क्रिसमस मनाउँदा अनिवार्य मास्क लगाउ: डब्लुएचओ

क्रिसमस मनाउँदा अनिवार्य मास्क लगाउ: डब्लुएचओ

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले क्रिसमस मनाउने क्रममा हुने भीडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ ।

क्रिसमस मनाउनेको संख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरुलाई मास्क लगाउन आह्वान गरेको हो ।

संगठनले बुधबार जारी गरेको अपिलमा भविष्यको पुनःउत्थानलाई ध्यान दिँदै नयाँ वर्ष २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरिएको छ ।

विगतमा खुल्लारुपमा क्रिसमस मनाउन पाइएको भए पनि यस वर्षको क्रिसमस भने मास्क पहिरेर मनाउन संगठनले विशेष जोड गरेको छ ।

क्रिसमस मनाउने क्रममा हेलचक्रयाइँ गरियो भने युरोपभरी नै कोरोना भाइरसको महामारी फेरि अझ बढ्ने खतरा भएको तर्फ चिन्ता व्यक्त गरिएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको स्वास्थ्यसम्वन्धी यस निकायले नयाँ वर्ष सन् २०२१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिमको समय हुन सक्ने उल्लेख गरेको छ ।

उच्च जोखिमको बेलामा उच्च सतर्कता अपनाउनुपर्ने र सँगसगै काम गर्नुपर्ने तर्फ पनि संगठनले सवैको ध्यानाकर्षण गराएको छ ।

“हामीले महामारी थप नफैलिँदै ख्याल गरियो र उच्च सावधानी अपनाइयो भने त्यसलाई व्यवस्थापन गर्न सकिन्छ, नत्र ठूलो क्षति हुने र व्यवस्थापन गर्न गाह्रो हुने खतरा हुन्छ”, संगठनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

हरेक व्यक्ति व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा संगठनले जोड दिएको छ ।

बिदा वा चाडपर्व मनाउँदा सामान्य मात्रै होसियार भए पनि ठूलो क्षतिबाट मुक्त भइने भएकाले संवेदनशील हुन विश्व स्वास्थ्य संगठनले सवैलाई अनुरोध गरेको छ । सकेसम्म परिवार मात्रै सहभागी हुने गरी आफ्नै घरमा मनाउन र बाहिर जानै परेमा मास्को पूर्ण प्रयोग गर्न संगठनले पटकपटक अनुरोध गरेको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •