एकदिन नदी किनारमा गएँ
नीलो आँखा भएको नदी
उन्मुक्तिको गीत गाउँदै
गन्तव्यको यात्रामा दौडिरहेको थियो
इतिहासको
सुनौलो पानामा बास बसेर बसाइँ सरेको
समुन्नत सभ्यताको खण्डहर झैं
उजाड थियो बगर
बगरमा
विविधताका बग्र्रेल्ती ढुँगाहरु थिए
ती मध्ये
एउटा ढुँगा उठाएर हेरें
लोहोरो जत्रो यो गोलो ढँुगा
कुनैबेला भीमकाय थियो होला
बुढो रुख झैं धुमधुम्ती
दुखेको पहाडमा बस्थ्यो होला
भुकम्प आयो होला कुनै बेला
पहिरोले बगायो होला कुनै बेला
स्वतन्त्रताका फिरन्ते चराहरुले
उक्साए होलान् कुनै बेला
भुइँकुइरोका भुवादार स्पर्शहरुले
भड्काए होलान कुनै बेला आकाँक्षाका इन्द्रेणी रंगहरुले
बहकाए होलान् कुनै बेला
र,
बादल धुम्मिएर
आकाश रोएको कुनै रात
मुग्लान पस्ने सुरले हेलियो होला नदीमा
सकसको धारिलो वेगसँगै
दौडियो होला कुनै बेला
समयको निर्घात छालले
किनारामा हुत्यायो होला कुनै बेला
बिपत्तिको उर्लंदो भेले
अत्यायो होला कुनै बेला
बाँकटे हानेर बाढीमा
बाहिरिन खोज्यो होला कुनै बेला
नदीमा हेलिदै र ठक्कर खाँदै
फेरी हेलिंदै र पाखा लाग्दै
कमजोरीहरु चोइटिंदै र अलग्गिदै
अनाबश्यक छाटिदै र खारिदै
अन्ततः यो गोलो ढुँगा बाँकी बस्यो होला
अचेल मलाई
बगरको ढुँगा पनि
मान्छे जस्तै लाग्न थालेको छ ।
प्रतिक्रिया