×

सांसदहरुको प्रश्न- बजेट असंशोधनीय किन ?

images

काठमाडौँ, ३१ जेठ: प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बजेट किन असंशोधनीय भन्दै प्रश्न उठाउनुभएको छ । विनियोजन विधेयक २०८१ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले बजेट संशोधन नहुने हो भने संसदमा छलफल गर्ने, सुझाव दिने र सम्बन्धित मन्त्रालयबाट जवाफ माग गर्नेजस्ता कार्यहरुको कुनै अर्थ नरहेको धारणा राख्नुभएको हो । 

    बजेट असंशोधनीय हुने भन्ने सोच पुरातनवादी रहेकाले त्यसलाई संशोधन गरेर संसद्मा उठेका विषयसमेत समेटेर जानुपर्ने धाराणा सांसदहरुबाट आएको हो ।

    सांसद ठाकुरप्रसाद गैरेले बजेट निर्माणको प्रक्रिया सुधार गरिनुपर्ने बताउनुभयो । बजेट निर्माणको प्रक्रियाको विगतको निरन्तरता र यथास्थितिको अवस्थाबाट बाहिर निस्केर बजेटलाई संशोधन गर्नसक्नुपर्ने उहाँको भनाइ थियो । लक्ष्यअनुसार पुँजीगत खर्च गर्ने, प्राथमिकतामा आधारित भएर बजेटको निर्धारण गर्ने र विनियोजन कुशलता प्राप्त गर्नका लागि संसद्मा उठेका सुझाव संशोधन गर्नसक्नुपर्ने उहाँको भनाइ छ । 

    “यो बजेट प्रक्रियामा छलफल मात्रै हुने र अल्पविराम पूर्णविरामसमेत परिवर्तन नगरी पास हुने हो भने त्यसको अर्थ रहँदैन । यो तरिका नबदलीकन हामी ठीक ठाउँमा जान सक्दैनौँ । बजेट निर्माणको यथास्थितिको प्रक्रिया नफेरिकन हामीले परिणाम हासिल गर्न सक्दैनौँ”, गैरेले भन्नुभयो । 

    बजेटको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेटले राखेका उद्देश्य तथा प्राथमिकताका क्षेत्रका आधारमा मन्त्रालयहरुले वार्षिक योजना तथा कार्यक्रम बनाएर जानुपर्ने उहाँको भनाइ छ । भूमिसम्बन्धी नीतिगत निर्णय नगरिकन यससम्बन्धी अन्य समस्या सुल्झाउन नसकिने उहाँको धारणा छ । 

    सांसद शान्ति चौधरीले चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा नै विनियोजन विधेयकमा संशोधन गर्न सकिने व्यवस्था ल्याउनेबारे छलफल भएको भए पनि आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने अवस्था आइपुग्दासम्म पनि त्यसले मूर्त रुप नपाउनु दुःखद् रहेको बताउनुभयो । 

    “म सत्तापक्षको सांसद हुँ । तर छातीमाथि ढुङ्गा राखी हाँस्नु परेको छ भनेको जस्तै भएको छ”, उहाँले भन्नुभयो, “गत वर्षको बजेटमा छलफल गर्दा नै अल्पविराम पूर्णविराम पनि परिवर्तन हुँदैन भन्ने विषय आएको थियो र त्यसलाई सच्याएर जाने भन्ने भएको थियो । तर अहिलेसम्म पनि बजेटमा संशोधन गर्न सकिनेबारे कुनै व्यवस्था भइसकेको छैन ।”
  
    सांसद नारायणी शर्माले बजेट निर्माण गर्दैगर्दा तल्लो तहका सरकारलाई बढी रकम विनियोजन गरिनुपर्ने बताउनुभयो । “सङ्घ सरकारले प्रदेश र स्थानीय सरकारलाई बजेट विनियोजन गरिरहेको अहिलेको विधिमै असन्तुष्ट छु । तल्लो तह अथवा स्थानीय तहलाई बढी बजेट दिएर सङ्घीय सांसदहरु कानुन निर्माणमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लागेको छ”, सांसद शर्माले भन्नुभयो । बजेटले एकैपटक धेरैवटा योजना र कार्यक्रममा केन्द्रित हुनेभन्दा पनि सीमित योजना तथा कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
     
    सांसद डा तोसीमा कार्कीले पनि बजेट निर्माण प्रक्रियामाथि प्रश्न उठाउनुभयो । “हामीले बजेटबारे संसद्मा छलफल गर्दैगर्दा खर्च गरेका प्रत्येक मिनेट, प्रत्येक सेकेन्ड आफ्नो धारणा संसद्मा राख्दै गर्दा सम्बन्धित मन्त्रालयले यसलाई कत्तिको महत्व र प्राथमिकता दिएका छन् भन्ने महत्वपूर्ण विषय हो”, सांसद कार्कीले भन्नुभयो, “आफ्नै आँखा अगाडि बजेट अधिवेशनमा भएका छलफलहरु हेर्दा छलफलमा मात्र सीमित रहने तर जनताका समस्या ज्युँकात्युँ रहने अवस्था देखिरहेका छौँ । बजेट निर्माणको प्रक्रियालाई समीक्षा गर्न आवश्यक छ ।” 

    बजेट निर्माण ऐन निर्माण गरिनुपर्ने र बजेटको सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रम र वार्षिक योजनामाथि संसद्मा पर्याप्त छलफल हुनुपर्ने तथा संसद्का सुझाव बजेटमा समेटिनुपर्ने उहाँको भनाइ छ । बजेटमा त्रुटि भेटिँदासमेत संशोधन नगर्ने र यथास्थितिमा पारित गर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
     
    आजको बैठकमा सांसद रामहरि खतिवडाले विसं २०४६ देखि हालसम्म नेपाल सरकारले कुन व्यक्तिले कति व्यक्तिलाई उपचार खर्च दिएको छ र गरिब तथा आर्थिक विपन्नहरुलाई कति खर्च व्यहोरेको छ भनेर श्वेतपत्र जारी गर्न माग गर्नुभयो । उहाँले ७० वर्षभन्दा माथि उमेरका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

    सांसद सरस्वती सुब्बाले शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने शैलीले विनियोजन विधेयक २०८१ मा निरन्तरता पाएको बताउनुभयो । “जसको शक्ति उसकै भक्ति भनेजस्तै शक्ति र पहुँच हुनेको हातमै बजेट छ । मन्त्रीकै हातमा योजना बढी छन”, उहाँले भन्नुभयो, “जुन मन्त्रीले योजना मागेर योजना पार्नुभयो उहाँहरुलाई धन्यवाद छ । जसले बजेट पार्नुभएन उहाँहरुलाई पनि बधाई छ । किनकी हामीले आउँदा बजेट र अबका हाम्रा काम सच्याउनका लागि अनुरोध गरेका छौं । यो लोकतन्त्रको सुन्दर पक्ष हो ।”

    सांसद सूर्यमान तामाङ (दोङ)ले आन्तरिक उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि देशका विभिन्न स्थानमा रहेका खानी र खनिजजन्य स्रोतहरुको उत्खननलाई प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो । नेपालको स्वास्थ्य नीति पुनःसंरचनाको आवश्यकता पनि उहाँले औँल्याउनुभयो । आर्थिकरुपमा विपन्न र पछाडि परेका व्यक्तिलाई राज्यले स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनुपर्ने पनि उहाँको भनाइ छ ।

    सांसद अजयकुमार चौरसियाले सरकारी स्वास्थ्य संस्थामा पर्याप्त लगानी तथा दक्षजनशक्ति हुने तर त्यस्ता संस्थाको सेवा प्रवाह कमजोर हुने प्रवृत्तिका कारण र समाधान खोजिनुपर्ने बताउनुभयो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि राज्य र मातहतका निकाय प्रभावकारीरुपमा लाग्नुपर्ने उहाँको भनाइ छ । भूमिसम्बन्धी समस्याको दिगो समाधान खोजिनुपर्ने सुझाव पनि सांसद चौरसियाले दिनुभयो ।

     आमनागरिकको जीवनस्तर उकास्ने गरी बजेट आउन नसकेको धारणा सांसद शोभा ज्ञवालीले राख्नुभयो । नागरिकलाई सीप विकास र उद्यमशीलता नसिकाइकन आम्दानी कसरी गर्ने र आफ्नो स्थानीयस्तरका उत्पादनको बजार कहाँ हो भनेर थाहा नपाउने उहाँको भनाइ छ । उद्यमशीलता र सीप विकासका तालिमका लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीयस्तरमा उत्पादित वस्तुको प्रवद्र्धन र बजारीकरणका लागि पनि बजेटमा प्राथमिकतामा राख्न नसकेको उहाँको भनाइ छ ।
     
    आगामी आर्थिक वर्षबाट लागू हुनेगरी सरकारले कृषि क्षेत्रमा लगानीको दशक घोषणा गरेकामा त्यसलाई महत्वका साथ कार्यान्वयन गरिनुपर्ने र अपेक्षित नतिजा हासिल गर्नुपर्ने धारणा सांसद रुपा सो.शी (चौधरी)ले राख्नुभयो ।

     सांसद चन्दा चौधरीले गरिबी निवारणका कार्यक्रमलाई छुट्याइएको बजेटको प्रभावकारी कार्यान्वयनका लागि जोड दिनुभयो । त्यस्तै नवप्रवर्तनका लागि युवालाई पुँजी उपलब्ध गराउने व्यवस्था विनियोजन विधेयक २०८१ को सकारात्मक पक्ष रहेको उहाँको भनाइ छ । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि विनियोजन भएको बजेट रकम अपर्याप्त रहेको पनि सांसद चौधरीले बताउनुभयो ।
     
    सांसद अमृतादेवी अग्रहरिले सांसदहरुले बजेट खर्चका लागि धेरै माग राख्नुका कारण बजेटको स्रोत कहाँबाट प्राप्त हुन्छ भनेर नबुझ्नु रहेको बताउनुभयो । “सबै सांसदलाई बजेट चाहिएको छ । तर त्यो बजेटका लागि स्रोत कहाँबाट आउँछ भनेर हामी धेरैलाई थाहा छैन र चासो पनि छैन”, उहाँले भन्नुभयो, “सांसदहरुले बजेटको स्रोतबारे पनि सोधखोज गर्नुप¥यो ।”

    सांसद सपना राजभण्डारीले केही क्षेत्रको वस्तु र सेवामा निजी क्षेत्रको एकाधिकार देखिएकाले राज्यले त्यस्ता वस्तु उत्पादन गरी प्रतिस्पर्धी बजार बनाउनुपर्ने बताउनुभयो । सरकारी संस्थानहरुको क्षमता विकास गरी नाफामा लैजाने र बढीभन्दा बढी रोजगारी सिर्जनाका लागि पनि पहल गर्नुपर्ने उहाँको भनाइ छ । 

    भू–माफियाको चलखेलमा सरकारी स्वामित्वमा रहेका विभिन्न स्थानका जग्गा किनबेच भइरहेको विषय संसद्मा उठाउनुहुँदै सांसद राजभण्डारीले जग्गा मिचिएको विषयमा अध्ययन गरी दोषीलाई कारबाहीको माग गर्नुभयो ।
     
    पुरातनवादी मनस्थितिबाट नयाँ किसिमको कार्यशैली र नयाँ नतिजा दिन नसकिने धारणा सांसद सुशीला थिङले राख्नुभयो । उद्योगधन्दा र उत्पादनलाई प्राथमिकतामा राख्न सकेमात्र मुलुकको आर्थिक समृद्धि हासिल गर्नसक्ने बताउनुहुँदै उहाँले त्यसका लागि नीतिगत, प्रक्रियागत र व्यवहारिस सहजता आवश्यक रहेको बताउनुभयो । चालु आर्थिक वर्षका लागि छुट्याइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटभन्दा आगामी आर्थिक वर्षको बजेट कम हुनुले पनि उद्योग क्षेत्र सरकारको प्राथमिकतामा नरहेको स्पष्ट भएको उहाँको भनाइ छ ।
     
    सांसद तेजुलाल चौधरीले चिकित्सकहरु विदेश पलायन भइरहेको भन्दै देशमै रोजगारी सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले मिर्गौला रोगसम्बन्धी विशेष अस्पताल निर्माण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पतालको अवधारणा रहे पनि अझै उक्त कामले पूर्णता पाइनसकेको भन्दै शीघ्र काम अगाडि बढाउन माग गर्नुभयो ।
     
    सांसद अमरबहादुर रायमाझीले नागरिकको आधारभूत स्वास्थ्य सेवा सुनिश्चिताका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्वास्थ्यमा समान पहुँचको व्यवस्थाअनुरुप स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताउनुभयो ।

     सांसद जवेदा खातुन जागाले भूमिहीन सुकुम्बासीको समस्या चाँडो समाधान गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सुकुम्बासी आयोग खारेज भएको र अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै सरकार परिवर्तनसँगै आयोग खारेज गर्ने र निर्माण गर्ने खेलले गरीब, भूमिहीन सुकुम्बासीको समस्या समाधानमा कठिनाइ हुने बताउनुभयो ।

    सांसद दीपा शर्माले बजेटमाथिको छलफल बदलिनुपर्ने धारणा राख्नुभयो । उहाँले सङ्घीय सांसदले बजेटमा क्षेत्रीयता दृष्टिकोण राख्न नहुने भन्दै खुद्रे बजेट र क्षेत्रगतभन्दा माथि उठेर नागरिकको चाहना र देश विकासको भावनालाई केन्द्रमा राखेर बजेट विनियोजन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकको स्वास्थ्य उपचारको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद मोहनबहादुर बस्नेतले नेपालमा चिकित्सा शिक्षा ऐन संशोधन गरेर नेपाल भित्रै पठनपाठन हुने व्यवस्था मिलाइनुपर्ने माग गर्नुभयो । आगामी पाँच वर्षपछि नेपालमा चिकित्सा क्षेत्रको जनशक्ति अभाव हुने उल्लेख गर्नुहुँदै सांसद बस्नेतले नेपालभित्र चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्न मुलुकभित्रै पढाइहुने व्यवस्था मिलाइनुपर्ने बताउनुभयो ।

    प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट माथि छलफल भएको छ । विनियोजन विधेयक २०८१ माथिको मन्त्रालयगत छलफलअन्तर्गत भोलि ३२ गते शुक्रबार वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ३२ गते बिहान ११ बजे बस्नेछ ।

बिहीबार ३० जेठ २०८१ ०९:२७ PM मा प्रकाशित

प्रतिक्रिया