October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

प्रधानमन्त्री देउवा र मोदीबीच टेलिफोन वार्ता- मिलेर काम गर्न प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

Advertisement

वार्ताको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ बिरुद्धको खोप चाँडै आपूर्ति गर्ने आश्वासन दिनुभएको छ । भारतीय प्रधानमन्त्रीले बधाई दिनका लागि फोन गर्नुभएको र सो क्रममा प्रधानमन्त्री देउवाले नेपालले पाउन बाँकी खोप चाँडो पठाउन पहल गर्न आग्रह गर्नुभएको प्रम देउवाका स्वकीय सचिब भानु देउवाले बताउनुभयो ।

प्रधानमन्त्री देउवा र मोदीबीच आज अपराह्न टोलिफोन वार्ता भएको जानकारी प्रधानमन्त्री देउवाको आधिकारिक ट्वीटरमार्फत पनि साझा गरिएको छ । प्रधानमन्त्री देउवाले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई अझै बढी सुदृढ बनाउनुपर्ने विचार आदानप्रदान भएको बताउनुभएको छ ।

मोदीले यसअघि आइतबार राति ट्वीटरबाटै प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा देउवालाई बधाई तथा शुभकामना दिनुभएको थियो । आज अपराह्न भने टेलिफोन गरेर बधाई दिनुभएको हो । भारतले अनुदानमा १० लाख खोप उपलब्ध गराएको थियो । लगत्तै नेपालले कोभिशिल्डको २० लाख खोप खरिद गर्ने सम्झौता गर्न पुग्यो ।

उक्त खरिद खोपमध्ये पहिलो खेपको खोप आइपुग्दा दोस्रो खेप अझै आइपुगेको छैन । जसले गर्दा खोप अभियान समेत प्रभाबित बन्न पुगेको छ । टेलिफोन वार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले खोप आपूर्ति छिट्टै गर्ने आश्वासन दिनुभएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।