×

नक्कली शिलालेख बनाइ सक्कली इतिहासको आशा

images

 ढुंगालाई काँटछाँट गरी बुट्टा र अक्षर कुंद्न मिल्ने सतह बनाई अक्षर कुंदिएको शिलालाई शिलालेख भनिन्छ भन्ने कुरा सर्वविदित नै छ । त्यस्तो शिला पछि गएर आकार बढेर ठूलो हुन सक्छ भनेर पत्याउने र विश्वास गर्ने त परै जाउन कल्पना सम्म पनि गर्न सकिन्न । यसरी कल्पना नै गर्न सकिन्न भने पहिले १४.५ सेमि उचाइ १३.५ से.मि चौडाइ भएको शिलालेख अहिले १६ सेमि लम्वाई १६ सेमि नै चौडाइ भयो कसरी ? पहिलेको र अहिलेको एउटै हो भन्दै त्योकुरालाई दावा गर्दै गर्दा पत्याइयो पनि किन ? पत्याउनेहरु कस्ता हुन्? के ढुंगा पुरानो भए पछि फुलेर साइज ठूलो हुन्छ भन्ने बैज्ञानिक आधार कहीं छ र ? यस्तो कुरा कहिल्यै पनि सुनेकोछैन ।

भक्तपुरको दत्तात्रय मन्दिरको दक्षिणमा पुजारी मठ छ । त्यही पुजारी मठको मयूर झ्याल भएको गल्लीबाट दक्षिण तर्फ नारायण मन्दिर चोक आउंछ । त्यही चोकमा दक्षिण फर्केको पाटीको भित्तामा शिलालेख जडान भएको छ । त्यो शिलालेखको नाप लियो भने उचाइ पनि १६ सेमि र चौडाइ पनि १६ सेमि नै छ । । त्यस्तो छापा उतार शिलालेखको जत्रो आकार हुन्छ त्यत्रै आकारको उतार निक्लने गर्दछ । त्यही भएर त्यो छापा उतारको नाप जहिले गएर लिन गएपनि त्यही आकार मात्रै हुने हो ।

नेपाल सरकारको निकाय राष्ट्रिय अभिलेखालय रामशाह पथमा भक्तपुरको शिलालेख संकलन सूची छ । त्यस सूचीको बट्टा नं ३ खामसंख्या १९ र अभिलेख संख्या ६१ मा त्यही भक्तपुर जेलाँ टोलको पाटीमा रहेको शिलालेखको छापा उतार संकलित छ । त्यसको नाप उचाइ १४.५ सेमि छ चौडाई १३.५ सेमि छ । यदि ती दुवै शिलालेख एउटै भएको भए पहिलेको भन्दा अहिलेको ठूलो साइज भयो कसरी ?

राष्ट्रिय अभिलेखालयमा संकलनमा रहेको शिलालेखको छापा उतार र हाल जेलाँ पाटीको शिलालेखको छापा उतार संगै राखेर तुलना गर्न सकिने कुरा हो । ती दुइटै शिलालेखको छापा उतार संगै राखेर तुलना गर्दा पनि उही हो केही फरक छैन भनिन्भने उनको आँखामा अवश्य दोष छ भन्नसकिन्छ । होइन भने सामान्यतया जसको नजरमा पनि फरक नै देखापर्ने गरेको छ ।

हाल जेलाँपाटीको शिलालेखको छापा र अभिलेखालयमा रहेको ती दुइटै शिलालेखको छापा उतारको
तस्वीर

