October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

युरोकप फुटबल- इटाली फाइनलमा

स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डमा भर्खरै सम्पन्न खेलमा (पहिलो सेमिफाइनल) मा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो ।

Advertisement

लण्डनस्थित वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इटालीले बाजी मारेको हो ।

खेलमा इटालीले फेडेरिको केइजाको गोलमा ६० औँ मिनेटमा अग्रता लिएको थियो । तर, स्पेनका प्रतिस्थापन खेलाडी अल्भारो मोराटाले ८० औँ मिनेटमा गोल गर्दै खेल बरारबीमा ल्याए । निर्धारित र अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टीमा जेरार्ड मोरेनो र थियागो अल्कान्टाराले गोल गरे । पनि डानी ओल्मो तथा अल्भारो मोराटाले गोल गर्न नसकेपछि स्पेन पराजित भएको हो । इटालीका लागि आन्द्रे बेलोट्टी, लियोनार्दो बुनुची, फेडेरिको बेर्नारडेस्की र जोर्जिन्होले गोल गर्न सफल रहे । म्यानुएल लोकाटेली गोल गर्न सकेनन् । अब इटालीले बुधबार राति हुने इंग्ल्याण्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा खेल्नेछ ।