तिवारी हत्या आरोपमा मेयर कुसवाह पक्राउ

तिवारी हत्या आरोपमा मेयर कुसवाह पक्राउ

रौतहट । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुसवाह (फिरोज) हत्या आरोपमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार काठमाडौंको अनामनगरबाट मेयर कुसवाहलाई पक्राउ परेको हो ।

हिन्दू युवा संघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मेयर कुसवाहलाई पक्राउ गर्न उच्च अदालत वीरगन्जले जिल्ला प्रहरी गौरलाई मंगलबार पत्र पठाएको थियो । तर, मेयर कुसवाह काठमाडौंमा रहेका कारण सिआइबीको टोलीले पक्राउ गरेको एसएसपी घनश्याम अर्यालले जानकारी दिए ।

उच्च अदालत जनकपुरको वीरगन्जस्थित अस्थायी इजलासले तिवारीको हत्यामा दोषी ठहर गर्दै मेयर कुसवाहलाई फागुन २८ गते २० वर्ष जेल सजायको फैसला गरेको थियो । फैसलाको झन्डै डेढ महिनापछि मेयर कुसवाहलाई पक्राउ गरी बुझाउन उच्च अदालतबाट पत्र आएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।