September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

देउवालाई समर्थन गरेर संविधान र लोकतन्त्रलाई जोगाऔँ: डा. भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनकारीहरुको खड्ग प्रहारबाट प्रतिनिधिसभा र सांसदहरु मुर्छित हुनुपरेको बताउनुभएको छ ।

Advertisement

प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा बोल्दै उहाँले प्रतिनिधिसभा विघटन बदर भएपछि पुनः सदनमा उपस्थित हुन पाउनु खुसीको कुरा भएको बताउनुभयो । ‘प्रतिगमनकारीहरुको पटक पटकको खड्ग प्रहारपछि मुर्छित बनेको प्रतिनिधिसभा र दुई पटक मुर्छित बनाइएका हामी यहाँ उपस्थित हुने अवसर प्राप्त गरेका छौं, त्यसको लागि आवाज उठाउने सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु’, भट्टराईले भन्नुभयो ।

पुस ५ देखि जेठ ८ सम्म तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै पटक संविधानलाई प्रहार गर्ने काम गरेको भन्दै उहाँले प्रतिगमनकारीलाई सर्वाेच्चले ठेगान लगाएको समेत बताउनुभयो । संविधान लेखेको समयको सम्झना गर्न आग्रह गर्दै अहिले अपव्याख्या नगर्न समेत चेतावनी दिनुभयो ।

संसद जोगाउने विषयमा सांसदहरु पनि जिम्मेवार हुनुपर्ने भन्दै उहाँले संविधानमाथि प्रहार भइरहँदा त्यसबाट जोगाउने काम गर्न सांसदहरु पनि चुकेको बताउनुभयो ।उहाँले शेर बहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर संविधान र लोकतन्त्रलाई जोगाउन समेत आग्रह गर्नुभयो । जसपाकै महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने निर्णयमा उहाँले खुशी प्रकट गर्नुभयो ।