×

लुम्बिनीमा युनेस्को अन्तरराष्ट्रिय विशेषज्ञ समितिको कार्यशाला

images

लुम्बिनी : बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा युनेस्को अन्तरराष्ट्रिय विशेषज्ञ समितिको कार्यशाला आजदेखि लुम्बिनीमा सुरुआत भएको छ । 

    संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग र युनेस्कोको आयोजनामा तीनदिने कार्यशाला सुरु भएको हो ।  लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी संसारभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र भएकाले  धार्मिक तीर्थालुहरुको आवश्यकतालाई पनि ख्याल गर्नुपर्छ भन्नुभयो । लुम्बिनी विश्व शान्ति र बौद्ध शिक्षाको केन्द्र भएको जनाउँदै पुरातत्वको संरक्षणसँगै बौद्ध शिक्षाका लागि ध्यान केन्द्रलगायत न्यूनतम पूर्वाधारका लागि विज्ञ समितिले सहयोग गर्नुपर्ने बताउनुभयो । 

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव डा सुरेश सुरस श्रेष्ठले जापानिज फन्ट इन ट्रष्टको सहकार्य युनस्कोद्वारा सञ्चालित परियोजनाले प्राचीन कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने प्रक्रियामा सहयोग गरेको जानकारी दिनुभयो । 

    पुरातात्विक अनुसन्धान, पुरातात्विकस्थल तथा स्मारकहरूको संरक्षण, स्थल व्यवस्थापनका लागि विद्यमान गुरूयोजनाको पुनराअवलोकन एवं पुरातत्व विभाग र लुम्बिनी विकास कोषका कर्मचारीको क्षमता अभिवृद्धिको काम यसअवधिमा भएको बताउनुभयो । 

    लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरूद्दिन मुसलमानले लुम्बिनीको विकासमा स्थानीय सरकार सधैँ साथमा रहेको लुम्बिनीको विकाससँगै कोषभित्रको विकाससँगै बाहिर क्षेत्रको पनि विकासमा ध्यान जानुपर्छ भन्नुभयो । पुरातत्व विभागका महानिर्देशक शोभा प्रधानाङ्गा, युनेस्को नेपाल प्रतिनिधि मिचाल क्राफ्टले लुम्बिनीको बृहत्तर विकास योजनामा सबैको चासो रहनुपर्ने बताउनुभयो । 

    युनेस्को (जापानिज फन्ड इन ट्रष्ट) अन्तर्गत प्रत्येक वर्ष अन्तरराष्ट्रिय विशेषज्ञ समितिको बैठक बस्दै आएको छ । लुम्बिनी क्षेत्रमा संरक्षणको मूल्य मान्यता राख्दै विकास गर्न सरकार, पुरातत्व विभाग, युनेस्को नेपाल र लुम्बिनी विकास कोषले स्वदेशी र विदेशी विशेषज्ञ सम्मिलित अन्तरराष्ट्रिय विज्ञ समिति बनाइएको हो । यो समितिले वैचारिक रुपमा सम्पदा संरक्षणका सन्दर्भमा सुझाव दिने कार्य गर्छ । 

    संयुक्त राष्ट्रसङ्घको सहयोगमा प्रोफेसर केञ्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजनाको मर्मअनुसार सम्पदा संरक्षणका संरचना बनाउनुपर्ने, बृहत्तर लुम्बिनी क्षेत्रमा पनि त्यही गुरुयोजनालाई अनुसरण गर्नुपर्ने विगतदेखि नै सुझाव दिँदै आइरहेको छ । 

    तीनदिने कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रमा हाल भइरहेका गतिविधि र सम्पदाको दिगो संरक्षण र भावी योजनाका बारेमा छलफल हुने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिनुभयो । कार्यशालाअघि अन्तरराष्ट्रिय विशेषज्ञ समितिको टोलीले आज बिहान प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार, कपिलवस्तु सङ्ग्रहालय र लुम्बिनीस्थित मायादेवी मन्दिर क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । 

सोमबार ५ चैत २०८० ०७:५४ AM मा प्रकाशित

प्रतिक्रिया