January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

माओवादीकाे विधान मस्यौदा : २९९ काे केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारीकाे प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन्।

Advertisement

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेलगत्तै नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन्।

उनले प्रस्तुत गरेको विधानको मस्यौदामा माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय बनाउने प्रस्ताव गरेका छन्।
यस्तै, एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको प्रस्ताव गरिएको छ। केन्द्रीय समितिको १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ।

विधान प्रस्ताव पारित भएलगत्तै महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूको समूह विभाजन गरेर प्रचण्डले प्रस्तुत गरेका वैचारिक तथा राजनीतिक दस्ताबेज र गुरुङले प्रस्तुत गरेका विधान मस्यौदामाथि छलफल हुनेछ ।

प्रतिनिधिहरूको २५ समूह बनाएर राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसका लागि बन्दसत्रमा समूह विभाजनको तयारी भइरहेको छ ।