काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले एकता र स्वतन्त्रताको संयुक्त मोर्चा बनाएको स्पष्ट पारेका छन् ।
आज (सोमबार) काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूहरुको मोर्चा कसैको विरुद्ध परिलक्षित नभएको स्पष्ट पारे ।
उनले बरु मोर्चा सबैलाई समेटेर अघि बढ्ने बताए । उनले मुलुकलाई समाजवादतर्फ लैजानको लागि आफूहरु गम्भीर रहेको सुनाए ।
उनले हिजो हतारमा नेकपाको गठन गरेको भन्दै अहिले भने हतार नगरी मोर्चाको बाटोबाट जान लागिएको जिकिर गरे । उनले आफूहरु यो मोर्चामार्फत नयाँ युगतर्फ अघि बढेको स्पष्ट पारे ।
उनले आफूहरु चार दलबीच निर्वाचनअघि नै मोर्चा बनाउने प्रयास भएको सुनाए । उनले मोर्चामा विप्लव नेतृत्व गरेको नेकपा पनि सहभागी भएकोलाई गुणात्मक महत्व रहेको सुनाए । उनले विप्लव मोर्चामा सामेल हुँदा आफूहरुजस्ता संसदीय राजनीतिमा लागेकाहरुलाई धुलोमैलो सफा गर्न मद्दत हुने विश्वास दिलाए ।
उनले मोर्चामा सबैलाई समेट्ने प्रयास गर्ने पनि बताए । प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सङ्केत गर्दै मोर्चामा आउन आग्रह पनि गरे । ‘नयाँ शिराबाट तिता मिठा अनुभवको समीक्षा गर्दै जनताको हकलाई सुनिश्चित गर्न समाजवादतर्फ लैजान गठन भएको हो, हिजो हतारमा एकता गरेर सफल गर्न नसकेका नेताहरूलाई पनि मोर्चाको बाटो गरी जाऔँ’, प्रचण्डले अपिल गर्दै भने, ‘नेकपाले आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अघि बढाउनेछ भन्ने विश्वास लिएको तर दुर्भाग्य जनताको अपार समर्थनका बाबजुद नेकपा बचाउन सकेनौ ।’
उनले नेकपा टिक्न नसक्नुमा सबै समीक्षा गर्नुपर्ने पनि बताए । ‘कहाँ त्रुटि गर्यौ समीक्षा गरौँ । मलाई कहिलेकाहीँ लाग्छ–पार्टी एकता गर्न पो हतार गरेछौ कि ? मोर्चा गठन गरेर एकता गर्ने उद्देश्य राखेको भए सफल हुन्थ्यो कि यो सोच्नुपर्ने प्रश्न छ’, प्रचण्डको भनाइ छ ।
उनले मोर्चाको बाटोबाट नगएर फड्केर जाँदा दुर्घटना भएको भन्दै अग्रगमनका पक्षमा रहेका दलहरूलाई मोर्चामा सहभागी हुन आग्रह गरे । प्रचण्डले हिजो नेकपाको समेत स्मरण र तितो अनुभव ख्याल गर्दै समाजवादी मोर्चा गठन गरेकाले अब आफूहरूको सफलतालाई कसैले रोक्न नसक्ने बताए ।
हामीले एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गर्ने प्रयास गरेका छौ । हरेक पार्टीको स्वतन्त्रतालाई पनि सिद्ध्याउने काम गरेका छैनौ’, प्रचण्डले भने, ‘पार्टीको स्वतन्त्रताको पनि रक्षा होस् र देश र जनताको विद्यमान समस्या समाधान गर्न एकताको आवश्यकतालाई पनि सम्बोधन गरोस् ।
प्रतिक्रिया