×

जित्नैपर्ने दबाबमा पौडेल

images

तनहुँ । “देशले मलाई प्रधानमन्त्रीका रूपमा खोजेको छ। एक पटक मुलुकमा सुशासनको जग मात्रै बसाल्न भए पनि कार्यकारी अधिकार मेरो हातमा आउनुपर्छ,” निर्वाचनको मौसम सुरु भएदेखि नै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको यो भनाइ चर्चामा आइरहेको छ। २०४८ सालदेखि निरन्तर निर्वाचनमा होमिएर पाँच पटक जिते पनि पौडेलले मुलुकको कार्यकारी अधिकारको बागडोर सम्हाल्न गरेको प्रयास भने सफल भएको छैन।

पौडेलले यस पटक पनि तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका छन। पछिल्लो पटक उनले २०७४ सालको प्रतिनिधि सभा सदस्यमा पनि यही क्षेत्रबाटै प्रतिस्पर्धा गर्नुभएको थियो। त्यतिखेर नेकपा (एमाले) र नेकपा (माओवादी)बीच गठबन्धन भएका कारण उनले एमालेका उम्मेदवार किसानकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले हार बेहोरेका थिए।

तर अहिलेको अवस्था २०७४ सालको निर्वाचनभन्दा ठीकविपरीत छ, अर्थात् त्यतिखेर एमालेसँग गठबन्धन गरेको माओवादी, एमालेबाट फुटेर नयाँ गठन भएको नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टीसँग कांग्रेसले गठबन्धन गरेको छ। अहिले परिस्थिति पनि बदलिएको र अन्य पार्टीको पनि साथ रहेको हुनाले यस पटकको निर्वाचन जित्न आफूलाई सहज भएको पौडेलको दाबी छ।

निर्वाचन कार्यालयको विवरणअनुसार पौडेल ७८ वर्षमा दौडिरहेका छन। राजनीतिक जीवनमा आफ्नो यो नै अन्तिम निर्वाचन प्रतिस्पर्धा भएको र एक पटक मुलुकको कार्यकारी नेतृत्वमा पुग्ने इच्छा रहेको भन्दै उनी मतदातालाई आफ्नो पक्षमा तान्न गाउँगाउँमा चुनावी प्रचारप्रसारमा खटिरहेका छन । स्वतन्त्रबाट कैँची चिह्न लिएर उम्मेदवार बनेका गोविन्दराज जोशी र नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य एकबहादुर रानासहित अन्य १२ जना प्रतिनिधि सभा सदस्यका उम्मेदवारले राजनीतिक जीवनकै उत्तराद्र्धमा रहेका पौडेललाई मुख्य चुनौती दिइरहेका छन् । गोरखापत्र दैनिकबाट

मङ्गलबार २२ कात्तिक २०७९ ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया