ण प्रचारहरु
१ रानीपोखरी प्रतापमल्लले बनाएकैे होइन । यो त प्राकृतिक पोखरीको रुपमा रहेकोमा चारैतिर डिल बनाइ उनले थप रमणीय बनाइ दिएको मात्र हो पोखरी नै श्रृजना गरेको होइन भन्ने पनि देखिए ।
२.चक्रवर्तेन्द्रमल्ल कलिलो उमेरमा देहान्त भएको हुनाले बालगोपालको मूर्ति स्थापना गरेको र कालान्तरमा जीर्णोद्धार भएको वेलामा सो मूर्ति हराए वा कुनै कारणवश पुनः केही समय पछि राखिएको भन्ने पनि देखिए ।
३ं रानीपोखरी बन्नु भन्दा अघि यो ठाउं मसान चौर ( मसाँख्य) थियो भन्ने पनि देखिए ।
४.प्रतापमल्लले आफ्नो दिवंगत छोरा चक्रवर्तेन्द्रको संझनामा बनाएको भन्ने पनि देखिए ।
५.दिवंगत छोरालाई संझी रानीले अति शोक गरेर बसेको हुनाले रानीलाई सान्वना दिन पोखरी बनाई पोखरीको नाम पछि रानीपोखरी कहलिन पुगे भन्ने पनि देखिए ।
६. प्रतापमल्लले नयाँ पोखरी बनाएको हुनाले पोखरीको नाम नै न्हूपुखु(नयाँ पोखरी )नामाकरण गरिएको हो भन्ने पनि देखिए ।
७.एउटा थ्यासफू भेटिएको छ जसमा नेसं ७८३ तिर बाट पोखरी खन्न थालिएको र नेसं ७९० मा आएर समापन गरी शिलालेख समेत राख्न लगाए भन्ने पनि देखिए ।
८. यदि यो पोखरी चक्रवर्तेन्द्र मल्लको मृत्युभएकोले उनको संझनामा पोखरी बनाएको थियो भने चक्रवर्तेन्द्रको मृत्यु नेसं ७८३ भन्दा अघि भएको हुनुपर्ने उनको त नेसं ७८९ को मोहर नै प्राप्त छ भन्ने पनि देखिए ।
९. शिलालेखमा शाके १५९२ पनि छ र नेसं ७९० पनि छ ।माधवनारायणको मूर्तिमा मिति छ र चारसूरको शिलालेखमा पनि मिति छ । शाके १५९२ लाई यो शकसंवत् नै हो भन्नेहरु पनि देखिए ।
१०. भूपालेन्द्र मल्लको पालामा यो पोखरीको व्यापक सुधार तथा रमणीयता प्रदान गर्ने रानी भुवनलक्ष्मी हुनाले त्यहाँ उप्रान्त मात्र रानीपोखरी नाम रहन भएको भन्ने पनि देखिए ।
११. मन्दिरभित्र परमेश्वरी देवीको मूर्ति हुंदा हुंदै कसैले शिवलिंग भएको शिवालय भन्ने पनि दखिए ।
१२.पोखरीको चार सुरमा रहेको ढुंगेधाराको लागि मुहान जलाश्रय स्रोत नै यही पोखरी थियो भन्ने पनि देखिए ।
यी तमाम कथनलाई एक छिन थाँति राखी त्यहाँका अभिलेखहरुमा एकपटक नजरअन्दाज गरी हेर्न जरुरी हो जस्तो लागेको छ । ताकि ती कथनका सम्वन्धमा भ्रम निवारण गर्नका लागि अभिलेखहरु नै प्रयाप्त हो भन्न सकिन्छ । किनकि अभिलेख प्रमाण जति सटिक प्रमाण अर्को ठहरिने कमै संभावना मात्र देखिन्छ ।
रानीपोखरीका अभिलेखहरुको आडमा ः
“श्रीश्री जयप्रतापमल्लदेवेन, आफुले शास्त्र हेरिकन, असंख्यास पुन्य देखिकन निकासिकन, गंगाआदि नाना तीर्थको जललेइकन महाराजाधीराज नेपालेश्वर राजराजेन्द्र श्री श्री जय चक्रवत्र्तेन्द्रमल्लदेवको नामले बनायाको पोषरि”
