महेन्द्रनगर (धनुषा), २४ फागुन : मिथिला माध्यमिकी परिक्रमा यही फागुन २७ गतेदेखि सुरु हुँदैछ । धनुषाको कौचरीबाट १५ दिवसीय ऐतिहासिक धार्मिक महत्व बोकेको परिक्रमा सुरु हुन लागेको हो ।
नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालुले १५ ठाउँमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदल यात्रा गर्छन् । माध्यमिकी परिक्रममा स्वरुप अनौठो खालको छ । बिनानिम्तो लाखौँ भक्तजन परिक्रमावासी पुगेको स्थानमा पुग्छन् । जहाँ ठूलो मेला लाग्छ । नेपाल र भारतको उक्त दूरी नाङ्गो खुट्टाबाटै भ्रमण गरिन्छ । त्यहाँ १५ देव तथा तीर्थस्थलमा तीर्थालु पुग्छन् । प्रत्येक रात त्यहीँ बास बस्छन् ।
मिथिला माध्यमिकी परिक्रमा १८औँ शताब्दीबाट चल्दै आएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताउनुभयो । सोही यात्राका लागि फागुन २७ गते धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालु प्रस्थान हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले बताउनुभयो ।
माध्यमिकी परिक्रमा भक्तजन दिल खोलेर रमाउँछन् । ढोलक, झायल, कर्ताल, हारमुनियमको तालमा कृतनमण्डली नाच्छन् । भक्तजनले ‘जय सियाराम, जय सीयाराम...’ भन्दै भगवान्को महिमा गान गाउँछन् ।
धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट रामजानकी डोला (प्रतिमा) को अगुवाइमा निस्केको यो धार्मिक यात्रा ठेरा, जमुनिया, बेंगाशिवपुर हुँदै जनकपुरको रत्नसागर मन्दिर पुग्छ । त्यहाँ खाना खाएर परिक्रमाका सहभागी जानकी मन्दिरको दर्शन गर्दै राति जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुरस्थित हनुमानगढीमा विश्राम गर्छन् ।
सूर्योदयलगत्तै उनीहरु भारतको कलानेश्वरका लागि बाटो तताउँछन् । त्यहाँबाट विधिवत् परिक्रमा थालिएको मानिन्छ । यात्रा गरेको चौथौँ दिन प्रवित्र भूमि मटिहानी आइपुग्छ । कोसी, गण्डक, गङ्गा, हिमालय मिथिला क्षेत्रभित्र पर्दछ । यो बृहत् परिक्रमाभित्र पर्छ । राजा जनकको राजधानी जनकपुरधामलाई परिक्रमा गर्नु भनेको माध्यमिकी परिक्रमा हो ।
करिब पौने दुई सय वर्ष पहिले सीयालाल प्रभंस नाम गरेका सन्तले १०–१२ जना साधु मिलेर परिक्रमाको सुरु गर्नुभएको थियो । त्यसपछि मिथिला विहारी (राम)को डोला सुरु भएको बताइन्छ । त्यसपछि किशोरी जीको पनि डोला सुरु भएको भनाइ छ । परिक्रमाले दुवै देशको संस्कृतिलाई जोड्ने काम गर्दछ । यसले मानवलाई धर्मका माध्यमबाट नैतिकवान् र आशावादी बनाउँछ ।
यसको प्रचारप्रसार भएको भए यसले देशलाई राम्रै फाइदा हुने बृहत् जनकपुरधामका अध्यक्ष शीतल साहले बताउनुभयो । माध्यमिकी परिक्रमालाई सोध, खोज र अनुसन्धानको विषय बनाउनुपर्ने उहाँले बताउनुभयो । पन्ध्रदिने यस धार्मिक यात्रालाई व्यवसायीकरण गरेर वार्षिक करोडौँ आर्जन गर्नसक्ने सम्भावना रहेकोे अध्यक्ष साहले बताउनुभयो ।
मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरधामको अन्य डोला हनुमानगढीमा आइतबार जम्मा हुने सुन्दर सदनका महन्त नवलकिशोर दासले बताउनुभयो ।
उहाँका अनुसार आइतबार सबै तीर्थालु हनुमानगढीमा जम्मा हुनेछन् । दोस्रो दिन २८ गते सोमबार बिहानै कल्याणेश्वरका लागि यात्रु प्रस्थान गर्नेछन् । तेस्रो दिन २९ गते भारतकै फूलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीले विश्राम गर्नेछन् भने ३० गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने उहाँले बताउनुभयो ।
त्यसैगरी चैत १ गते जलेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछ भने २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम रहेको दासले बताउनुभयो । चैत ४ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यताअनुसार त्यहाँ यात्रीहरुले होली महोत्सव मनाउने गरेको मिथिला विहारी मन्दिरका महन्थ रामनरेश शरणले बताउनुभयो ।
यस्तै चैत ५ गते धनुषाको पर्वता अर्थात् क्षीरेश्वरनाथ महादेव स्थानमा श्रद्धालुले विश्राम गर्नेछन् भने ६ गते धनुषाधाममा धनुष मन्दिरमा पुगेर विश्राम गर्नेछन् । चैत ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनःभारतको विहारस्थित करुणा स्थानमा विश्राम तथा १० गते विसौलमा पुगेर विधिवत्रुपमा परिक्रमा समापन हुनेछ । अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुनेछ ।
तराई–मधेस र पहाड गरी दुई क्षेत्रका नेपालीलाई एक ठाउँमा ल्याउने सेतु माध्यमिकी परिक्रमा रहेकोे जानकार डा राजेन्द्र विमल बताउनुहुन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा राजा जनकले चार शिवालय क्रमशः कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर स्थापना गर्नुभएको छ ।
त्यसलाई आधार मानी परिक्रमा गरिन्छ । चारवटै शिवालय राजा जनकका इष्ट देव हुन् । वर्षमा एकपटक विशालरुपमा तिर्थालुहरु मोक्क्ष प्राप्तिका लागि मिथिलाको माध्यमिकी परिक्रमा गर्छन् । मिथिलाधामको परिक्रमा गरेपछि मात्रै पाप कट्छ भन्ने धार्मिक विश्वास छ । अति प्राचीन ग्रन्थ विष्णु पुराणअन्तर्गतको मिथिला माहात्मको अध्याय–१२ को ३३ श्लोकमा मिथिला परिक्रमाकाबारेमा विस्तृत वर्णन गरिएको छ ।
प्रतिक्रिया