मन्द,मन्द छ सपनाहरूको घाम
तैपनि
अगेनामा आगो बालेर
ऊ
अर्जाप्दै छ केही थान सपनाहरू
तताउँदै छ अगेनाको डिलमा
एक थान तन र
अनुभूतिहरूको आभासमा मन
आखिर
मधुरो सन्ध्यामा
एउटा अधुरो सपना
असमय
ओझेल पर्यो भन्दैमा
सबै सपनाहरू बेरुजु हुँदैनन् ।
आँखाको नुनिलो पानीमा
अलिकति खुसी पोखिए पनि
इनारको पिँधमा
अझै पनि
बाँकी नै छ सपनाहरूको मुहान
जत्ति ढुङ्गा हाल्छौ
त्यत्ति माथि आउँछ पानी ।
असीम आनन्दका
अनुभूतिहरूको खोजीमा
बाटोमा हिँडिरहेको
एउटा मान्छेको
एउटा रित्तो हात
गोजीको अर्को हात पनि
खाली छ भन्ने नजिर हुँदैन
र त
आफ्ना सपनाहरूको
आरोह अवरोहमा थकित मान्छे
राति ढुक्कसँग निदाउन चाहन्छ र
बिहान उठेर फेरि
सपनाहरूको अर्को चित्र कोर्छ ।
प्रतिक्रिया