कतिपय कुरा तस्वीर आफे  बोल्छ । त्यही भएर अक्षरको आकार प्रकार शीर्ष चिन्हहरुको बारेमा अक्षर कुंडाइको ढंगको बारेमा थप टिकाटिप्पणी गरिरहनु पर्ला जस्तो लाग्दैन । एकदम सजिलो उपाय हाल जेलाँ पाटीमा भएको शिलालेखको छापा उतार लिएर राष्ट्रिय अभिलेखालयमा रहेको उतार संगै राखेर तुलना गर्ने हो भने घाम जत्तिकै छर्लङ्गै भइहाल्ने हुन्छ । संवत्को एकस्थानी अक्षर पुरानोमा अस्पष्ट भएकोले उक्त एकस्थानी अक्षर ७ भनेर कल्पना गरी संवत्८२७ बनाउनेकीर्ते काम भएको छ भने तिथि अस्पष्ट भएकोले दशमी भनेर कल्पना गरी कीर्ते काम भएको छ । यसबाट ढाँट्ने ढँटुवा काम समात्न सजिलो भएको छ । यो हो नेपालसंवत्८२७ वैशाख शुक्ल सप्तमीको दिन दशमी तिथि पनि पर्दैन र बृहस्पतिवार पनि पर्दैन यो कुरा तारिख गणनाबाट छर्लङ्गै हुन्छ । अर्को कुरा शिलालेखको पाठमा संवत्लाई शव्दमा पनि दिइएको छ । त्यसरी शव्दबाट व्यक्त गरिएको संवत्मा शंख्या जोग वसु भनेर संख्याले ९ जोगले २ र वसुले ८ गरेर अंकानां वामतो गतिको सूत्र बमोजिम ८२९ भनेर स्पष्ट बोलेको हुंदा हुंदै शंख्वासंवत्जनिएको अभिलेख भेटियो भन्दै कीर्ते शिलालेख खडा गरेर हल्लाखल्ला गर्नुको कुनै औचित्य छैन । यही विषयलाई थप उजागर गर्ने उद्देश्यले यो लेख तयार गरिएको छ ।

राष्ट्रिय अभिलेखालयमा रहेको शिलालेख छापा उतारको शुद्ध मूलपाठ यस प्रकार छ
 १. ॐस्वस्ति।। (ॐ अद्य) वाराहकल्पेत्या (दि) ।। शंख्याजोगवसु
 २. श्चैव मासि माधवकृष्णयोः । ब्रम्हातिथि तस्याजीव जी
 ३. ण्र्ण (उद्धा)रते दिने । अथ नेपालभाखा (शाख्ये) सम्व
 ४.त्८२(९) वैशाखकृष्ण (द्वादशी) उ(त्र)भद्रनक्षत्र वृ
 ५.हस्पतिवार थ्वकुन्हु , श्रीश्रीश्री विष्णु प्रीतिन, श्री२
 ६. जय भूपतीन्द्र मल्लदेव महाराजा , प्रमान हाकु
 ७. भारोया वेलस चुकुति प्रमुखन, मनोहोलसिं जी
 ८. (व) त्वारनायक, रामचन्द्र त्वारनायक जेलाटोल
 ९. या पञ्च सकरस्यनं थ्व फले जीण्र्ण उद्धार याङा ।।
 १०. थ्वफले सुनानं कचंगल उपद्रव याङाव सेनक
 ११. रसा पञ्चमहापातक,जेलाटोलया लोकन वि
 १२. चार याङाव सेल्हो आदिन याङाव यातसा श्री ३
 १३. शिवलिंग थापना याङाया पुण्यलाकः ।। शुभ ।।
उल्था कल्याण होस्।

ॐ आज वराह कल्पको शुरुमा । शंख ९ जोग २ वसु ८ (८२९) महिना वैशाख कृष्ण पक्ष द्वादशी तिथिमा जीर्णोद्धार गरियो । अव नेपाल भाषामा संख्या नेपाल संवत्८२९( विसं १७६५) वैशाख कृष्ण द्वादशी उत्रभद्र नक्षत्र बृहस्पतिवार यस दिनमा श्री ३ विष्णु प्रीतिको लागि श्री २ जय भूपतीन्द्र मल्लदेव महाराजाधिराज र प्रमाण हाकु भारोलेराज्य गरिरहेको वेला चुकुति प्रमुख, टोलनायक मनोहरसिं र टोलनायक रामचन्द्र एवं जेलाटोलका पंच भलादमी सकल भई यो फले पाटी जीर्णोद्धार गरियो । यो फले पाटीलाई कसैले कचिंगल वा उपद्र रचाई विगारे भने उसलाई पंचमहापातक लागोस्। जेला टोलका बासिन्दा लोक जनलेपनि हेर विचार गरी वेलावेलामा मर्मत संभार गरी जीर्णोद्धार गर्दै रहे भने श्री ३ शिवलिंग स्थापना गरे जति नै पुण्य लागोस्। शुभ ।।

स्पष्टीकरण

पंक्ति १ मा (ॐअद्य) अस्पष्ट भइरहेको ,कल्पेत्यादि को ( दि )अस्पष्ट, संख्याकोसं को ठाउंमा तालव्य शं प्रयोग भएको, पंक्ति ३ मा उद्धारते शव्दको (उद्धा )अस्पष्ट , नेपाल भाषा शाके लेखिएकोमा षा को ठाउंमा खा र शाकेको ठाउंमा शाख्ये भइरहेको , पंक्ति ४ मा ८२९ मा पछाडिको एक स्थानी (९)अंक अस्पष्ट रहेको साथै वैशाख कृष्ण द्वादशी को (द्वादशी) अस्पष्ट र उत्रभद्रको (त्र)अस्पष्ट रहेको हो । आजकल जेलाँ टोलमा रहेको शिलापत्रमा यसरी अस्पष्ट कुनै पनि छैन । अघि स्पष्ट रहेको पछि अस्पष्ट हुने स्वाभाविक नियम हो । तर अघि अस्पष्ट भएको अहिले स्पष्ट भएको पाउनु अस्वाभाविक भन्न सकिन्छ । यसको मतलव छर्लङ्ग यो हुन्छ कि पुरानो शिलापत्र हटाएर अर्को बनाएर राखेकै हो । यसमा कुनै शंकागर्नु पर्ने देखिंदैन ।

अघि यो शिलालेख छापिदाँ देखिने पाठ यसप्रकार थिए । जस्तै शंकरमान राजवंशीको भक्तपुर शिलालेख सूची(वि.सं २०२०) मा संवत्८२ह्वैशाखकृष्ण ...वृहस्पतिवार भनी मिति पढिएको। यसको मतलव संवत्को एकस्थानी अंक र तिथि अस्पष्ट भएर पढ्न नसकिएको । (भ.शि.सू ,पृ २८) मोहनप्रसाद खनालकोमध्यकालीन अभिलेख ( वि.सं २०३०) मा उहाँले पनि संवत्८२७ वैशाखकृष्ण दशमी उत्रभद्र नक्षत्र वृहस्पतिवार भनेर त पढ्नु भयो । तर शिलालेख मै शव्दात्मक संवत् शंख्याजोग वसुश्चैव मासि माधव कृष्णया भनेर दिइएको तिर भने पटक्कै ध्यान दिइएको देखिएन ।(म.अ,पृ६६)

योगेशराजको सुथां अभिलेख प्रकाश(वि.सं २०५५) मा उहाँले पनि संवत् ८२७ भनेर नै पढ्नु भयो । तर उहाँले पनि शव्दात्मक संवत्लाई शिखाजोगवसु भनेर मात्र पढ्नु भयो यसको के अर्थ आउंछ त्यो भने खुलाउन सक्नु भएन । (सुथां,पृ१३) विसं २०५६ साल माघमा प्रकाशित हिमाल १—१५ जर्नलमा अशोक श्रेष्ठले भक्तपुर जेला टोलका सम्वद्ध वडा कार्यालयका कोजु नामगरेको कर्मचारीले भनेको छ कि यहाँ अघिको शिलालेख पुरानो अस्पष्ट भएर अर्को बनाएर राखेको थियो भनी बोलेको कुरा लेख्नुभएको छ ।

(शं ने पृ.२२)  काशीनाथ तमोटको शंखधरकृत नेपालसंवत्(विसं २०६५) मा उहाँले पनि शिलालेखको मिति संवत्८२७ भनेरै पढ्नु भयो । तर उहाँले पनि शव्दात्मक संवत् उल्लेख भएकोलाई उपेक्षा नै गरेको देखिन्छ । हुनत उहाँले अभिलेखालयको छापा उतारको फोटो र पाटीमा हाल रहेको शिलालेखको फोटो दुवै छपाउनु भएको छ । यद्यपि अभिलेखालयमा रहेको छापा उतारको नाप भने कहीं कतै खुलाउनु भएन । यहाँ आपत्तिजनक कुरो तड्कारो रुपमा यही नै देखियो कि ती दुइ वटै छापा उतार एउटै शिलापत्रको छापा हुन्भनेर सफेद झूठको सहारा लिएको स्पष्ट छ । तव उहाँको नियत माथि प्रश्न चिन्ह सोझिन गएकोछ । (शं ने पृ.९)

 तारिख गणना

शंखधरकृत नेपालसंवत्नामक पुस्तकमा दिइए बमोजिम शिलालेखको मिति ८२७ वैशाख कृष्ण दशमी वृहस्पतिवार लाई लिएर तारिख गणना गर्दा बार र तिथि दुवै मिल्न आएन । शिलालेखमा उल्लेख आएको शव्दात्मक मितिले शंख्या जोग वसु भनेको नेपालसंवत्८२९ नै हो भनेर भनीरहेको छ भने गणना गर्दा पनि तिथि वैशाख कृष्ण द्वादशी र बृहस्पतिवार ट्वाक्कै मिल्न आएको हुनाले गणना समेत प्रमाण स्वरुप यहाँ दिइएको छ ।

नेसं ८२९ वैशाख कृष्ण द्वादशी उत्रभद्र नक्षत्र बृहस्पतिवारलाई लिएर गणना गरिन्छ ; नेसं ८२९ मा ८०२ जोडे पछि लिच्छवि संवत्१६३१ आउंछ । शकसंवत्भनेको चैत्रादि र लिच्छविसंवत्कार्तिकादि भएको स्मरण गर्दै लिच्छविसंवत् शक पूर्व २ बाट शुरु भएकोले यसलाई शकसंवत्बाट १६२९ कोकार्तिक देखि १६३० आश्विनसम्म रहने हुन्छ । यहाँ नेसं ८२९ वैशाख भएकोले यसको इष्ट शक १६३० हुने भयो । यही इष्टशक १६३० मा ७८ जोडे पछि इष्ट इश्वी सन १७०८ आउंछ । यही इष्ट इश्वी = १६३० + ७८ गर्दा =इश्वी १७०८ आउने भएको हो ।

इश्वी १७०८ लाई ४ ले भाग गर्दा निःशेष हुने भएकोले यो १७०८ लिपयर (प्लुट वर्ष) वर्ष हुनेभयो ।तिथिगण(अमान्तमान अनुसार ) = चै १ +वै.कृ.द्वादशी (२७) =५७ दिन । ५७ — २०=३७

न्यास १

यस गणनाको परिणाम अनुसार वैशाख कृष्ण द्वादशीलाई ५७ तिथिगण लिएर नेसं ८२९, शक १६३० इश्वीसन १७०८ मे महिना ६ तारिख बृहस्पतिवार हो भनी माथिको गणनाबाट सिद्ध हुन आएको छ । तद्नुसार तारिख आएको आधारमा वि.सं १७६५ वैशाख २२ गते वृहस्पतिवार पर्न आउंछ ।

शंखधरकृत नेपालसंवत्नामक पुस्तक आद्योपान्त नेपाल भाषामा लेखिएको छ । यसमा नेसं ८२९ को अभिलेखको मितिलाई नेसं ८२७ को बनावटी शिलालेख बनाएर त्यसैको आधारमा नेपालसंवत्को व्याख्या विश्लेषण गर्दा जुन अप्रामाणिक धरातल बन्न पुगेको हुनाले समग्रमा उक्त पुस्तक अप्रामााणिक हुनपुगेको छ । जसले गर्दा ऐतिहासिक धरातलमा यसले छेउटुप्पो कहीं कतै सकारात्मक प्रभाव पार्न सकेको छैन । जस्तो उदाहरणको रुपमा मुख्यतः केही नमुना यस प्रकार छन्।

क) एउटा टुप्पो समाए अर्को टुप्पो मिलेन भन्ने उहाँले ख्याल राखेन एकातिर नेपालसंवत्शुरु हुंदा कलिगत ३९८१ भयो भनेका छन् भने अर्कोतिर नेपालसंवत्को शुरु हुंदा शक ८०२ भयो पनि भनेका छन्। यहाँ ३९८१ लाई समाए ८०२ मिल्दैन र ८०२ लाई समाए ३९८१ मिल्दैन भन्ने ख्याल उहाँमा छैन । किनभने कलिगत र शक बीचको अन्तर ३१८० हो । त्यही भएर यदि ३९८१ लाई समाउने हो भने ३१८० मा ८०१ जोड्नु पर्ने हुन्छ । यदि ८०२ समाउने हो भने ३१८० मा ८०२ जोड्दा ३९८२ भन्नुपर्ने हुन्छ । तव यता ३९८२ भन्न पाइएन । त्यसकारण उहाँको व्याख्या टापटिपे पाराको छ भन्न सकिन्छ । यस्तो टापटिपे पाराले इतिहास बन्दैन भन्ने ज्ञान उहाँमा बिल्कूलै छैन ।

ख) अभिलेख उदाहरण दिन जानेको तर त्यसमा देखिने संवत्मा वर्ष अन्तरको ख्याल राखेन
पाटन उवावहीको अभिलेखमा नेसं ५११ छ भने कलिगत ४४९२ पनि उल्लेख छ । नेसं ५११ र कलिगत ४४९२ बीचमा ३९८१ अन्तर मिले पछि शक र नेपालसंवत्बीच ८०२ को अन्तर हुंदैन भन्ने उहाँले ख्याल राखेन ।

ग) पाटन सुनधाराको अभिलेखमा नेसं ५२४ छ कलिगत ४५०५ पनि उल्लेख छ । नेसं ५२४ र कलिगत ४५०५ बीचमा ३९८१ अन्तर मिले पछि शक र नेपालसंवत्बीच ८०२ को अन्तर हुंदैन भन्ने उहाँले यहाँ पनि ख्याल राखेन ।

घ) .भक्तपुर कुमारीचोकको अभिलेखमा नेसं ७९७ छ भने कलिगत,४७७८ पनि उल्लेख छ । नेसं ७९७ र कलिगत ४७७८ बीचमा ३९८१ अन्तर मिले पछि शक र नेपालसंवत्बीच ८०२ को अन्तर हुंदैन भन्ने उहाँले यहाँ पनि ख्याल राखेन ।

ङ). नेपालसंवत्उठान हुंदा इस्वी ८७९ अक्टोवर २० तारिख पर्न आउंछ भन्न जानेको छ । तर इस्वी ८७९ भएको वर्षमा शक ८०२ हुंदैन भन्ने थाहा छैन । यदि शक ८०२ कार्तिकमा नेपालसंवत् उठान भयो भनियो भने विसं ९३६ हुंदैन भन्ने थाहा छैन ।

च) फेरि विसं ९३६ कार्तिकशुक्ल प्रतिपदाको तद्नुसार इस्वी ८७९ अक्टोवर २० हुने हो भने तद्नुसार शक ८०२ हुंदेन भन्ने पनि थाहा छैन ।

छ) शक ८०१ शुरु भएर छ महिना पछि कार्तिकशुक्ल प्रतिपदाको दिन शक ८०२ हुन्छ भनिएको छ । यसबाट लेखक तमोट गणितमा जेरो भन्न सकिन्छ । चैत्र देखि शुरु हुने महिना गन्दा कार्तिक ८ औ महिना हुन्छ । शकसंवत ८०१ शुरु भएर ८ महिना मात्र भुक्त हुंदा खेरि नै ८०२ भयो भन्न पाइने होइन ।

ज) लेखक तमोटजीले सुमतितन्त्र र मानदेव संवत्को बारेमा उल्लेख त गर्नु भयोतर त्यसबारे एक प्रतिशत पनि ज्ञान उहाँमा छैन भन्ने बुझिन्छ । त्यसरी एक प्रतिशत पनि ज्ञान नभएको मान्छेले किन जान्नेसुन्ने बन्नु परेको होला अचम्म छ । कत्तिनबुझेको जस्तो नेसं ४९५ मा सुमतितन्त्र सार्दा मानदेवसंवत्३०४ लेख्न छुटेको हो यो थपुवा होइन भनिएको छ । मानदेवसंवत्३०१ वैशाख भनेको शक ८०० वैशाख र विसं ९३५ वैशाख भनेर बुझने । तर शक ८०० को अर्को वर्ष ८०१ हुने विसं ९३५ पनि अर्को वर्ष ९३६ हुने मानदेवसंवत्३०१ मात्र अर्को वर्ष ३०४ बिती सक्ने यो के खालको हिसाव घोकेर बसेको हो अचम्म छ ?
समस्या बाटोमा जे भेटियो त्यही टिपेर हिड्नेलाई टापटिपे भन्ने गर्छ । शंखधरकृत नेपालसंवत्नामक पुस्तक पनि टापटिपे बस्तुको संगालो मात्र हो । लेखकले शंखधरको विषयमा थप समस्या उव्जाइ दिएको छ ।

किनकि शंकुदत्त र शखंधर एकै व्यक्ति हो भनिएको छ । कोही पनि मान्छेले आफनो नाम बिगार्दैन र अरुले आएर नाम बिगार्न आयो भने पनि त्यो क्षम्य हुंदैन यो सवैलाई थाहा छ । राष्ट्रिय विभूति शंखधरलाई मानेको हो शंकुदत्तलाई होइन । शंखधरले त नेपालसंवत्लाई गौरवमय बनाउनमा अतुलनीय योगदान दिएको व्यक्तित्व भनेर राष्ट्रिय विभूति घोषणा गरेको हो शंकुदत्तले के गरेको छ ?

उसको योगदान के हो केही प्रमाण राख्न सकेको देखिंदैन । त्यसैले पनि तमोटजी को अध्ययन केवल टापटिपे मात्र हो अरु होइन भन्न सकिन्छ । यदि शंखधरको नाम सुनौला अक्षरले लेख्नु पर्ने व्यक्तित्व हो भने शिलालेखमा उनको नाम भेटियो भन्नको लागि नक्कली शिलालेख बनाएर राख्नु पर्यो किन ? यसरी नक्कली दस्तावेज बनाएर उनको तारिफ गर्नुले राष्ट्रिय विभूति घोषित व्यक्तिको अपमान गर्नु हो ।

शंखधरकृत नेपालसंवत्भनेर पुस्तक लेख्ने तमोटजी लाई कहिलेदेखि नेपालसंवत्लाई शंखधरकृत भनेर विशेषण दिइएको हो भन्ने सम्म पनि थाहा छैन । नेपाली जनमानसमा शंखधर साख्वा नेपालसंवत्को लागि गौरवमय बनाउन योगदान दिने व्यक्ति भनेरमात्र पत्याएको छ उनैले नेपालसंवत्शुरुवात गरेको भन्ने कुरामा विश्वास जनाएको छैन । केवल अपवादको रुपमा तमोटजी एक जना मात्र पर्ने गरेको छ । ताकि नेपालसंवत्शंखधरले शुरुवात गरेको भन्ने कुरामा विश्वास गर्ने उहाँ मात्र हो । किनकि ऐतिहासिक प्रमाण भनेको धेरै कोणबाट परीक्षण गरे पश्चात पुष्टि भएपछि मात्र प्रमाण भनेर मानिन्छ । नत्र त्यो केवल खोष्टा मात्र हुन्छ । उहाँ त्यस्तो खोष्टाहरु बटुलेर प्रमाण भन्न रुचाउनु हुन्छ र शिलालेखमा शंखधरको नाम कतैपनि आएन भनेर शिलालेखमा पनि भेटियो भनेर पुरानो शिलालेख हटाउन लगाई कीर्ते नक्कली शिलालेख समेत बनाएर राख्नेसम्म धृष्टता गरेको देखिएको छ ।

यो वास्तवमा नेवार समुदायको लागि यो जस्तो ठूलो बेइज्जति अरु केही छैन ।

निष्कर्ष हाल जेलाँ पाटीमा रहेको शिलालेखले बनावटी कीर्ते गरेर भए पनि शंख्वा लेखिएको शिलालेख भेटियो भनी हल्लाखल्ला गर्नको लागि केही प्रभाव अवश्य पा¥यो होला । तर यस्तो कीर्ते दस्तावेजले इतिहासलाई केही प्रभाव पार्न सकेको चाहीं होइन , । यदि शंखधरको महत्व थप प्रभावकारी बनाएर प्रचार प्रसार गर्दा यसरी कीर्ते नक्कली दस्तावेज तयार गरेर होइन । तात्कालीक प्राचीन लिखित दस्तावेजको खोज अनुसन्धान गरेर मात्र गरिनु पर्ने हुन्छ । केवल शिलालेखहरु कुनैमा पनि शंखधरको उल्लेख आएको देखिएन भनेर कीर्ते दस्तावेज बनाउने तिर उद्यत हुनु साह्रै दुःखद कुरो हो ।

खुद शिलालेखमा अंकेपि ८२९ जनाइएकोमा दूर्भाग्यवश एकस्थानी अंक ९ फुटेर अस्पष्ट भए पनि अक्षरेपिमा ८२९ रहेकै छ त्यसलाई वास्ता नगर्नु ठूलो भूल हो । अहिले कुनै लिखतमा रकम उल्लेख गर्दा अंकेपि लेखेर मात्र पुग्दैन अक्षरेपि पनि लेख्नु नितान्त जरुरी छ भने जस्तै शिलालेखमा पनि साल मिति अंक लेख्नुको साथै शव्दात्मक संवत्जनाउनुको कारण यही हो । यी कुरा बुझ्नु सुझनु छैन उल्टो शंखधरको नाम उल्लेख भएको शिलालेख भेटिएर डाह भएकाहरुको निंद हराम भएको भनी आफनो पुस्तकको पृष्ठ २२ मा लेखेको छ । यसले निद हराम अरुको होइन स्वयं उहाँलाई चाही अवश्य हुने देखिएको छ । यसले राष्ट्रिय विभूति शंखधर साख्वाको महिमालाई नै हिलो छ्याप्ने काम भएको भन्न सकिन्छ ।

यदि उनै विभूतिको महिमालाई थप गौरवमय बनाउने भए तात्कालिक स्रोतको खोजी गरेर
अनुसन्धान अघि बढाउनु जरुरी छ । तर त्यसरी नक्कली शिलालेख बनाएर होइन । यस्तो नक्कली शिलालेखबाट सक्कली इतिहास बन्ला भनेर आशा गर्नु दिवा स्वप्न सिवाय अरु हुने छैन ।

शुक्रबार​ ५ असोज २०८० ०५:२५ PM मा प्रकाशित

प्रतिक्रिया