अर्को पनि सङ्क्रमित भेटिएपछि सरकार थप रणनीति अपनाउने तयारीमा – EsancharPati
अर्को पनि सङ्क्रमित भेटिएपछि सरकार थप रणनीति अपनाउने तयारीमा

अर्को पनि सङ्क्रमित भेटिएपछि सरकार थप रणनीति अपनाउने तयारीमा

कोरोना भाइरसको नमूना परीक्षणका क्रममा विदेशबाट आएका थप एकजनामा पोजिटिभ देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप रणनीति अपनाउन लागेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिले अपनाइएको रणनीतिलाई थप मजबुत बनाउँदै लगिने बताएका छन् । बुधबार खाडी मुलुकबाट आएका एक जनामा नमूना परीक्षणका क्रममा कोभिड–१९ पोजिटिभ देखिएको हो ।
२ दिन अघी फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजिटिभ देखिएको हो । उनीहरु दुवैको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । यसअघि चीनबाट आएका एक जनामा सङ्क्रमण देखिए पनि उपचारपछि निको भएको थियो ।

‘हिजोसम्म एउटा मात्र केस थियो । उहाँलाई हामीले निको बनाएर पठाएका थियौँ तर अहिले लगातार थप दुई वटा केस देखिन थालेपछि अब हामीले केही रणनीति बनाउनुपर्ने हुन्छ’, डा. देवकोटाले भने । उनका अनुसार पहिलो रणनीतिमा अहिले बाहिरबाट मानिसलाई अत्यन्त व्यवस्थित गरेर होम क्वारेन्टाइनमा राख्ने र त्यसबाट अरुलाई सार्न नदिने तथा क्वारेन्टाइनमा बसेकालाई केही समस्या परेमा तिनको उपचार सरकारले गर्छ ।

डा. देवकोटाले विदेशबाट आएका सबैको परीक्षण गर्न जरुरी छैन भन्दै सबै आ–आफ्ना घरमा बसे भने सङ्क्रमण फैलिन नपाउने बताए । ‘विदेशबाट आएका सबै न सङ्क्रमित हुनुहुन्छ न त नमूना परीक्षण जरुरी रहेको छ । उनीहरु आफ्नै घरमा एक्लै बसून् भनेर लकडाउन गरिएको हो’, उनले भने, ‘विदेशबाट आएकाको लक्षण देखियो भने आइसोलेशनमा राखेर परीक्षण गर्ने हो ।’

उनले अझै पनि कोभिड–१९ पोजिटिभ देखिन सक्ने बताए । ‘कोभिड–१९ पाजिटिभ देखिन सक्छ भनेर नै हामी तयारी अवस्थामा बस्नका लागि लकडाउन गरिएको हो । देखिएकोलाई सरकारले उपचार गर्ने र बाँकी घरघरमा बस्ने हो’, उनले भने ।

कोभिड–१९ पोजिटिभ बढ्दै गए भने अस्पतालमा तयारीलाई तीव्रता दिइने बताउँदै डा देवकोटाले अस्पतालमा सघन उपचार कक्ष थप गरेर सङ्क्रमितको उपचार गरिने जानकारी दिए । उनका अनुसार अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा थप १० सघन उपचार कक्ष निर्माण शुरु गरिएको छ भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटा भवनमा र बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताललाई पनि छुट्टै कोरोनाका बिरामी राख्नका लागि अस्पताल बनाउन थालिएकाले अहिले देखिएका समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares