×

दुर्लभ सालक संरक्षणार्थ काभ्रेलीको चासो

images

काभ्रेपलाञ्चोक, ७ फागुन : विश्व सालक दिवसका अवसरमा शनिबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित थुम्कीमा ‘सालक संरक्षणका लागि पदयात्रा’ आयोजना गरियो । स्थानीय सालक संरक्षण समितिद्वारा आयोजित कार्यक्रमअन्तर्गत पदयात्रा, सालकको महत्व र स्थानीयवासीको भूमिकाबारे अन्तरक्रिया गरिएको थियो । हरेक वर्षको फेब्रुअरीको तेस्रो शनिबार विश्व सालक दिवस मनाउने गरिन्छ । बल्थलीमा यसअघि विश्वमै दूर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक संरक्षणार्थ अध्ययन/अनुसन्धान एवं संरक्षणबाट हुने फाइदाबारे चेतनामूलक अभियान गर्दै आइएको थियो । स्थानीय समितिले सालक संरक्षार्थ निरन्तर कार्यक्रम गर्दै आएको भन्दै आगामी दिनमा थप कार्यक्रम गर्दै जाने जनाएको छ । “हामी सालक संरक्षार्थ निरन्तर अभियानमा छौँ । थप अध्ययन, अनुसन्धान एवं संरक्षणमा सहगोयी संस्थाको खोजीमा छौँ”, समितिका अध्यक्ष विष्णुप्रसाद शर्माले भन्नुभयो । जिल्लामा सालकको अनुसन्धान तथा संरक्षणार्थ पुनः अभियान थालिने भएको छ । बजेट अभावमा चार वर्षदेखि रोकिएको अनुसन्धान एवं चेतनामूलक अभियान यस वर्षदेखि पुनः थालिने डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ । बागमती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा बर्सेनि विनियोजन हुने रकम रोकिएपछि बासस्थान अनुसन्धान तथा संरक्षण अभियान पनि चार वर्षदेखि रोकिएको थियो ।

उक्त मन्त्रालयबाट यस वर्षका लागि रु चार लाख रकम विनियोजन भएपछि सालक संरक्षणार्थ अभियानका कार्यक्रम बनाइने वन कार्यालयका प्रमुख शिवप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्ला वर्षमा गरिएका क्रियाकलापको समीक्षा गरी नयाँ योजना बनाएर अभियान सञ्चालनबारे छलफल गरिने छ । कार्यालयका अनुसार प्रदेश सरकारले २०७४/७५ मा रु पाँच लाख, त्यसपछिको आर्थिक वर्षमा रु दुई लाख पठाएको थियो । प्रदेश सरकारबाट चार वर्षदेखि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको समितिका अध्यक्ष शर्माले बताउनुभयो । अभियानकै क्रममा सालकको उपयुक्त सालकको बासस्थान भएका क्षेत्रमा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा थप योजना बनाउन थालिएको उहाँको भनाइ थियो । अभियानता क्रममा जिल्लाको कुन कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाइएको थियो । नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्गोलिन’ रहेका वन कार्यालयका प्रमुख सापकोटाले बताउनुभयो ।

सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत श्रृङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा तीन वर्षअघि पहिलो चरणको चेतनामुलक कार्यक्रम गरिएको थियो । जिल्लाका अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले यसको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको वन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सापकोटाले सालक मानिसका लागि उपयुक्त जनावर भएको बताउनुभयो । उहाँका अनुसार सालकले बालीका कमिला र धमिरा खान्छ, पर्यावणलाई जोगाउन मद्दत पु¥याउँछ, मानिसलाई भने आक्रमण गर्दैन । सालकमा १५ सेन्टिमिटर टाढाका किरा स्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ । पनौतीको बल्थलीस्थित समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण इकाईका अनुसार स्थानीय आठ वटा सामुदायिक वनमा अध्ययन गर्दा सालकको पुरानाभन्दा नयाँ प्वालको सङ्ख्या कमी देखिँदा लोपहुने अवस्थामा पुगेका हुन् । इकाइले स्थानीय दुई सय पचास स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गरेको थियो । इकाइकै पहलमा काठमाडाँै विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए । इकाइले सालक तस्करीविरुद्ध विशेष निगरानी गर्दै आएको छ । दुर्लभ सालक जिल्लामा कति छन् भन्ने कुनै स्पष्ट तथ्याङ्क नभए पनि कालो सालक काभ्रेपलाञ्चोकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको अनुसन्धानबाट खुलेको छ । संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनहरुमा प्राकृतिक बासस्थान सुरक्षित नभएकाले केही वर्षमा लोप हुनसक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपालले बताउनुभयो । “विश्वभर एसिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातीका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातीका सालकमध्ये नेपालमा तामे र कालो रहेका छन्”, उहाँले भन्नुभयो । सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेकाले नेपालबाट यसको तस्करी हुने क्रम बढेको बताइएको छ । वन संरक्षण ऐनका अनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना वा दुवै सजाया हुनसक्ने व्यवस्था छ ।

सोमबार ६ फागुन २०८० ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया