January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

महोत्तरीका मुसहर विस्थापित हुँदै

अल्पसङ्ख्यक आदिवासी मुसहरको परम्परागत माटो काट्ने पेसा सङ्कटमा पर्दै गएपछि उनीहरू क्रमशः विस्थापित हुन थालेका छन् । तराईका जङ्गली क्षेत्रका खेतमा खेतीपातीको काम गर्ने आदिवासी मुसहरको मुख्य पेसा माटो काट्ने, पुर्ने र बोक्ने हो । महोत्तरी जिल्लाको उत्तरी र पश्चिम भागमा ठूलो हिस्सा ओगटेर बसेका मुसहर विसं २०२० देखि २०३० सम्ममा सबै सुकुम्बासी बनिसकेको जानकार बताउछन् ।
भूमिसुधार लागु भएपछि गरिब निमुखा मुसहरले जोते भोगेको जग्गा पहाडबाट तराई झर्ने पैसावालले किने । त्यसपछि उनीहरु जङ्गलको सीमावर्ती इलाका खोलाको किनार वा विभिन्न जमिन्दार कहाँ (काम गर्ने कारिन्दा) का रुपमा बस्ने थाले । पहाडबाट तराई बसाइँ सर्ने मानिसले जङ्गली खेतलाई खेतीयोग्य, कुलो लाग्ने र समथर बनाउनुपर्ने भयो । त्यसपछि मुसहरले उपयुक्त रोजगार पाए । गाउँगाउँमा खेतलाई खेतीयोग्य बनाउन मुसहरलाई माटो पुर्ने, बोक्ने र कुलो निर्माण गर्ने काम दिन थालियो । विसं २०२१ देखि २०५० सम्म मुसहर आफ्नो परम्परागत पेसाबाट नै जीविकोपार्जन गर्न सक्षम थिए तर त्यसपछि माटो काट्ने र बोक्ने काम अन्य जातिका मानिसले पनि गर्न थाले ।

Advertisement

शिक्षा, चेतनाको कमी र गरिबीबाट आक्रान्त मुसहरले काम पाउन छोडे र तीमध्ये कतिपय कामको खोजीमा विदेशिन थाले र कामका लागि पलायन भएका उनीहरू जहाँ गयो त्यही हराउन थाले । गौशाला नगरपालिका–६ स्थित मुसहर बस्तीका विष्णु सदा भन्नुहुन्छ, “मुसहरले माटोको काम पाउन छोडेपछि जिल्लाका विभिन्न ठाउँमा (काठ) आरा चिर्ने काम गरी जीविकोपार्जन गर्न थालेका छन् । काम गरी पैसा ल्याएको दिन टन्न खान्छन् भोज गर्छन् तर पैसा भएन भने मागेर खाँदैनन् बरु भोकै सुत्छन् ।”

स्वास्थ्य र शिक्षाको अभावमा पिछडिएका मुसहर समयमा खान नपाएर र पोषणयुक्त खानाको अभाबमा विभिन्न रोग लागेर १० देखि १५ प्रतिशतको अकालमै ज्यान जाने गरेको छ । जाडोमा शीतलहर र गर्मीमा हैजा, कालाजार, इन्सेफ्लाइटिस, मेनेनजइटिसजस्ता रोगबाट पीडित मुसहर बस्तीबाट ५०० मिटर टाढा स्वास्थ्य केन्द्र भए पनि उपचार गर्न जाँदैनन् । भन्छन्, “खान पेटभरि नपाएर रोग लाग्छ घरमा खानेकुरा भए रोग लाग्ने कुरै आउँदैनन् ।” श्रम शोषण र गरिबीबाट पीडित मुसहरको जनसङ्ख्या २०४८ सम्ममा तथ्याङ्कमा उल्लेख थियो तर त्यसपछि हालसम्म तथ्याङ्कमा उल्लेख नभए पनि हाल महोत्तरीमा २० हजारभन्दा बढी मुसहर रहेको जिल्ला समन्वय समितिको अनुमान छ ।

गौशाला, बलवा, बर्दिबास, भङ्गहा, मनरासिस्वा, जलेश्वर नगरपालिका, लोहारपट्टि, मटिहानी, औरही नगरपालिकालगायत क्षेत्रमा अत्यधिक मुसहरको बसोबास छ । आफ्नै संस्कार, परम्परा, भाषा र संस्कृति भएका मुसहर नेपालका आदिवासीमध्ये पुराना मानिन्छन् । भाषा, संस्कृति र परम्परा धान्ने नाममा गठित गैरसरकारी र सरकारी सङ्घ संस्थाबाट पनि मुसहर जातिको शैक्षिक विकास र स्वास्थ्य चेतना अभिवृद्धिका लागि ठोस काम नभएकाले यस जातिको संरक्षण गर्न स्थानीयस्तरबाट पहल हुनुपर्ने स्थानीय बासिन्दा बताउँछन् ।