यस उद्धरणमा दिइए अनुसार राजा प्रतापमल्लले महाराजाधिराज चक्रवर्तेन्द मल्लको नाममा यो पोखरी बनाउन दिइएको रहेछ भन्ने स्पष्ट हुन्छ । फेरि यही पोखरीमा श्रीवाग्मतिको पानी मात्रै १०६४१ भारि खन्याएको कुरा छ । त्यतिमात्र होइन श्रीसुन्दरिनदिको जल वहाइकन पोखरी भरेको कुरा समेत उल्लेख गरिएको छ । यदि पहिल्यै देखि रहेको प्राकृतिक पोखरी भैदिएको भए यसरी नदीबाट कूलो वहाइकन पानी भरेको सन्दर्भ आउने थिएन । किनकि कुनै प्राकृतिक पोखरीमा पानी भर्ने गरेको घटना सुन्नमा पनि आएको देखिंदैन ।
थ्यासफूमा आएको सूचना अनुसार नेसं ७८३ देखिनै चक्रवर्तेन्द्रमल्लको नाममा पोखरी खनाउन शुरु भएको र नेसं ७८९ मा उनी महाराजाधिराज भनी घोषित पनि भए तर पोखरी तयार भई समुद्घाटन हुने वेला अगावै उनको मृत्यु हुन पुगे । यसबाट राजा प्रतापमल्ल र रानी अनन्तप्रियादेवी निकै शोकमा परे पछि राजाले रानीको शोक शान्त गर्न पोखरीको उत्तर डिलमा माधवनारायणको मूर्ति स्थापना गरेको कुरा अभिलेखबाट बुझिन्छ भने बालगोपालको मूर्ति स्थापना गरेको सन्दर्भ अभिलेखमा कतै पनि उल्लेख छैन । जुद्ध समसेरको पालामा भाइटिकाको दिन रानीपोखरी हाताको भित्रतिर जान पाउने चलन चलाए देखि मात्र बालगोपालको मूर्ति स्थापना गरिएको हो । जंगवहादुरको पालामा रानीपोखरीको जीण्र्णोद्धार हुंदा सम्म पनि बालगोपालको मूर्ति त्यहाँ छ भन्ने उल्लेख देखिएको थिएन ।
रानीपोखरी बन्नु भन्दा अघि पोखरी खनाइने ठाउं मसान चौर ( मसाँख्य) थियो भन्ने कथन मिथ्या देखिन्छ वास्तवमा विद्युत प्राधिकरण रहेको ठाउ मात्र बालमसान थियो । प्रतापमल्लको चारसुरमा रहेका अभिलेखहरुमा चार किल्ला खुलाइएबाट पनि यो भ्रम निवारण हुने विश्वास गर्न सकिन्छ । जस्तै
पोखरीको उत्तर — तेतन ढोका, ढोका बाहिर पनाली , पनाली माथि देवल, सदावर्ती गुठीको खेत, जमल, द्वाकचलको दक्षिण भाग
पोखरीको पूर्व— टुसागाल देवल, श्री उपाध्याको पनाली , वालमसानको पश्चिम उमदेको देवल
पोखरीको दक्षिण — कुला देखि मासवखेलको उत्तर भाग
पोखरीको पश्चिम — असन पनाली, चौर माथिको देवल, कान्तिपुर नगरको पूर्व भाग
डाह संस्कार गर्न नमिल्ने बालबालिकाको शव भएमा ती शव गाडिने ठाउं भएर बाल मसान भनिएको भन्ने कुरा धेरै चर्चा गरिसकेको देखिन्छ भने मसाँख्य वा मसानचौर भनिन्थ्यो भन्ने यस अघि कतै देखिएको छैन । शिलालेख मै पनि नवनिर्मित पोखरी वालमसानको पश्चिम पट्टि पर्दछ भनी खुलाइएको स्पष्ट छ ।
