कात्तिकदेखी काष्ठमण्डप पुनःनिर्माण

कात्तिकदेखी काष्ठमण्डप पुनःनिर्माण

काठमाडौँ । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डपको पुनःनिर्माण आगामी १ कात्तिकदेखि हुने भएको छ ।
आगामी आर्थिक वर्षको पहिलो साता नै पहिलो तला निर्माण सम्पन्न गर्ने गरी काम शुरु गर्नका लागि अहिले पुनःनिर्माणका लागि आवश्यक सामग्री सङ्कलन भइसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

तीन वर्षमा सबै निर्माण सम्पन्न हुने काष्ठमण्डप पुनः निर्माणका लागि आवश्यक पर्ने सामग्री, काठ, इँटा र माटाको समेत परीक्षण भइसकेको छ । काठबाट निर्माण गरिने भएको हँुदा अन्य निर्माण सामग्रीभन्दा बढी काठको प्रयोग हुनेछ । निर्माणका लागि झण्डै रु १० करोडको काठ प्रयोगमा आउनेछ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको इतिहासमा उल्लेख छ ।
सो ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणमा प्रयोग हुने इँटा र माटाको गुणस्तर परीक्षणसँगै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइसकेको छ ।