प्रतापमल्लले आफ्नो कान्छो छोरा चक्रवर्तेन्द्रको संझनामा यो पोखरी बनाउन लगाएको कुरा अभिलेख मै आएकोले सत्य देखियो तर दिवंगत भएपछि उनको संझनामा बनाएको भन्ने चाही सत्य देखिएन । शुरुमा राजा प्रतापमल्लले विशाल नयाँ पोखरी खन्न लगाइएको हुनाले त्यो पोखरीको नाम नै न्हूपुखु(नयाँ पोखरी ) नामाकरण हुन गएको देखियो । यो पोखरी निर्माण भई समापन हुनेवेला सम्ममा घटना र परिस्थितिले बेग्लै मोड लिइसकेको भएर दिवंगत छोरालाई संझी रानीले अति शोक गरेको र रानीलाई सान्वना दिन पोखरी बनाई पोखरीको नाम पछि रानीपोखरी कहलिन पुगे भन्ने जस्ता बनावटी कथन संग सामीप्य हुन गएको मात्र हो ।
ऐतिहासिक काल घटनाले चक्रवर्तेन्द्र मल्ल राजा घोषित भई उनको नाममा मुद्रा समेत प्रसारित हुंदा को समय अगावै न्हूपुखु बन्न शुरु भइसकेको र त्यो न्हूपुखु बनी तयार भइ समापन गराउनु भन्दा अगावै चक्रवर्तेन्द्र मल्लको मृत्यु हुन पुगे । नेपालसंवत् ७९० आश्विनमा रानीपोखरीको समापन भई पोखरीको चार सुरमा एउटै व्यहोरा भएको शिलालेख राखियो । सो भन्दा अघि नेपालसंवत् ७९० माघमा माधवनारायणको मूर्ति स्थापना भएको र मूर्तिको पादपीठमा अंकित अभिलेखले यसरी बताउंछ ।
कवीन्द्र जय प्रतापमल्ल परम भट्टारकदेवन महाराजाधिराज नेपालेश्वर राजराजेन्द्र श्रीश्री जयचक्रवत्र्तेन्द्रमल्लदेवस नामन ..................दयकाओ माधव स्थापन याङा जुरो ।।
कोहीकोही भूपालेन्द्र मल्लको पालामा यो पोखरीको व्यापक सुधार तथा रमणीयता प्रदान गर्ने भएको र तत्कालीन रानी भुवनलक्ष्मी यसमा सकृय भएकोले उनै रानीको नामबाट रानीपोखरी नाम रहन भएको भन्ने पनि देखिएका छन् । तर अभिलेखीय स्रोतहरुमा यो कुरा देखिएको छैन ।
शिलालेखमा शाके १५९२ पनि छ र नेसं ७९० पनि छ ।माधवनारायणको मूर्तिमा नेसं ७९० माघ को मिति उल्लेख छ भने चारसूरमा रहेको शिलालेखमा नेसं ७९० आश्विनको मिति छ । चार सूरमा रहेको शिलालेखमा शाके १५९२ पनि उल्लेख छ । नेसं ७९० आश्विनलाई शाकेमा भन्नु पर्दा १५९२ कार्तिक हुने जस्तो भ्रम पनि अभिलखमा उल्लेख छ । यसको प्रमुख कारण पूर्णिमान्तमान र शाकेलाई शक मान्नुको परिणाम हो ।
नेपालसंवत् ७९० मा ८०२ जोड्यौं भने लिच्छविसंवत् १५९२ आउने हो यसलाई शाके संवत् भनेर मानेको हो । तर शाकेसंवत् भनेको शकसंवत् होइन । अतः शाके १५९२ भनेको शक १५९० कार्तिक देखि १५९१ आश्विन सम्म रहने भएकोले नेसं ७९० माघ भनेको विसं १७२५ माघ र नेसं ७९० आश्विन भनेको विसं १७२६ आश्विन हो ।
शाके १५९२ लाई नेै शकसंवत् ठान्नेहरुले १५९२ मै १३५ जोडेर विसं १७२७ गर्दै आएको एउटा भ्रम र नेपालसंवत् पनि शाके संवत् पनि अमान्तमान हो तर शक र विक्रम जस्तै पूर्णिमान्त ठानेर आश्विनलाई नै कार्तिक भन्दै अर्को भ्रम अपनाइएको छ । वास्तवमा शुक्लपक्ष दुवै मानको एउटै हो कृष्णपक्षमा मात्र फरक पर्ने कुरालाइ यहाँ बिर्सेको छ । यस प्रकारको जुन त्रुटी शिलालेखमा उल्लेख भएका छन् वास्तवमा विप्रजन लेखक कृष्णदेव मिश्र र वशिष्ठ शर्मा का त्रुटि हुन् । यसले धेरै इतिहासकारहरुको दिमाग खाइ दिएको छ ।
विसं १९९० को महा भूकम्पमा पनि रानीपोखरीको पनि क्षति भएको थियो । त्यसपछिका समयमा लेखिएका लेख तथा पुस्तकहरुले पोखरीको मध्यभागको देवल दथुदेगलाई कसैले शिव मन्दिर त कसैले वालगोपालको मन्दिर भनी लेख्न थालेको देखिन्छ । वास्तवमा काठमाडौंको ब्रिटिश रेजिडेन्सीमा डाक्टर भई नेपाल आएका हेनरि एमब्रोस ओल्डफील्डको बसाइ नेपालमा विसं १९०७ देखि विसं १९२० सम्म बसेको देखिन्छ । उनको भनाइ अनुसार रानीपोखरीको दथुदेग लाई देवीको मन्दिर भनी लेखेका छन् ।
निष्कर्ष
यसप्रकार माथि उल्लेखित कथनहरुको बारेमा खुलासा हुन अति आवश्यक छ । त्यसकारण यी खुलासाहरु चिन्तनमनन भएर जाला भन्नको लागि अपेक्षा गरी यो लेख तयार गरिएको हो । हरेक विषयहरुमा अनेकौ कथा कुथुङ्ग्रीहरु जोड्न ल्याइएका हुन्छन् । कोहीकोही त केही कुरा होकि जस्तो भान हुने गरी गफहरु दिइरहेका हुन्छन् । ती केवल गफ मात्रै हुन् या यथार्थ पनि छ छैन भन्ने कुरा विवेकको सूत्र प्रयोग गरेर हेर्नुपर्ने हुन्छ ।
यसरी विवेक प्रयोग गर्दा सर्व प्रथम अभिलेखले के भनी रहेको छ त्यस मै पहिलो ध्यान आकर्षण हुन जरुरी छ । किनकि रानीपोखरीको चारसुरमध्ये तीनसुरका शिलालेखहरु प्रकाशित छन् , पोखरीको उत्तर डिलमा माधवनारायणको मूर्तिको पादपीठमा अभिलेख छ , प्रतापमल्ल चक्रवर्तेन्द्रमल्ल र महीपतेन्द्रमल्लको सालिक सहितको हात्ती छ त्यस हात्तीको गलामा पनि अभिलेख छ । ती अभिलेखमा पनि के छ भन्ने तिर चासो दिन छोडेर कताकता गफाष्टकहरुको गफ सुन्न र पत्याउन तिर लागी हाल्छन् । वास्तवमा विवाद एवं भ्रमको मूल कारक तत्व नै यही भइरहेका हुन्छन् ।
सहयोग लिइएका पुस्तक तथा लेखहरु
१. देवमाला वंशावली — श्री योगी देवीनाथ मृगस्थली
२. रानीपोखरीको इतिहास — शंकरमान राजवंशी
३.टुंडिखेल वरपरका विद्यमान स्मारक एवं देवस्थलहरु —डा. साफल्य अमात्य
४.जनैपूर्णिमादेखि रानीपोखरीसम्म — डा. महेशराज पन्त
५. इतिहासका थप पृष्ठहरु — डा. गोविन्द टण्डन
लेखहरु
१.न्हूपुखु वा रानीपोखरी — पूर्णिमा अंक ५६,२०४०
२.नेपालको काठमाडौंको रानीपोखरी : एक ऐतिहासिक सम्पदा— नेपाल सम्पदा संघ,२०७४
प्रतिक्रिया